काठमाडौँ । फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्ने र प्रमाण पत्र लिने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले नयाँ दल दर्ता गर्न कार्तिक मसान्तसम्मको समय दिएको थियो, जुन आज सकिदैछ ।
निर्वाचन आयोगका अनुसार शनिबार साँझसम्म १२७ वटा दल दर्ता भएका छन् । त्यस्तै नयाँ २० दल दर्ता प्रक्रियामा रहेका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दल दर्ताका लागि आयोगमा परेका निवेदनमध्ये हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र वीरेन्द्र बस्नेत नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीलाई आयोगले मान्यता दिएको छ। यसअघि आयोगबाट एक सय २४ वटाले राजनीतिक दलको मान्यता पाइसकेका थिए ।
आयोगका अनुसार दल दर्ता नियमित प्रक्रिया हो। आयोगले मान्यता पाएका दललाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मंसिर १ देखि १० सम्म निवेदन दिन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरिसकेको छ। आयोगका अनुसार मंसिर १० पछि फागुन २१ को निर्वाचनमा कति दल सहभागी हुन्छन् भन्ने तय हुने भएको छ ।
फागुन २१ को निर्वाचन प्रयोजनका लागि शुक्रबारसम्म २ लाख ८१ हजार नयाँ मतदाता थपिएका छन् । आयोगका अनुसार २०६४ फागुन २० गतेसम्म जन्मिएका नेपाली नागरिकले फागुन २१ को निर्वाचनमा मतदान गर्न सक्नेछन् ।
आयोगले राष्ट्रिय परिचय पत्र बनाएकाहरुले बायोमेट्रिक दिन नपर्ने र अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाएको छ । यसले मतदातालाई निर्वाचन कार्यालय पुगेर लाइनमा बस्ने झन्झटबाट मुक्त गरेको छ भने सजिलै अनलाइनबाट नाम दर्ता गर्न सहज बनाएको छ । त्यस्तै आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउने समय यसअघि कार्तिक मसान्तसम्म तोकेपनि मतदाताको अत्यधिक चापका कारण पाँच दिन थपेर मंसिर ५ गतेसम्म समय दिएको छ ।
प्रतिक्रिया