×

काठमाडौँ महानगरले फिर्ता ल्यायो २०८ रोपनीभन्दा बढी सार्बजनिक जग्गा

images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २३ अर्ब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरेको छ ।

महानगरका प्रमुख बालेन शाहले २०८ रोपनी भन्दा बढी सार्बजनिक जग्गा फिर्ता ल्याएको जानकारी दिदै महानगरको लक्ष्य करिब २ खर्ब मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण हटाउने रहेको बताएका छन् ।  

बालेनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको उल्लेख गर्दै सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने, र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिरहेको बताएका छन् ।

उनले त्यस अभियानअन्तर्गत हालसम्म करिब २३ अर्बभन्दा बढी मूल्य बराबरको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सार्बजनिक उपयोग मै फिर्ता ल्याइएको छ भने फिर्ता गरिएका ती जग्गाहरूलाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क,खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलहरूका रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको उल्लेख गरेका छन् । साथै यसै क्रममा अतिक्रम भएका  केही खोला कोरिडोरहरू समेत हटाइएको उनले बताएका छन् ।

सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्रथामिकताका साथ् अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीति आधारका रूपमा ग्रहण गर्दै, मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यन्वयन समिति गठन गरिएको समेत उनले बताएका छन् ।

साथै बालेनले यस प्रतिवेदन बाहेक कुनै व्यक्ति, संघ–संस्था, गैर–सरकारी संस्था वा समूहले सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको जानकारी भएमा, महानगरको सहरी व्यवस्थापन विभागमा जानकारी  गराइदिन आग्रह समेत गरेका छन् । 

 

बिहीबार ३० असोज २०८२ ०९:०६ PM मा प्रकाशित

प्रतिक्रिया