काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका हुन् । उनले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् । उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन पनि दिइएको छ ।
२- संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट परेको अवस्थामा सभामुख देवराज घिमिरेले संवैधानिक, राजनीतिक तथा व्यावहारिक दृष्टिकोणहरू बनाउन पूर्वमहान्यायाधिवक्ता तथा बार एसोसिएसनका पदाधिकारीसँग अलग–अलग छलफल गरेका छन्। उनले आफूले विगतको अभ्यासका आधारमा संविधानको परिधिभित्र रहँदै लोकतान्त्रिक मर्यादामा रहेर निर्णय लिने बताए । उनले भने,ʻसंसद् पुनर्स्थापना भयो भने वर्तमान जनादेशलाई निरन्तरता दिँदै तत्कालै जेनजी पुस्ताको माग तथा राजनीतिक, सामाजिक र सुशासनका एजेन्डाहरू संसद् र सरकारमार्फत संवैधानिक विधिबाटै सम्बोधन गर्न सकिने अवस्था सिर्जना हुन्छ। संविधानअनुसार नयाँ निर्वाचन सम्पन्न नगरेसम्म कार्यकारी र विधायिकाको पुनर्संरचना सम्भव हुँदैन। त्यसपछि मात्रै संविधान संशोधनको प्रक्रिया प्रारम्भ हुन सक्छ, यो दीर्घकालीन प्रक्रिया हो। संसद् पुनर्स्थापना जेनजी पुस्ताका लागि पनि फलदायी हुन सक्छ। मुलुकलाई छिटोभन्दा छिटो लयमा फर्काउन सकिन्छ।ʼ पूर्वमहान्यायाधिवक्ताहरूले सभामुखले प्रतिनिधि सभाको अधिकार क्षेत्र, कार्यकाल र विघटनको वैधानिकता स्पष्ट पार्ने कर्तव्य भएको बताए। सभामुखले आफ्नो दायित्व संविधानको परिधिभित्र रही संस्थागत निर्णयमार्फत अगाडि बढाउन सक्ने बताए। उनीहरूले भने,ʻरिट परेको र सभामुखलाई विपक्षी बनाएको अवस्थामा पुनर्स्थापनाका पक्षमा स्पष्ट जवाफ दिन सक्नुहुन्छ। सभामुख अदालतमा नजाँदा पनि अन्य पक्षले दायर गरेको रिटमा अदालतले संसद् विघटनको वैधानिकता र संवैधानिक अधिकारहरूको प्रयोग स्वतः परीक्षणको दायरामा ल्याउँछ। अदालतले न्यायिक पुनरावलोकन अधिकार प्रयोग गरी उक्त विषयको वैधानिकता परीक्षण गर्न सक्छ।ʼनेपाल बार एसोसिएसनका पदाधिकारीहरूले प्रतिनिधिसभा विघटनको सिफारिस र त्यसपछिको निर्णय संविधानको मर्म र लोकतान्त्रिक शासन व्यवस्थासँग प्रतिकूल रहेको स्पष्ट गरे। संसद् विघटनले उत्पन्न असमञ्जसतालाई संवैधानिक प्रक्रियाबाट समाधान गर्न सभामुखले संस्थागत नेतृत्व गर्न स्वविवेकीय अधिकार प्रयोग गर्न सक्ने बताए। प्रतिनिधि सभाको प्रमुख संरक्षकको हैसियतले सभामुखले राजनीतिक दलहरूबीच संवादको वातावरण सृजना गरी संविधानवाद र विधिको शासन जोगाउन पहल गर्नुपर्ने उनीहरूले बताए । छलफलमा पूर्वमहान्यायाधिवक्ताहरू महादेव यादव, प्रा डा भरतबहादुर कार्की, खम्ब खातीसहित नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्र, महासचिव केदार कोइराला र कोषाध्यक्ष जगतबहादुर कार्की सहभागी थिए ।
३- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी लुम्बिनी लायन्सले दोस्रो संस्करणको लागि अष्ट्रेलियाका डार्सी शर्टलाई अनुबन्ध गरेको छ । अष्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्सी एनपीएल खेल्ने भएका हुन् । डार्सीले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टी–२० आई र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । बाँयाहाते ओपनिङ ब्याटर डार्सीसँग भारतीय प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ । ३५ वर्षीय डार्सीको आगमनले ब्याटिङ लाइन थप मजबुत हुने अपेक्षा लुम्बिनी लायन्सले गरेको छ ।रोहित कुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी, अभिषेक गौतम, दिलिप नाथ, बिशाल पटेल, शेर मल्ल, दुर्गेस गुप्ता र आदील खानलगायतका खेलाडी छन् ।
४- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मङ्सिर महिना भित्र नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । विहिबार केन्द्रीय समितिको बैठकमा बोल्दै कोइरालाले नियमित महाधिवेशन मङ्सिरमै गर्नुपर्ने र महामन्त्रीद्वयले महाधिवेशनको कार्यतालिका यस बैठकमा पेश गर्ने विश्वास व्यक्त गरेका छन् । कोइरालाले अन्य दलले मङ्सिर भित्र महाधिवेशन गर्न सक्ने भन्दै कांग्रेसले किन गर्न सक्दैन भने प्रश्न समेत गरेका छन् । उनले भनेका छन्- आज कुरा उठेको छ कांग्रेस पार्टी अब कसरी अगाडि बढछ भनेर । कांग्रेसबारे यस्तो अपेक्षा राख्ने देश भित्र र बाहिरका हाम्रा शुभचिन्तकहरु मात्र छैनन, अन्य राजनीतिक दल र कैयन मित्रराष्ट्रहरुले पनि हाम्रा भावी कदमवारे आँखा लगाएर हेरिरहेका छन । अन्य राजनीतिक दलहरु मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ ? त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरु माझ भन्न चाहन्छु “कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी” बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५औं महाधिवेशन गर्नुपर्छ । महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु ।'
५- नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले मंसिरमा नियमित महाधिवेशनमा जोड दिनुपर्ने धारणा राखेका छन् । विहिबार केन्द्रीय समितिको बैठकमा बोल्दै खड्काले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको जानकारी गराउदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए । उनले भने- 'मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नुभएकाले यो बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं ।' कार्यवाहक सभापतिले विशेष महाधिवेशन आवश्यक नरहेकाले मंसिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका थिए । त्यस्तै बैठकमा बोल्दै नेता शेखर कोइरालाले मङ्सिरमा महाधिवेशनको तालिका ल्याउन आग्रह गरेका थिए । उनले अन्य दलले मङ्सिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले किन नसक्ने भन्दै बैठकमा तालिका प्रस्तुत गर्न महामन्त्रीहरुलाई आग्रह गरेका थिए । मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिदै नियमित महाधिवेशन गर्नुपर्ने बताएका थिए । कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला बसिरहेको यस केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने सम्भावना रहेको छ । सभापति देउवा पक्षका नेताहरुले मङ्सिरसम्म समय नपुग्ने भन्दै नियमित महाधिवेशन गर्न नसकिने बताउदै आएका छन् ।
६- जनमत पार्टी विभाजन भएपछि अध्यक्ष सीके राउत सर्वोच्च अदालत पुगेका छन् । राउतले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् । बिहीबार दर्ता भएको रिटको पहिलो पेशी शुक्रबार तोकिएको छ । राउतले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउदै अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । रिटमा उनले दल विभाजनको वैधानिक आधार नभएको र आयोगले दर्ता गराउन सक्ने भएकाले पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका छन् । राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । जनमतका उपाध्यक्ष दीपक साहको नेतृत्वमा ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेको जनमतका करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुले आइतबार निर्वाचन अयोगमा पुगेर जनस्वराज नामको पार्टी दर्ता गर्न निवेदन दिए पनि सनाखत हुन भने बाँकी छ ।
७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रुसबाट तेल नकिन्ने दाबी गरेका छन् । ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भारतले रुसबाट तेल किनेकोमा आफु खुसी नभएको बताउदै मोदीले रुसबाट तेल नकिन्ने आश्वासन दिएको दाबि गरेका हुन् । ट्रम्पले भनेका छन्- भारतले रुसबाट तेल किनेकोमा म खुशी थिइनँ, तर आज उहाँले (प्रधानमन्त्री मोदी) मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिनुभयो । अब हामीले चीनलाई पनि त्यस्तै गर्न लगाउनुपर्छ ।' अमेरिकाले अगस्ट २०२५ मा रूसबाट तेल खरिद गर्दा भारतमा २५ प्रतिशत अतिरिक्त कर लगाइसकेको छ । पहिले, यसले २५ प्रतिशत पारस्परिक कर लगाएको थियो, जसले गर्दा भारतमा कुल कर ५० प्रतिशत पुगेको छ । ट्रम्पको दावीको बारेमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत तेल र ग्यासको एक प्रमुख खरिदकर्ता भएको बताउदै सार्वजनिक हितको रक्षा गर्नु सधैं पहिलो प्राथमिकता रहेको बताएका छन् । उनले भनेका छन्- 'हाम्रा आयात नीतिहरूले यो उद्देश्य पूरा गर्छन् । ऊर्जा नीतिका दुई उद्देश्यहरू छन्: पहिलो, स्थिर मूल्य कायम राख्नु र दोस्रो, सुरक्षित आपूर्ति कायम राख्नु । यस उद्देश्यका लागि, हामी हाम्रा ऊर्जा स्रोतहरू फराकिलो बनाउँछौं र बजार अवस्था अनुसार विविधीकरण गर्छौं। संयुक्त राज्य अमेरिकाको कुरा गर्ने हो भने, हामी धेरै वर्षदेखि हाम्रो ऊर्जा खरिदहरू विस्तार गर्न प्रयासरत छौं। विगत एक दशकमा यस सन्दर्भमा स्थिर प्रगति भएको छ ।' उनले अमेरिकी प्रशासनले भारतसँग ऊर्जा सहयोग विस्तार गर्न चासो देखाएको छ र छलफलहरू जारी रहेको बताएका छन् ।
८- चीनले २०७२ साल वैशाखमा गएको विनाशकारी भुकम्पले पूर्णरूपमा ध्वस्त बनेको जिरी माध्यमिक विद्यालयको पुनर्निर्माण गरिदिएको छ । चिनियाँ राजदुत चेन सोंगले विहिबार पुनर्निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरेका हुन् । उनले जिरी माध्यमिक विद्यालय आधिकारिक रूपमा नेपाललाई हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपालका युवा पुस्तालाई राम्रो सिकाइ वातावरण प्रदान गर्ने दश उपहार विद्यालय प्याकेजहरू मध्ये यो एक रहेको बताएका छन् । हाटडाँडामा अवस्थित जिरी माध्यमिक विद्यालयमा चीन सरकारले १ अर्ब ३९ करोड ३८ लाख ५२ हजार लगानी गरेर पुनर्निर्माण गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त विद्यालयको पुनर्निर्माण हुन करिब एक दशक पछि भए पनि विद्यालयले ढिलो भएपनि जिल्लामै उत्कृष्ट र सुविधायुक्त कक्षा-कोठा सहितको विद्यालय भवन पाएको हो । चाइना एडमार्फत निर्माण गरिएको विद्यालय परिसरमा कुल ७ वटा आधुनिक भवन रहेका छन् । ती भवनमा ४१ वटा कक्षा कोठा, छात्र तथा छात्रावास, शिक्षक आवास, सभा हल, पुस्तकालय, शैक्षिक तथा प्रशासनिक भवन, कम्प्युटर ल्याब, नृत्य कक्ष, चित्रकला कोठा र चमेनागृह रहेका छन् ।
९- नेप्सेमा आजपनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३११ कम्पनिका ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर ३ अर्ब २७ करोड ५४ हजार ८६४ मा कारोबार भएको थियो । आज बैंकिङ र म्युचुअल फन्ड क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर घटेको छ । आज हिमालयन पावर पार्टनरको शेयरमा सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तको शेयर ५.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्तको शेयर ७.३३ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी मुक्तिनाथ विकास बैंक १५ करो ३० लाख बराबरको शेयर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको १३ करोड ४ लाख बराबरको कारोबार भएको छ ।
१०- प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । विहिबार स्वास्थ्य सचिव डा विकास देवकोटासँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी हुन् । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री कार्कीले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन गर्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलित भएका छन् । मन्त्रालयले सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक सरकारले तोके बमोजिम ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन भएको छैन ।
११- न्यूजील्याण्डका पुर्व कप्तान केन विलियमसन आइपिएलको २०२६ को सिजनका लागि फ्रेन्चाइज लखनऊ सुपर जायन्ट्स (एलएसजी) सँग रणनीतिक सल्लाहकारको रूपमा जोडिएका छन् । केन रणनीतिक सल्लाहकारको रुपमा लखनउमा जोडिएको टोलीका मालिक सञ्जीव गोयन्काले बिहीबार जानकारी दिएका छन् । त्यस्तै लखनउले कार्ल क्रो स्पिनलाई बलिङ प्रशिक्षकको रूपमा टोलीमा सामेल गरेको छ । त्यस्तै लखनउको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका जस्टिन ल्याङ्गर र फास्ट-बलिङ प्रशिक्षकको रूपमा भरत अरुण रहने जानकारी दिएको छ । लखनउसँग जोडिएपछि केनले भनेका छन्- 'म लखनउमा सामेल हुन पाउँदा साँच्चै उत्साहित छु । उनीहरूसँग अत्यन्तै प्रतिभाशाली टोली र प्रशिक्षकहरूको एक उत्कृष्ट समूह छ जससँग म सँगै काम गर्न तत्पर छु । खेलको सबैभन्दा राम्रो फ्रेन्चाइज प्रतियोगिता, आईपीएलमा संलग्न हुनु सधैं विशेष हुन्छ ।' २०२२ देखि आइपिएल खेलिरहेको लखनउले २ पटक मात्र प्लेअफ खेलेपनि उपाधि भने जित्न सकेको छैन ।
१२- बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ दल गठन गरेको छ । दिनेश प्रसाईंको नेतृत्व गतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । उनीहरुले निर्वाचन आयोग पुगेर बिहीबार दल दर्ताका लागि निवेदन दिएका छन् । बस्नेतले ५-६ महिनादेखि नै पार्टी गठन गर्नेबारे छलफल गरिरहेका थिए । नयाँ परिस्थितिका बीचमा फागुन २१ लाई चुनाव घोषणा भएपछि बस्नेतसहित नयाँ दल दर्ताको प्रक्रिया अगाडी बढाएका हुन् । पार्टीमा एक जना अध्यक्ष र ५ जना महासचिव राख्ने तयारी छ । बाँकी सदस्य हुनेछन् । पार्टीमा पदाधिकारीले चुनाव लड्न नपाउने व्यवस्था गरिएकाले बस्नेत नेतृत्वमा नबसेको बताइएको छ ।
१३- जितेन्द्र प्रसाद सोनार (सोनल) ले मधेश प्रदेशको मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । विहिबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सोनलसँगै जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र एकीकृत समाजवादी पार्टीका कनिष पटेलले मन्त्री पदको शपथ लिएका छन् । गठबन्धनमा जसपा नेपाललाई अर्थसहित चार मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयसहित चार, लोसपा, माओवादी र नेकपा एकीकृत समाजवादीलाई २-२ मन्त्रालय दिइने सहमति भएको छ । सोनल पाँच दलको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोनललाई लोससपासहित जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।
१४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित जसपा नेपालका मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत १६ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको छ । अख्तियारले प्रदेश सांसद सिंह समेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरी उक्त उपभोक्ता समितिको खाताहरुमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिक्ने र झिक्न लगाएर आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरेको स्वकीय सचिव कायस्थ समेतको खातामा रकम जम्मा गरी गराई घुस लिएको देखिएको जनाएको छ । अख्तियारले मधेश प्रदेश सभा सदस्य तथा मधेश प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका पूर्व राज्यमन्त्री सिंहलाई ३८ लाख ५० हजार ३१९ बिगो तोकेको छ भने धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवीलाई एक लाख ८५ हजार २६० बिगो तोकेको छ । त्यस्तै धर्मशाला एवं रामनारायणको घरदेखि रामबृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीलाई ६ लाख ५७ हजार ७ सय, धर्मशाला एवं रामनारायणको घरदेखि रामबृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयना कुमारीलाई २ लाख १४ हजार ३५०, माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष राम शरण खत्वे र कोषाध्यक्ष बिभा देवी खत्वेलाई एक लाख ५० हजार, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेश कुमारीलाई एक लाख ५१ हजार ४०० बिगो तोकेको छ । त्यस्तै रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रा.वि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र कुमार झालाई १८ लाख ९१ हजार ९००, रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भु कुमार मण्डललाई ३ लाख एक हजार ९१५, रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रा.वि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मन्जु देवी पासमानलाई २१ लाख ९३ हजार ८१५ बिगो तोकेर विशेष अदालत काठमाडौँमा विहिबार मुद्धा दायर गरेको छ ।
१५- भारतका चर्चित फिल्म निर्माता बीआर चोपडाले बनाएको 'महाभारत' मा कर्णको भूमिका निभाएका अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा निधन भएको छ । पंकजको बुधबार मुम्बईमा निधन भएको हो । मिडिया रिपोर्टका अनुसार, पंकज धीर लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । उनले पहिले क्यान्सरलाई जितेका थिए, तर केही समयपछि यो फेरि फर्किएको थियो । महाभारतमा कृष्णको भूमिका निर्वाह गर्ने अभिनेता नितीश भारद्वाजले एक पोस्टमा आफ्नो शोक व्यक्त गरेका छन् । पंकज धीरको फोटो सेयर गर्दै उनले लेखेका छन्- 'एक दिन हामी सबैले यो संसार छोडेर जानुपर्छ, तर अझ महत्त्वपूर्ण कुरा के हो भने हामीले यस्तो जीवन बिताउनु पर्छ जहाँ संसारले हामीलाई प्रेम र सम्मानका साथ सम्झोस् । 'महाभारत' टोलीले अर्को बहुमूल्य रत्न गुमाएको छ, एक संवेदनशील, बलियो व्यक्तित्व, हास्यको उत्कृष्ट भावना र सुनको हृदय भएको कलाकार । भारतीय साहित्यिक सम्पदाको पहिलो 'क्रोधित युवा' अब हामीसँग छैन । हामी भगवानसँग प्रार्थना गर्छौं, उनको आत्माले मुक्ति र अनन्त शान्ति प्राप्त गरोस् ।' धीरले सनम बेवफा, बादशाह जस्ता फिल्मदेखि चन्द्रकान्त र ससुराल सिमरका जस्ता टिभी सिरियलमा समेत काम गरेका थिए । उनले अभिनय एकेडेमी पनि स्थापना गरेका छन् ।
१६- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ५० हजार ९ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि बुधबार सुन तोलाको २ लाख ४८ हजार ९०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर ३२७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३२४० मा कारोबार भएको थियो ।
१७- नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जहाँ जिल्लाका पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा संयोजक प्रचण्डले हालैको जेनेरेसन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा राखेका छन् । संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई 'नयाँ राजनीतिक चेतना' को संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताए । उनले भने- 'युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो ।' प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको 'गम्भीर सुरक्षा लापरवाही' लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भुमिकाको आलोचना गरे । उनले भने- 'युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।' संयोजक प्रचण्डले घटनापछि २३ गते राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको र सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको बताए । २४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेपछि आफू स्वयंको पहलमा सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको प्रसंग पनि उनले स्पष्ट गरे । उनले भने- 'हामीलाई कसैले लिएको होइन, हामीले परिस्थिति मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौं । प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताए ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अपरेशन सञ्चालन गर्न सीआईएलाई अधिकार दिएको बताएका छन् । अमेरिकी सेनाले क्यारिबियनमा लागूपदार्थ तस्करीको आशंकामा जहाजहरूमा कम्तिमा पाँच आक्रमणहरू गरेका छन्, जसमा २७ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र मानव अधिकार विज्ञहरूले यी कार्यहरूलाई गैरकानूनी हत्या भनेर वर्णन गरेका छन् । ह्वाइट हाउसमा, ट्रम्पले अमेरिकाले लागूपदार्थ कार्टेलहरू विरुद्ध थप कारबाहीको तयारी गरिरहेको बताए । यसैबीच, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले टेलिभिजनमा अमेरिकालाई शान्तिको लागि अपील गरे । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, ट्रम्पको स्वीकृतिले सीआईएलाई भेनेजुएलामा एकतर्फी रूपमा वा व्यापक अमेरिकी सैन्य अपरेशनको भागको रूपमा अपरेशन सञ्चालन गर्न अनुमति दिएको छ । सीआईए भेनेजुएलामा अपरेशनको लागि तयारी गरिरहेको छ कि छैन भन्ने कुरा हाल स्पष्ट भने रहेको छैन । ट्रम्पले दुई कारणले सिआईएलाई यस्तो अधिकार दिएको बताएका छन् । पहिलो, उनीहरूले (भेनेजुएला) आफ्नो जेलबाट कैदीहरूलाई संयुक्त राज्य अमेरिकामा रिहा गरुन र दोस्रो लागूपदार्थ हो । धेरै भेनेजुएलाबाट आउने लागूपदार्थलाई आफुहरुले रोक्ने ट्रम्पले बताएका छन् ।
१९- भारतले विद्युतीय सवारी साधन (इभी) लाई प्रवर्द्धन गर्न दिइँदै आएको अनुदानप्रति चीनले असन्तुष्टि व्यक्त गरेको छ । मिडिया रिपोर्ट अनुसार, चीनले यस विषयमा विश्व व्यापार संगठन (डब्लुटिओ) मा भारतविरुद्ध उजुरी दर्ता गरेको छ । चीनले भारतको ठूलो अनुदानले आफ्ना घरेलु कम्पनीहरूलाई अनुचित फाइदा पुर्याइरहेको दाबी गरेको छ । यसले भारतमा चिनियाँ विद्युतीय सवारी साधन र इभी उत्पादनहरूको बिक्रीमा असर गरिरहेको चीनको दाबि रहेको छ । यसले चीनको हितलाई हानि पुर्याइरहेको र चीनको वाणिज्य मन्त्रालयले आफ्ना उद्योगहरूको अधिकारको रक्षा गर्न कडा कदम चाल्ने स्पष्ट पारेको छ । इकोनोमिक टाइम्सको एक रिपोर्ट अनुसार, विश्वका प्रमुख देशहरूमध्ये भारतले विद्युतीय कारहरूमा सबैभन्दा बढी अनुदान प्राप्त गरिरहेको छ । उदाहरणका लागि, भारतको सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारी साधन, टाटा नेक्सनले खरिदकर्ता र निर्माता सहित लगभग ४६ प्रतिशत अनुदान प्राप्त गर्दछ । भारतमा इभीका फाइदाहरूमा कम जीएसटी, पेट्रोल र डिजेल सवारी साधनको तुलनामा कम सडक कर, र कम्पनीहरूको लागि उत्पादन-लिङ्क गरिएको प्रोत्साहन योजनाले सहयोग गरिएको छ । भारत सरकारले सवारी साधनमा मात्र नभई विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्न चार्जिङ पूर्वाधारमा पनि ध्यान केन्द्रित गरिरहेको छ । पीएम ई-ड्राइभ योजना अन्तर्गत, केन्द्र सरकारले सार्वजनिक द्रुत-चार्जिङ स्टेशनहरू निर्माणको लागतको ८० प्रतिशतसम्म कभर गरिरहेको छ । केही अवस्थामा, यो अनुदान शत प्रतिशतसम्म पुग्न सक्छ । यस योजना अन्तर्गत, तीन किस्तामा कोष वितरण गरिन्छ, जसमा टेन्डर जितेपछि ३० प्रतिशत, स्टेशन स्थापना गरेपछि ४० प्रतिशत र व्यावसायिक सञ्चालन सुरु भएपछि बाँकी रकम रिलिज गरिने गरिएको छ । ई-ट्रक, ई-एम्बुलेन्स, र ई-बस चार्जिङ पूर्वाधार (चार्जिङ स्टेशनहरू) ले मार्च ३१, २०२८ सम्म अनुदान प्राप्त गर्न जारी राख्नेछ । यद्यपि, विद्युतीय दुई-पाङ्ग्रे सवारी साधन, ई-रिक्सा, तीन-पाङ्ग्रे सवारी साधन र ई-कार्टहरूमा सरकारी अनुदान मार्च २०२६ पछि बन्द हुनेछ । महत्वपूर्ण अनुदानको बावजुद, भारतमा विद्युतीय सवारी साधनको बिक्री कम रहेको छ । कुल सवारी साधन बजारको केवल २ प्रतिशत मात्र ईभीको हिस्सा छ, जुन अन्य देशहरूको तुलनामा सबैभन्दा कम संख्या हो । यसको अर्थ सरकारले ठूलो लगानी गरिरहेको भए पनि, विद्युतीय सवारी साधनहरूमा अझै पनि आम मानिस आकर्षित हुन सकिरहेका छैनन् ।
२०- ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । यसैबीच बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७÷७८मा ठेक्का सम्झौता गरेको थियो । ६वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । आयोजनाले पटक—पटक सूचना प्रकाशन गर्दासमेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै जासो नदिएको जनाएको छ । ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुनपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ । सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण वहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।
प्रतिक्रिया