काठमाडौँ, १ साउन : असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छालासम्बन्धी रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ ।
नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजागरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यसलाई लुतो फाल्ने भनिन्छ । यो विधि साउने सङ्क्रान्तिको बेलुकी सम्पन्न गरिन्छ ।
अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको हो ।
दक्षिणायन सुरु
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरू हुन्छ । माघ १ गते उत्तरायण र साउन १ गते सुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । एक महिना काम गरेका किसानले साउन १ गते आज आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् ।
साउन महिना विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरेको पनि धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।
यस महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ । साउन शिवजीको मास र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गरेको हो ।
यस अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्रमा आजैदेखि कोटीहोम र शिवपुराणको पाठ पारायण पनि सुरू भएको छ ।
प्रतिक्रिया