नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट लड्ने उम्मेदवारको टुंगो लगाएको छ । कैलाली १ र २ बाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाइएको नेकपा स्रोतले जनाएको छ ।
कैलाली क्षेत्र नम्बर ३ बाट वीरमान चौधरी, ४ बाट हरि चौधरी उत्सवको नाम टुंगो लगाएको बताइएको छ । त्यस्तै, कैलाली- ५ बाट प्रेम आलेको नाम चर्चामा छ । साविकको एकीकृत समाजवादी पार्टीमा रहेका आले पछिल्लो एक वर्षदेखि सक्रिय राजनीतिमा देखिएका छैनन् ।
नेकपाले कञ्चनपुर क्षेत्र नम्बर १ मा बिना मगर, २ मा लालबहादुर खड्का र ३ नम्बर क्षेत्रमा मानबहादुर सुनारले टिकट पाएको चर्चा छ । यस्तै, अछामको १ नम्बर क्षेत्रबाट भीम रावल र क्षेत्र नम्बर २ बाट शरतसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन् ।
डडेल्धुराबाट मानसिंह माल चुनाव लड्ने भएका छन् । जिल्लाको सिफारिसमा परेका मालले समानुपातिक सूचीमा डडेल्धुराबाट एक जना पनि नराखिएको भन्दै नेकपाबाट चुनाव नलड्ने घोषणा गरेका थिए । तर, उनै मालले टिकट पाएका छन् ।
त्यस्तै, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुँवर, बैतडीमा परमानन्द भट्ट, डोटीमा त्रिलोचन भट्ट र बाजुरामा प्रकाश शाह चुनाव लड्ने भएका छन् ।
प्रतिक्रिया