×

अफगान तालिबान र पाकिस्तानबीच दोहामा आज वार्ता हुदै

images

काठमाडौँ । अफगान तालिबान र पाकिस्तानी सुरक्षा बलबीच जारी द्वन्द्वको बारेमा आज कतारको राजधानी दोहामा वार्ता हुने भएको छ ।

तालिबानले रक्षामन्त्री मौलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगानिस्तानको इस्लामिक इमिरेट्सको प्रतिनिधिमण्डल र धेरै पाकिस्तानी गुप्तचर तथा सुरक्षा अधिकारीहरूले आज दोहामा वार्ता गर्ने भएका छन् । यद्यपि, पाकिस्तानले यस विषयमा कुनै विवरण सार्बजनिक गरेको छैन ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आफ्नो मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै कतारले यो प्रस्ताव गरेको बताएका छन् । दक्षिणी अफगानिस्तानको कान्दहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी सेना र तालिबान सरकारी सेनाबीच झडप भएपछि दुवै देशबीच तनाव बढेको छ ।

पछिल्ला केही दिनदेखि सीमा क्षेत्रमा भइरहेको झडपमा दुवै पक्षका धेरै व्यक्ति मारिएका र घाइते भएका छन् । कति संख्यामा हताहत भए भन्ने फरक फरक आँकडा दुवै पक्षबाट आएका छन् । दुवै देशले बुधबार ४८ घण्टाका लागि युद्धविरामको घोषणा गरेका थिए ।

 

शुक्रबार​ १ कात्तिक २०८२ ०९:३८ AM मा प्रकाशित

प्रतिक्रिया