काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका र विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको छ ।निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले पार्टीमा फर्कन आह्वान गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले भने, ‘पार्टीमा निष्क्रिय रहनुभएका र विभिन्न कारणले पार्टीमा छाडेका साथीहरूलाई फेरि पनि पार्टीमा जोडिनका लागि आह्वान गरेको छ ।’
त्यस्तै, आगामी फागुन २१ गतेको निर्वाचनमा आफूलाई सरिक गर्नका लागि सबै पार्टी पङ्क्तिलाई सक्रियताका साथ लाग्न अपिल गर्ने निर्णय पनि गरेको छ । ‘पार्टीका सबै पङ्क्ति, मतदाता, देश र विदेशमा रहेका सबै कांग्रेसजनहरू सबै साथीहरूलाई नयाँ ऊर्जाका साथ, पुनस् एकताका साथ फागुन २१ को निर्वाचनमा आफूलाई सरिक गर्नका लागि सक्रियताका साथ लाग्नका लागि अपिल गर्ने निर्णय गरेको छ,’ चालिसेले भने ।
साथै, नेपाली कांग्रेसकै नेतृत्वमा अगाडि बढ्ने प्रक्रियामा साथ र सहयोगका लागि सम्पूर्ण देशवासीबाट साथ प्राप्त हुने विश्वास बैठकले राखेको उनले बताए ।
यस्ताछन् नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ माघ ३ गते नयाँ बानेश्वरमा बसेको बैठकले गरेका निर्णयहरू
१. निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन, यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ।
२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश-विदेशमा रहेका सवै कांग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ।
३. विभिन्न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथिहरूलाई पार्टीमा पुन : जोडिन यो वैठक हार्दिकतापूर्वक आह्वान गर्दछ।
४. यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ। यो वैठक श्रद्देय नेताको अभिभावकीय भूमिका प्राप्त हुने विश्वास राख्दछ।
५. नेपाली कांग्रेस आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पून दोहर्याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुनेछैन। हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौ। संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौ। नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौं।
६. यो नयाँ अध्याय हो- रुपान्तरणको, एकताको, विजयको। सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ।
जय नेपाल
देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस
प्रतिक्रिया