काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिएका छन् । उनले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित गर्ने पनि निर्णय भएको जानकारी दिए । त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको खनालले जानकारी दिएका छन् । अन्तर पार्टी निर्देशन जारी गर्दा एकता सन्देश कार्यक्रमको मोडालिटी समेत उल्लेख गरिने जानकारी दिँदै खनालले एकता सन्देश सभाको ब्यानरमा कार्यक्रम गरिने बताए । खनालले अशोक राई र उपेन्द्र यादवको पार्टीसँग कुराकानी भइरहेको भन्दै केही अवधिभित्र एकीकृत हुने विश्वास व्यक्त गरेका छन् । कार्तिक १९ गते १० दल र अभियानसहित नेपाली कम्युनिष्ट पार्टी घोषणा गरिएकोमा कार्तिक २६ गते भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालसँग समेत एकता भएको थियो । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले कार्तिक २८ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र समेत पाइसकेको छ ।
२- राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपश्चात उपत्यकाभित्रका हिरासत कक्षको अवस्थाको अनुगमन गरेको छ । आयोगको टोलीले काठमाडौँको सोह्रखुट्टे, स्वयभू, कोटेश्वर, सिंहदरबार, महाराजगञ्ज र कालीमाटीस्थित प्रहरी वृत्तहरु, ललितपुरको जिल्ला प्रहरी परिसर तथा सातदोबाटो वृत्त र भक्तपुरको जिल्ला प्रहरी परिसर, जगाति, मध्येपुर र ठिमीस्थित प्रहरी वृत्तका हिरासतमा रहेका थुनुवाहरुको मानव अधिकार अवस्था र हिरासतको भौतिक संरचनाको अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरेको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिएका हुन् । आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयहरुबाट समेत उपत्यका बाहिरका जिल्लामा रहेका हिरासत कक्षहरुको अनुगमन सुरु गरिएको छ । जेनजी आन्दोलनपश्चात प्रहरी हिरासतमा मानव अधिकारको अवस्थाको बारेमा आयोगमा गुनासा, उजुरी र ज्ञापनपत्रहरु प्राप्त भएपछि आयोगले अनुगमन गरेको जनाएको छ । आन्दोलनपश्चात पक्राउ गरिएका जेनजी प्रदर्शनकारीहरुलाई स्वास्थ्य परीक्षण गरिएको पाइएता पनि हिरासतमा रहेको शौचालय तथा सरसफाईको अभावका कारण दुर्गन्ध आएको र केहीले आफूलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिएको आयोगको टोली समक्ष गुनासो गरेको र केही हिरासतमा महिला कक्षको अभाव रहेको र भौतिक संरचनाहरुको अभाव रहेको लगायतका जानकारीहरु अनुगमनबाट प्राप्त भएको आयोगले जनाएको छ । प्रदर्शनको क्रममा आपराधिक क्रियाकलाप गरेको प्रमाणका आधारमा केही व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले आयोगको टोलीलाई बताएको छ । जेनजी प्रदर्शनको क्रममा प्रहरीको अधिकांश भौतिक संरचनाहरुको क्षति भएको र हाल स्थानीय समुदायको सहयोगमा कतिपय संरचना निर्माण भई सञ्चालनमा आएको, हिरासतबाट बाहिर निस्केका केही थुनुवाहरु अझै पनि फिर्ता नआएका, प्रहरीहरु समेत घाइते भएका र उनीहरुको मनोबल कमजोर बनेको, कतिपय प्रहरी कार्यालयहरुमा रहेका फाइलहरु जलेर नष्ट भएको र हतियारहरु लुटिएको लगायतका जानकारी अनुगमनका क्रममा प्राप्त भएको छ भने जेनजी प्रदर्शनको क्रममा हिरासतबाट भागेका थुनुवाहरु र लुटिएका हतियारहरु फिर्ता नहुँदा शान्ति सुरक्षामा चुनौति थपिएको पाइएको आयोगले अनुगमन पछि बताएको छ । जेनजी प्रदर्शनको क्रममा क्षति पुगेका भौतिक संरचना निर्माण गर्न र हिरासतमा रहेका थुनुवाहरुको लागि अत्यावश्यक सामग्रीहरुका लागि समेत बजेट अभाव रहेको आफुहरुले पाएको आयोगले जनाएको छ भने हिरासतहरुमा विद्यमान समग्र समस्याहरुको समाधानमा गम्भीर हुन आयोग सरकारलाई आग्रह गरेको छ ।
३- गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग गृहमन्त्री अर्यालले एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन् । गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन निर्देशन दिएका थिए । बैठकमा अर्यालले भने- 'पहिलो पटक रात्रिकालीन समयमा क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकाले सोहीअनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु ।' क्यानले टिकट नपाएकाहरूले उद्घाटन खेल घरमै बसेर हेर्न आग्रह गरेको छ । क्यानका सचिव पारस खड्काले उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका छन् । भोलिदेखि मङ्सिर २७ गतेसम्म हुने एनपीएलको दोस्रो संस्करणको तयारी पुरा भएको क्यानले जानकारी दिएको छ । एनपीएलका खेल स्टार स्पोर्ट्स र कान्तिपुर टिभीबाट प्रशारण हुने छन् भने ओटीटी प्लेफर्ममा डिश होमको गो एपमा सशुल्क प्रशारण हुदैछ । क्यानले यस पटक एनपीएलका खेल युट्युबमा प्रशारण नहुने जानकारी दिएको छ ।
४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया डिभिजन बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसमेत ४ जना र सान्दर्भिक मिडिया नेटवर्कविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले डिभिजनको विज्ञापन प्रकाशित गर्दा मिलोमतोमा लुकाएर अनिमियता गरेको भन्दै डिभिजन प्रमुख किशोरी प्रसाद यादव र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल र प्रभाव पब्लिकेशनका बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध मुद्धा दायर गरेको जनाएको छ । अख्तियारले उनीहरुविरुद्ध ३ लाख १६ हजार ५७० बिगो तोकेर कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
५- दक्षिण कोरिया र अमेरिका आणविक शक्तिले चल्ने आक्रमणकारी पनडुब्बीहरू निर्माण गर्न अनुमति दिने सम्झौतामा पुगेका छन् । ह्वाइट हाउसले अमेरिकाले यी पनडुब्बीहरूको लागि इन्धन उपलब्ध गराउने र प्राविधिक सहयोग प्रदान गर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी पनडुब्बीहरू दक्षिण कोरियाली कम्पनी हान्वाको शिपयार्ड फिलाडेल्फिया, पेन्सिलभेनियामा निर्माण गरिने जानकारी दिएका छन् । यद्यपि, दक्षिण कोरियाली अधिकारीहरूले यी पनडुब्बीहरू कोरियामा निर्माण गर्न प्रस्ताव गरेका छन् किनभने त्यहाँ अवस्थित सुविधाहरूले तिनीहरूलाई छिटो उत्पादन गर्न सक्छन् । दक्षिण कोरियाली रक्षामन्त्री आन ग्यु-बाकले उत्तर कोरियाली नेता किम जोङ उनको निद्रा बिग्रिने टिप्पणी गरेका छन् । हाल, केवल ६ देशहरूसँग आणविक शक्तिले चल्ने पनडुब्बीहरू छन् । यसमा अमेरिका, चीन, रूस, बेलायत, फ्रान्स र भारत समावेश छन् । दक्षिण कोरियासँग पहिले नै लगभग २० पनडुब्बीहरू छन्, तर तिनीहरू सबै डिजेलमा चल्छन् र त्यसैले बारम्बार सतहमा जान आवश्यक पर्दछ । तुलनात्मक रूपमा, आणविक पनडुब्बीहरू लामो समयसम्म पानीमुनि रहन सक्छन्, उच्च गतिमा यात्रा गर्न सक्छन् र लामो दूरीमा सञ्चालन गर्न सक्छन् । ट्रम्पले पुरानो जमानाको र धेरै कम चुस्त, डिजेलबाट चल्ने पनडुब्बीहरूको सट्टा आणविक शक्तिले चल्ने पनडुब्बीहरूको निर्माणलाई अनुमोदन गरेको बताएका छन् ।
६- दक्षिण अफ्रिकाले जारी टेस्ट सिरिजको पहिलो खेलमा भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । टेस्टको तेस्रो दिन आइतबार दक्षिण अफ्रीकाले दिएको १२४ रनको लक्ष्य पछाएको भारत केवल ९३ रनमा अल आउट भएपछि दक्षिण अफ्रिकाले यो टेस्ट ३० रनले जितेको छ । कप्तान शुभमन पहिलो इनिंगमा ब्याटिंग गर्नेक्रम घाइते भएपछि दोस्रो इनिंगमा ब्याटिंग गर्न आएका थिएनन् । त्यस्तै भारतका लागि वाशिंटन सुन्दरले सर्बाधिक ३१ रन बनाए भने अक्सर पटेलले २६ रन बनाए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर सिमोन हार्मरले सर्बाधिक ४ विकेट लिए भने मार्को जानसेन र केशव महाराजले २-२ विकेट लिए । यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा १५९ र दोस्रो इनिंगमा १५३ रनमा अल आउट भएको थियो । त्यस्तै भारतले पहिलो इनिंगमा १८९ रन बनाएको थियो । यो जितपछि २ खेलको टेस्ट सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल नोभेम्बर २२ मा गुवाटीमा हुने तालिका रहेको छ ।
७- निर्देशक रमेश सिप्पीको फिल्म 'शोले' ५०औं वार्षिकोत्सवको अवसरमा फोरके मा थिएटरहरूमा पुन: रिलिज हुँदैछ । यस पटक, यो 'शोले- द फाइनल कट' को रूपमा थिएटरहरूमा फर्किँदैछ । धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी र जयाको प्रतिष्ठित फिल्म 'शोले' फेरि एक पटक थिएटरहरूमा रिलिज हुँदैछ । फिल्म डिसेम्बर १२, २०२५ मा भारत भरका १५ सय स्क्रिनहरूमा रिलिज हुनेछ । यस पटक, दर्शकहरूले फिल्मको १९७५ मा आपतकालको समयमा सेन्सरशिपको कारण परिवर्तन गरिएको दृश्य पनि हेर्न पाउने छन् । जसमा ठाकुर (सञ्जीव कुमार) ले बदला लिन गब्बर सिंह (अमजद खान) लाई काँडेदार जुत्ताले कुट्छन् । सेन्सर बोर्डले यो दृश्यलाई धेरै हिंसात्मक ठानेर हटाएको थियो । फिल्म 'शोले' धेरै पटक पुन: रिलिज भएको छ । २००४ मा यसको ३०औं वार्षिकोत्सवको अवसरमा यसलाई ७० मिमीमा पुनर्स्थापित गरिएको थियो । त्यसपछि २०१४ मा थ्रीडी संस्करण र २०२४ मा फोरके संस्करण गरिएको थियो । यसको ५०औं वार्षिकोत्सवको अवसरमा अगस्ट १५, २०२५ मा सबैभन्दा पछिल्लो पुन: रिलिजको घोषणा गरिएको थियो । फिल्म अब डिसेम्बर १२, २०२५ मा भारतभर १५ सय स्क्रिनमा रिलिज हुनेछ । १९७५ मा रिलिज भएदेखि, 'शोले' ले बलिवुड फिल्म उद्योगमा गहिरो प्रभाव छोडेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको भारतीय फिल्म हो । यस वर्ष टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि यसको प्रदर्शन गरिएको थियो । दर्शकहरूले अमिताभ बच्चन, धर्मेन्द्र, जया बच्चन, हेमा मालिनी, संजीव कुमार र अमजद खान जस्ता स्टारहरूको अभिनय मन पराए, जसले गर्दा यो एक कल्ट फिल्म बन्यो ।
८- मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको आजको सुनुवाई स्थगित भएको छ । यो रिट आज सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । अब यो रिटको सुनुवाई सोमबारका लागि सरेको छ । यसअघि बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको थियो । मधेश प्रदेशका ७ राजनीतिक दलका ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको नियुक्तिविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरूको नेतृत्वमा ७४ जना प्रदेशसभा सदस्यले मंगलबार रिट दायर गरेका थिए । यसअघि मंगलबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको थियो । गत मंगलबार रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।
९- नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका ७९ लाख ५७ हजार ५६ कित्ता शेयर ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकारको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा एसबिएल डिभेन्चरको २८ करोड ९० लाख कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २१ करोड १९ लाख बराबर कारोबार भएको छ ।
१०- आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा कुल आयात १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्ट अनुसार आर्थिक वर्ष २०८२-८३ को तीन महिनामा कुल वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई ४६८ अर्ब ८ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ४.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ३३.४ प्रतिशत र ४६.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात घटेको छ । त्यस्तै आर्थिक वर्ष २०८२-८३ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई ३९५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ४.० प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । त्यसैगरी समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४० अर्ब ७९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ अर्ब १३ करोड बराबरको भएको थियो ।
११- विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को तीन महिनाको देशको आर्थिक तथा वित्तीय रिपोर्टमा असोज मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढेर २९७९ अर्ब ८१ करोड पुगेको उल्लेख छ । असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति २६७७ अर्ब ६८ करोड रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६६७ अर्ब ७० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । त्यस्तै आर्थिक वर्ष २०८२-८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
१२- आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३७.९ प्रतिशत र ३.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा कुल वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई ४६८ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ४.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ३३.४ प्रतिशत र ४६.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात घटेको छ । त्यस्तै आर्थिक वर्ष २०८२-८३ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई ३९५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ४.० प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । त्यसैगरी समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४० अर्ब ७९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४ अर्ब १३ करोड बराबरको भएको थियो ।
१३- आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक तथा वित्त स्थिति सम्बन्धि रिपोर्टमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५५३ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनाको विप्रेषण आप्रवाह २०१ अर्ब २२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १४४ अर्ब १७ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । त्यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६१० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४४३ अर्ब ७६ करोड रहेको थियो । त्यसैगरी समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।
१४- एसवाई प्यानल लिमिटेडको सर्वसाधारणका लागि निस्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । आइतबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । आईपीओमा आवेदन दिएका ४ लाख ७ हजार ६१५ जनाले १०-१० कित्ताको दरले शेयर पाएका छन् भने ६ जनाले एक एक कित्ता शेयर पाएका छन् । २१ लाख ८९ हजार ७७३ जनाले शेयरका लागि आवेदन दिएकोमा २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत भएका थिए । आवेदन दिएका १८ हजार ५४ आवेदन अस्वीकृत भएको प्रभु क्यापिटलले जानकारी दिएको छ । कम्पनीले कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको थियो । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको थियो । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएको मध्येबाट १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिएको थियो । कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको छ ।
१५- मेक्सिकोमा जेनजी आन्दोलनले गति लिएको छ । अपराध र भ्रष्टाचार रुद्ध प्रदर्शन गर्न हजारौं युवा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरीसँग झडप भएको छ । आन्दोलनकारीले प्रहरीका ढाल र अन्य उपकरणहरू पनि जफत गरेका छन् । जेनजी आन्दोलनलाई विपक्षी दलका पुराना समर्थकहरूबाट पनि उल्लेखनीय समर्थन प्राप्त भइरहेको छ । मेक्सिको सिटीका सुरक्षा सचिव पाब्लो भाज्क्वेजले हिंसाका क्रममा १२० जना घाइते भएको, जसमध्ये १०० जना प्रहरी अधिकारी रहेको बताएका छन् । त्यस्तै बीस जना आन्दोलनकारीलाई पक्राउ गरिएको छ। १९९० को दशकको अन्त्य र २०१० को दशकको सुरुवातमा जन्मेका युवाहरूलाई जेन जेड भनिन्छ । यस वर्ष, यस जनसांख्यिकीय समूहका सदस्यहरूले असमानता, लोकतान्त्रिक पतन र भ्रष्टाचार विरुद्ध धेरै देशहरूमा विरोध प्रदर्शनहरू आयोजना गरेका छन् । मेक्सिकोमा, धेरै युवाहरूले भ्रष्टाचार र हिंसा जस्ता प्रणालीगत समस्याहरूबाट निराश भएको बताएका छन् । मेक्सिकोमा, समुद्री डाकूको खोपडी चित्रण गर्ने झण्डा जेन जेड आन्दोलनको प्रतीक बनेको छ, र प्रदर्शनकारीहरूले यसलाई फहराइरहेका छन् । विरोध प्रदर्शनमा भाग लिने युवाहरुले सार्वजनिक स्वास्थ्य प्रणालीको लागि थप कोष र राम्रो सुरक्षाको माग गरिरहेका छन् ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ६९ सयले घटेर तोलाको २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ३१३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३२८५ मा कारोबार भएको थियो ।
१७- भारतको राजधानी दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा पुगेको छ । दिल्लीका अधिकांश क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि रेकर्ड गरिएको छ । आइतबार बिहान साढे ९ बजे दिल्लीमा एक्यूआई ४९३ पुगेको छ । दिल्लीको हावाको गुणस्तर विगत धेरै दिनदेखि 'गम्भीर' श्रेणीमा रहेको छ । ४०१ र ५०० बीचको एक्यूआईलाई 'गम्भीर' मानिन्छ । दिल्लीपछि पाकिस्तानको लाहोरको एक्यूआई २६१ रहेको छ भने इजिप्टको कायरोको २३५ र भारतकै कोलकोताको २०१ रहेको छ ।
१८- नेपालले तराई आर्क ल्याण्डस्केपमा आरइडीडी प्लस उत्सर्जन न्यूनीकरण कार्यक्रम अन्तर्गत लगभग १.८८ मिलियन टन कार्बन डाइअक्साइड घटाउन विश्व बैंकको वन कार्बन साझेदारी सुविधाबाट ९.४ मिलियन डलर अर्थात् करिब एक अर्ब ३३ करोड २९ लाख ७१ हजार भुक्तानी प्राप्त गरेको छ । यो वन कार्बन साझेदारी सुविधाको उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता अन्तर्गत पहिलो भुक्तानी हो । वन फँडानी र वन क्षयीकरणबाट उत्सर्जन घटाउने र समावेशी, दिगो वन व्यवस्थापनलाई प्रवर्द्धन गर्ने नेपालको प्रयासमा यो सम्झौता एक प्रमुख कोसेढुङ्गा रहेको छ । नेपालमा वन कार्बन साझेदारी सुविधा कार्यक्रम दिगो वनको लागि यसको बलियो समुदाय-आधारित दृष्टिकोण हो । समृद्ध जैविक विविधता र घना मानव जनसंख्या दुवैको घर-तराई आर्क ल्याण्डस्केपमा लागू गरिएको यो कार्यक्रमले ग्रामीण जीविकोपार्जन सुधार गर्दै वनको संरक्षण र पुनर्स्थापना गर्न स्थानीय समुदाय, आदिवासी जनजाति र नागरिक समाज संस्थाहरूलाई एकसाथ ल्याउने बताइएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंक डिभिजन निर्देशक डेभिड सिस्लेनले भने- 'यो कोशेढुङ्गा भुक्तानी नेपालले वन फँडानी घटाउने, वन प्रशासन सुदृढ गर्ने, जैविक विविधता संरक्षण बढाउने र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसरहरू विस्तार गर्ने सफलताको प्रमाण हो ।' भुक्तानी नेपालको लाभ बाँडफाँड योजना अनुसार वितरण गरिनेछ, जुन स्थानीय समुदाय र प्रमुख सरोकारवालाहरूसँगको परामर्श समावेश गर्ने सहभागितामूलक प्रक्रिया मार्फत विकसित गरिएको हो । यो योजनाले वनमा आश्रित समुदाय र आदिवासी जनजातिहरूले आफ्नो प्रयासको नतिजाबाट प्रत्यक्ष लाभ उठाउने कुरा सुनिश्चित गर्दछ । लगानीले निरन्तर वन पुनर्स्थापना, सामुदायिक उद्यमहरू र जलवायु, उत्कृष्ट जीविकोपार्जनलाई सहयोग गर्नेछ भने सामुदायिक वन र सहभागितामूलक स्रोत व्यवस्थापनको अग्रणीको रूपमा नेपालको विश्वव्यापी प्रतिष्ठालाई सुदृढ पार्ने छ ।
१९- स्पेन फिफा विश्वकप छनौटको नजिक पुगेको छ । युरोप छनौट अन्तर्गत गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ४-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा मिकेल ओयारजबालले २ गोल गरेका थिए भने मार्टिन जुबीमेन्डी र फेरान टोरेजले एक एक गोल गरेका थिए । यो जितपछि स्पेनको समुह इ मा ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । स्पेन विश्वकपमा छनौट हुने लगभग निश्चित रहेको छ । यस समुहमा दोस्रो स्थानमा रहेको टर्कीको ५ खेलमा १२ अंक रहेको छ भने जर्जियाको ५ खेलमा ३ अंक रहेको छ । त्यस्तै बुल्गेरियाको ५ खेलमा शुन्य अंक रहेको छ । स्पेनले अब अर्को खेल नोभेम्बर १९ मा टर्कीविरुद्ध खेल्ने तालिका रहेको छ ।
२०- ब्राजिलमा जारी कोप ३० जलवायु वार्ताको बीचमा हजारौं प्रदर्शनकारीहरू मार्च गरिरहेका छन् । उनीहरुले अमेजनलाई मुक्त गर्न माग गर्दै नारा लगाइरहेका छन् । २०२१ पछि पहिलो पटक प्रदर्शनकारीहरूलाई संयुक्त राष्ट्र जलवायु वार्ता बाहिर प्रदर्शन गर्न अनुमति दिइएको छ । अघिल्ला तीन बैठकहरू ती देशहरूमा आयोजित गरिएको थियो जहाँ सार्वजनिक प्रदर्शनहरूलाई अनुमति छैन । कोप ३० ब्राजिलको बेलेममा आयोजना भइरहेको छ। प्रदर्शनकारीले जीवाश्म इन्धनको लागि अन्त्येष्टि जुलुस निकालिरहेको बताएका छन् । उनीहरुले कोप बैठकहरू र सिद्धान्तहरूको बारेमा पर्याप्त छलफल भइसकेको र अब वास्तविक कार्यको समय भएको बताएका छन् । विश्वभरका हजारौं आदिवासी समुदाय, ब्राजिलियन युवा समूह र जलवायु कार्यकर्ताहरूले मार्चमा भाग लिएका छन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको रूपरेखा सम्मेलन अनुसार, पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) ३० को मुख्य उद्देश्य विगतका कामहरूमा निर्माण गर्नु र जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्ने तरिकाहरू छलफल गर्नु रहेको छ । यस सम्मेलनमा विश्वका करिब २०० देश सामेल रहेका छन् । नोभेम्बर १० देखि शुरु भएको यो सम्मेलन नोभेम्बर २१ सम्म हुने तालिका रहेको छ ।
प्रतिक्रिया