×

ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

images

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिदै केपी शर्मा ओली नेतृत्वको सरकारले गर्न नसकेका ११ काम सार्बजनिक गरेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । बस्नेतले भनेका छन्- 'जनता समाजवादी पार्टी ( जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।'

जसपा नेपालको नेपाल संसदीय दलको बैठक वर्तमान सरकारको हालसम्मको कार्यको निम्नानुसार समिक्षा गरी निर्णय गरेको छ ।

१- जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।

२- भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।

३- मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२÷८३ को बजेट ल्याउने कार्य गर्नु ।  

४- संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।

५- कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।

६- स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।

७- समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।

८- मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।

९- संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु ।

१०- कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।

११- वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।

जसपा नेपालले ओली नेतृत्वको वर्तमान असफल भइसकेको सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नै नरहेको हुनाले उक्त समर्थन फिर्ता लिई अबदखि बिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिएको छ ।

 

बुधबार १ साउन २०८२ ०८:०३ PM मा प्रकाशित

प्रतिक्रिया