×

सहकारी ठगी प्रकरण- रवि र छवि विरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

images

काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र उनका व्यापारिक साझेदार पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् ।

रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यही सहकारीको बचत अपचलन प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई सहित २४ जनाविरुद्ध यसअघि नै पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ ।

गोर्खा मिडिया नेटवर्क तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने र तत्कालीन उपाध्यक्ष रहेका पूर्व डीआईजी जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको अनुसन्धान भइरहेको छ । त्यस्तै बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा समेत प्रहरीले लामिछाने र जोशीसँग बयान लिइसकेको छ । रुपन्देही अदालतले समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि यसअघि पक्राउ पुर्जी जारी हुनेमा जीबीसहित स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्यद्वय हेमन्त अधिकारी र रविना रिमाल, पूर्वकर्जा उपसमिति सदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी छन् । पूर्वसञ्चालकहरू दीपक लामा, सविना आले मगर, भक्तबहादुर भोलन, यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, पूर्वकर्जा उपसमिति सदस्य राजु बरालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

लामिछाने र जोशीसहित आरोपितहरूविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । काठमाडौंको स्वर्णलक्ष्मीसहित कास्की (पोखरा) को सूर्यदर्शन, रूपन्देही (बुटवल) को सुप्रिम, चितवन (भरतपुर) को सहारा र पर्सा (वीरगन्ज) को सानो पाइला सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा लामिछाने र जोशीमाथि प्रहरीको अनुसन्धान जारी छ । 

यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आइतबार​ २ मंसिर २०८१ ०६:३६ PM मा प्रकाशित

प्रतिक्रिया