काठमाडौं । संघीय संसदको तल्लो सदनको पहिलो कार्यकाल सकिएको छ । प्रतिनिधि सभाको कार्यकाल शनिबार मध्यरातिदेखि समाप्त भएको हो । यससँगै एकैसाथ निर्वाचन भएका सातवटै प्रदेशका प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि नै सकिएको छ ।
निर्वाचन आयोगले आजबाट चुनावी गतिविधि थालेको छ । मंसिर ४ मा हुने निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिन आज भएकाले यसभन्दा अघिल्लो दिनलाई आधार मानेर संघीय एवं प्रदेश संसदको कार्यकाल समाप्त गरिएको हो ।
संसदको चालू अधिवेशन शनिबार राति १२ बजेबाट समाप्त हुने व्यहोराको राष्ट्रपति विद्यादेवी भण्डारीले संसद सचिवालयलाइ पत्र पठाएकी थिइन्। सो पत्र पनि हिजोको प्रतिनिधि सभामा सुनाइएको थियो । संसदको कार्यकाल सकिएसँगै प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरू समेत स्वतः पदमुक्त भएका छन् । तर संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा भने स्थायी भएकाले कार्यकाल समाप्त हुँदैन ।
शनिबार संसद अधिवेशन अन्त्यका अवसरमा प्रधानमन्त्री, विपक्षी दलका नेता तथा अन्य दलका शीर्ष नेताहरूले सम्बोधनसमेत गरेका थिए ।
प्रतिक्रिया