काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रतियोगिताको सुपर सिक्सको अन्तिम खेलमा सामाओलाई १२४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले दिएको २१२ रनको लक्ष्य पछाएको सामाओले २० ओभरमा ७ विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २११ रन बनाएको थियो । नेपालका लागि आसिफ सेख र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । आसिफले ६९ रन बनाएका थिए भने ऐरीले ५३ रन बनाएका थिए । त्यस्तै लोकेस बमले आक्रामक १२ बलमा अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले १२ बलमा २१ रन बनाएका थिए । त्यसैगरी कुशल मल्लले १७ रन बनाएका थिए । नेपालले यस प्रतियोगितामा अपराजित रहदै उपाधि जितेको छ । यस प्रतियोगिताबाट नेपालसहित ओमान र युएई अर्को बर्ष भारतमा हुने टी-२० विश्वकपमा छनौट भएका छन् । यो प्रतियोगिता जितेसँगै नेपाली टिमका हरेक खेलाडीले १९ लाख ५० हजार पुरस्कार पाउने भएका छन् ।
२- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सुझावसहित पारित भएको छ । बुधबारदेखि शुरु भएको बैठकले अहिलेको राजनीतिक समस्याको एक मात्र समाधान विघटित प्रधिनिधि सभाको पुनर्स्थापना नै रहेको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । एमालेले आफ्नो शक्तिलाई जनपरिचालन गरेर अगाडी बढाउने र व्यापक रुपमा संसद पुनर्स्थापनाको अभियानलाई अगाडी बढाउने निर्णय गरेको गौतमले जानकारी दिए । संसद पुनर्स्थापनाको निर्णयमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले फरक मत राखेका छन् । निर्वाचनबाट एमाले धेरै टाढा नभएको भन्दै उनले निर्वाचन प्रयोजनको लागि हस्ताक्षर गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको बताए । बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिदै ओलीले आफुले विद्या भण्डारीसँग कुरा गर्ने बताएका थिए । बैठकमा कैयौं सदस्यहरुले भण्डारीको सदस्यता नरोक्न सुझाव दिएका थिए । एमालेको केन्द्रीय कमिटीको बैठकमा २३३ केन्द्रीय सदस्यसहित ३२८ जनाले आफ्नो धारणा राखेका थिए ।
३- भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय योजना आयोगका हालका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ बाहिर जान दिने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका समयका गृह मन्त्रालयका सचिव तथा हालका राष्ट्रिय योजना आयोगका सचिव दवाडीलाई बढीमा सात दिनका लागि आयोगलाई जानकारी गराएर काठमाडौं उपत्यका छाडेर जान दिने निर्णय गरेको हो । आयोगले मन्त्रिपरिषदको निर्णयानुसार भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको संयोजकको हैसियतले आन्दोलनको क्रममा भएको क्षतिहरुको मूल्याङ्कनका लागि सातै प्रदेशमा स्थलगत अवलोकन भ्रमण गर्नुपर्ने भएकाले आयोगले उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोक लगाएकोमा फुकुवाको लागि लेखि आएको आयोगले जनाएको छ । आयोगले भनेको छ-ʻयसै सन्दर्भमा निज गोकर्णमणि दुवाडी आन्दोलनको क्रममा गृह मन्त्रालयको सचिवको हैसियतले गरेको कामको सम्बन्धमा यस आयोगको छानबिनको दायरामा रहेकाले बयान कार्यको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा एक पटकमा बढीमा ७ (सात) दिनको लागि यस आयोगलाई जानकारी गराएर काठमाडौं उपत्यका छाडेर माथि उल्लेखित काममा जान अनुमति दिने र विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् कायम राख्ने ।ʼ यस्तै आयोगले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी कार्यालयहरू, उद्योग व्यवसाय, व्यापारिक संस्था, राजनीतिक दल, प्रदेश र विभिन्न तहका कार्यालयहरू, शिक्षण संस्थाहरू तथा व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी क्षति भएको सम्बन्धमा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
४- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २८ गतेदेखि शुरु भएको आजको बैठक सकिएको छ । बैठकमा आज रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राखेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । आजको बैठकमा धारणा राख्ने धेरै जसोले मङ्सिर भित्र नै नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । कांग्रेसको बैठकमा विभिन्न १० वटा प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ भने कार्यसमितिको बैठक कार्तिक १ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने भएको छ ।
५- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग र आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । शुक्रबार राष्ट्रपति कार्यालय शित्तल निवासमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आदिवासी जनजाति आयोग नेपालका अध्यक्ष रामबहादुर थापा मगरले संविधानको धारा २९४ बमोजिम आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
६- जनमत पार्टीका अध्यक्ष सिके राउत दल विभाजन रोक्न दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सो रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । त्यस्तै, अदालतले छलफलका लागि दुवै पक्षलाई कात्तिक १७ गते बोलाएको छ । सर्वोच्चले अल्पकालीन अन्तरिम जारी गरेकाले दल विभाजन र नयाँ दल दर्ताबारे निर्वाचन आयोगले अघि बढाउने प्रक्रिया रोकिएको छ । जनमत पार्टी विभाजन गर्ने अर्को पक्षको तयारी अवैधानिक भएकाले दल दर्ता रोक्नुपर्ने माग गर्दै अध्यक्ष राउत बिहीबार सर्वोच्च अदालत पुगेका थिए । राउतले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएका छन् । जनमतका उपाध्यक्ष दीपक साहको नेतृत्वमा ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य मध्ये २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुले आइतबार निर्वाचन अयोगमा पुगेर जनस्वराज नामको पार्टी दर्ता गर्न निवेदन दिए पनि सनाखत हुन भने बाँकी रहेको छ ।
७- नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कारवाही गर्नुपर्ने धारणा राखेका छन् । एमालेको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले प्रचण्ड, लामिछाने र बालेनलाई कारवाही गर्नुपर्ने बताएका हुन् । उनले भने- ब्ल्याकएनर्जीको प्रतीक ‘लुसिफर’ को नामले चिनिदै आएको बालेन, जेल तोडेर जनता झुक्याउन खोजिरहेका रवि लामिछाने र उनको स्वतन्त्र पार्टी तथा मौकामा चौका हान्ने प्रचण्ड यी आन्दोलनका मुख्य मतियार हुन् । यीनलाई उचित कार्बाही गर्नुपर्दछ ।' नेता बस्नेतले जेनजी आन्दोलन केवल स्थानीय असन्तोष नभएर पूर्व योजनाबद्ध अन्तर्राष्ट्रिय पोलिटिकल अपरेशन भएको बताउदै यसको उद्देश्य राष्ट्रिय संरचना र राजनीतिक स्थायित्व ध्वस्त पार्नु र उनीहरुको स्वार्थ पुरा गर्नु भएको दाबि गरेका छन् । उनले राष्ट्रवाद, समृद्धि र विकासको पक्षमा अभूतपूर्व काम गरेको प्रतिफलस्वरूप हाम्रो पार्टी र अध्यक्षमाथि अन्तर्राष्ट्रिय शक्तिहरूले योजनाबद्ध षड्यन्त्र गरेको आरोप लगाउदै ‘जेन्जी पुस्ता’लाई माध्यम बनाएर देशका महत्वपूर्ण संरचना, राज्यका संवेदनशील दस्ताबेज र सम्पदाहरू ध्वस्त पार्ने अभियान सञ्चालन गरिएको बताएका छन् । बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको बताउदै अध्यक्षको ब्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्ने बताए । साथै उनले निष्क्रिय रहेका प्रभाबहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरुको उचित मूल्याङ्कन गरी बिदा गरेर कमिटि पुनरगठन गर्नुपर्ने समेत बताए ।
८- नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये प्रहरीको गोली लागेर २२ जना मात्रै प्रदर्शनकारी रहेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी गराएको हो । सेनाका अनुसार बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० कैदी र अन्य ४१ जना रहेका छन् । सेनाले टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान खुल्न नसकेको बताएको छ । आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय,२५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको सेनाले जानकारी दिएको छ । यसैगरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ । त्यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुन : नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ ।
९- प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको परिस्थितिमा आफूले प्रधानमन्त्री पदलाई स्वीकार गरेको भन्दै स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन गरेर लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री कार्कीले सरकारको सम्पूर्ण ध्यान निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएकी थिइन् । अस्थायी रूपमा विदेशमा रहेका नेपाली नागरिकहरूका लागि विश्वव्यापी मताधिकारको सिद्धान्तलाई क्रमशः साकार पार्न बाह्य मतदान प्रणालीको सम्भावनाको पनि खोजी गरिरहेको प्रधानमन्त्री कार्कीले बताइन् । उनले लोकतान्त्रिक अभ्यासको पारदर्शिता र विश्वसनीयता कायम राख्न अन्तर्राष्ट्रिय पर्यवेक्षणले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले निर्वाचनको यात्रामा मित्रराष्ट्रहरूको निरन्तर सद्भाव र समर्थन हुने विश्वास व्यक्त गरेकी थिइन् । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन गरेको जानकारी गराउँदै भ्रष्टाचारका विषयमा पनि समेत विश्वसनीय, निष्पक्ष अनुसन्धान सुरु गर्ने बताइन् ।
१०- सिमरास्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगको कुल बक्यौता ५ करोड ८५ लाख मध्ये पहिलो किस्ता बापत २० लाख ९० हजार बुझाएको छ । यसअघि नै बक्यौता तिर्न सुरु गरी बैशाखबाट तिर्न छोडेको परासीस्थित लक्ष्मी स्टीलले पनि किस्ता बापत ८४ लाख ९८ हजार बुझाएको छ । त्यसैगरी यसअघि किस्ता बुझाइ बिचमा छोडेको सर्बोत्तम सिमेन्टले पनि किस्ता बापतको ४० लाख बुझाएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । यसअघि हुलास र शोक स्टीलसहित सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले पनि किस्ता तिरेका थिए । उद्योगहरुले विगतमा किस्ताबन्दीको सुविधा लिई बक्यौता रकम तिर्न सुरु गरेका छन् । डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगको बाँकी बक्यौता तिर्न प्राधिकरणले उद्योगहरुलाई २८ किस्तामा बुझाउने स्वीकृति दिएको छ ।
११- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जानकी गाउँपालिका-९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जनाविरुद्ध सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले कैलालीको जानकी गाउँपालिका-९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसमेतका ८ जना प्रतिवादीहरुले सोही वडामा नै मृत्युदर्ता पंजिकरण भएको, एकै नागरिकताबाट दोहोरो सामाजिक सुरक्षा भत्ताको लाभग्राही अभिलेखसमेत बनाई जम्मा ६८३ जना लाभग्राहीको प्रतिवादीहरु आफैले औठाछाप लगाई प्रमाणितसमेत गरेको र नविकरण नै नभएको लाभग्राहीको रकम निकासा गरी गराई प्रतिवादीहरुले आफूसमेतलाई लाभ र सरकारलाई हानीनोक्सानी पुर्याएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ । उनीहरुले कुल ७३ लाख ३७ हजार ६२७ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । अख्तियारले वडा अध्यक्ष खकेन्द्र भण्डारी र तत्कालीन वडा सचिव प्रेम बहादुर बुढालाई जनही ७३ लाख ३७ हजार ६२७ कै बिगो तोकेको छ । त्यस्तै वडाका कार्यालय सहयोगी सोनम कठरियालाई ९ लाख २० हजार ४००, वडाका तत्कालीन खरिदार पूर्ण बहादुर विष्टलाई २४ हजार बिगो र कानुन अनुसार सजाय माग गरको छ भने वडाका सदस्य कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावल, शेर बहादुर विश्वकर्मालाई कैद तथा जरिवाना माग गरेको छ ।
१२- सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तराष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमासमेत यसको योगदान उल्लेखनीय हुने देखिएकाले गुरुयोजना स्वीकृत गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको बताए । रङ्गशालाको विकास र आधुनीकरण नेपालका लागि रणनीतिक रुपमा महत्वपूर्ण रहेको, अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न क्रिकेट रङ्गशाला चाहिएकाले गुरुयोजना बमोजिम स्रोत सुनिश्चित गरी निर्माण अगाडि बढाउने निर्णय गरिएको मन्त्री घिसिङले उल्लेख गरे । घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा जग्गा सम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रुप दिने र गुरुयोजना बमोजिम रगशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताए । केही दिन अघि रङ्गशालाको पहिलो चरणको निर्माण बारे स्थलगत निरीक्षणमा जानु भएका मन्त्री घिसिङले गुरुयोजना वमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताएका थिए । त्रिवि र नेपाल क्रिकेट संघबीचको क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौताको म्याद २०८३ वैशाखमा सकिंदैछ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना आवश्यक जग्गा प्राप्तिका लागि प्रचलित कानून बमोजिम रङ्गशालाको रुपमा प्रयोग गर्न त्रिवि तथा युवा खेलकुद मन्त्रालय-राष्ट्रिय खेलकुद परिषद्बीच सम्झौता गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।
१३- जेनजी युवा मिराज ढुंगानाले नयाँ दल खोल्ने भएका छन् । ढुंगानाले पार्टी गठन वार्ता टोलीको घोषणा गर्दै नयाँ दल खोल्ने घोषणा गरेका हुन् । उनले कार्तिक १ गते (शनिबार ) १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको बताए । ढुंगानाले पार्टी खोले पनि आफ्ना आफ्ना न्युनतम माग प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित नभएसम्म चुनावमा भने भाग नलिने बताएका छन् । साथै उनले देशले हाल निकास खोजिसकेको बताउदै यस अवस्थामा दल खोल्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् । ढुंगाना जेनजी आन्दोलनलाई शुरु गर्ने मध्येका एक हुन् । उनले आफ्नो पार्टीमा जोडिन चाहनेहरु वार्ता टोलीसँग सम्पर्कमा आउन समेत सबैलाई अनुरोध समेत गरेका छन् ।
१४- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उनले देशमा भएको जेनजी विद्रोहलाई शंकाका रुपमा नहेरी त्यसले उठाएका मुल मुद्दाको सम्बोधनमा क्रियाशिल हुनुपर्ने बताए । जेनजी पुस्ताको विद्रोहमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको उनले बताए । ‘हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाहरुबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ,’ उनले भने । संसारभर सम्पन्न भएका र हुदै गरेका युवा विद्रोहको प्रष्ट सन्देश सुदृढ लोकतन्त्र भएको उल्लेख गर्दै उनले यो विद्रोहबाट सबै भन्दा बढी लाभ नेपाली कांग्रेसले लिन सक्ने बताए । ‘तर यसको लागि नेपाली कांग्रेसले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको वस्तुपरक बाटो रोज्नु पर्दछ,’ उनले भने । आफ्नो प्रस्तावलाई दस्तावेजीकरण गर्दै केन्द्रीय समितिमा दर्ता गरेका पूर्व मन्त्री पौडेलले भने, ‘हामीले देशमा भएको युवा विद्रोहलाई शंकाको दृष्टिबाट हेर्नु भन्दा त्यसमा उठेका मुख्य विषयलाई जति सक्दो चाँडो सम्बोधन गर्ने प्रयास गर्नु जरुरी छ,’ उनले भने । यसो गर्न सकिएमा अहिलेको तरल अवस्थामा उत्पन्न हुने अस्थिरता र स्वार्थी तत्वको प्रवेशलाई नियन्त्रण गर्न सकिने समेत उनले बताए । नेता पौडेलले युवा विद्रोहका क्रमा भएका घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने पनि बताए ।
१५- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरी सँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता रहेको बताएका छन् । साथै उनले उक्त आवश्यकता पूर्तिको लागि परम्परागत पद्धतिलाई अक्षुण राख्दै आधुनिक प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड समेत दिए । ७०औं प्रहरी दिवसको अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताएका हुन् । समारोहमा गृहमन्त्री अर्यालले अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र नेपाल प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरेका थिए ।
१६- असोज १८ गतेदेखि परेको अविरल बर्षापछिको बाढी पहिरोले भएको क्षतिपछि ३ अर्ब २६ करोडको बीमा दाबिको निवेदन परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ३० गतेसम्म बाढी पहिरोले पारेको नोक्सानीको ३ अर्ब २६ करोड ७६ लाख बराबरको बीमा दाबिको निवेदन परेको हो । जसमा सबैभन्दा बढी शिखर इन्सुरेन्समा ६० करोड ९४ लाखको बीमा दाबि परेको छ भने स्टार माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ८ लाखको बीमा दाबि परेको छ । त्यसैगरी सम्पत्ति बीमामा २ अर्ब ७० करोड ६९ लाख बराबरको ३६४ बीमा दाबि छ भने इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ४८ करोड ४ लाख बराबरको ८७ बीमा दाबिको निवेदन परेको छ । त्यस्तै कृषि तथा बालि बीमामा ४ करोड ३२ लाख बराबरको २०९, मोटर बीमा निजी तर्फको २ करोड ५२ लाख बराबरको ३३, मोटर बीमा सार्बजनिकको एक करोड ५ लाख बराबरको ९ बीमा दाबि तथा अन्य बीमा १२ लाख ६० हजार बराबरको २ बीमा दाबिको निवेदन परेको छ ।
१७- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ७ हजार एक सयले बढेर तोलाको २ लाख ५८ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार सुन तोलाको २ लाख ५० हजार ९०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर ३३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३२७५ मा कारोबार भएको थियो ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनमा लामो कुराकानी भएको छ । अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेट्नुअघि ट्रम्पले पुटिनसँग करिब दुई घण्टा कुराकानी भएको ट्रम्पले जानकारी दिएका छन् । ट्रम्पले पुटिनसँगको कुराकानी अद्भुत रहेको र मध्य पूर्वमा शान्ति ल्याउनेमा आफूसहित अमेरिकालाई बधाई दिएको बताएका छन् । साथै ट्रम्पले मध्य पूर्वमा पाएको सफलताले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न चलिरहेको वार्तामा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । ट्रम्प र पुटिनले अर्को हप्ता आफ्ना शीर्ष अधिकारीहरूको बैठकको तालिका बनाएका छन् । जसमा विदेशमन्त्री मार्को रुबियो र धेरै अन्य अमेरिकी पक्षबाट उपस्थित हुनेछन् । बैठकको स्थान अझै तय भएको छैन । त्यस्तै ट्रम्प र पुटिनले रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयास गर्न हंगेरीको बुडापेस्टमा केहि साता पछि नै भेट गर्न सहमति जनाएका छन् । ट्रम्प र पुटिनको अन्तिम भेट अगस्ट १५ मा अलास्कामा भएको थियो। सुरुमा, यो बैठक हंगेरीको राजधानी बुडापेस्टमा हुने तय गरिएको थियो, तर अन्तिम समयमा स्थान परिवर्तन गरिएको थियो । अब, दोस्रो ट्रम्प-पुटिन बैठकको लागि बुडापेस्ट छनोट गरिएको छ । यसैबीच अमेरिका पुगेका जेलेन्स्कीले ट्रम्पबाट उन्नत हतियारहरूको विषयमा छलफल गर्ने तयारी गरेका छन् । जसमा लामो दूरीको टोमाहक मिसाइलहरू समावेश छन् । यी मिसाइलहरूले मस्को र अन्य प्रमुख रूसी शहरहरूलाई युक्रेनी आक्रमणको दायरामा राख्नेछन् । ट्रम्पले यदि पुटिन वार्ताको टेबलमा आएनन् भने उनले यी हतियारहरूको डेलिभरीलाई अनुमति दिन सक्ने यस अघि नै चेतावनी दिएका छन् ।
१९- मधेश प्रदेश सभाका सांसद सरोज कुमार सिंह निलम्बन भएका छन् । मधेश प्रदेश सभा सचिवालयले सिंहलाई भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हुनाले उनी निलम्बनमा परेका हुन् । प्रदेश सभा सचिवालयले सिंहलाई प्रतिवादी कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको, निज सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक भएकोले निजको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्वन हुने व्यवस्था अनुसार उनी निलम्बनमा रहेको जानकारी दिएको छ । जसपा नेपालका सांसद रहेका सिंहलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।
२०- बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ । गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनलाई दबाएको आरोपमा उनीमाथि मानवताविरुद्धको अपराधको आरोप लगाइएको छ । अदालतमा अभियोजन पक्षले हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने- 'हसिनाले १४०० मृत्युदण्ड पाउनुपर्छ । मानवीय रूपमा सम्भव नभएकोले, हामी कम्तिमा एक मृत्युदण्डको माग गर्छौं ।' हाल भारतमा शरणमा रहेकी हसिनाविरुद्ध चलिरहेको मुद्दाको क्रममा एउटा लीक भएको अडियो क्लिप बाहिर आएको छ, जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ । यद्यपि, हसिनाले यी आरोपहरूलाई अस्वीकार गरेकी छिन् । गत वर्षको हिंसामा लगभग १४ सयजना मारिएका थिए । यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बंगलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ ।
प्रतिक्रिया