×

सगरमाथा संवाद सुरु, परराष्ट्रमन्त्री राणा भन्छिन- हिमालयको संरक्षण र जलवायु संकटको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक

images

काठमाडौं। ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका हुन्।

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ। समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन्। समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ। आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन्।

 परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुले असाधारण तनावको सामना गरिरहेको बतायिन  । उनले उद्घाटन सत्रमा बौल्दै भनिन्, ‘हाम्रा हिमनदीहरू जो स्वस्थ ग्रहका मौन प्रतीकहरू हुन्, तीव्र गतिमा पग्लिरहेका छन् । सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आज हाम्रो आँखामै मौन रूपमा हराउँदै छन् ।’

जलवायु संकटले पहाडी समुदायको अस्तित्वको आधार नै हल्लाइरहेको समेत उनले बताइन् । ‘प्राकृतिक प्रकोपको उच्च जोखिम भएको पहाडी देश नेपाल अहिले गम्भीर द्विविधामा परेको छ, हालैका वर्षहरूमा चरम मौसमी घटनाहरूको सामना गरेका छौं जसले जनजीवनमा विनाशकारी असर पारेका छन्’, उनले भनिन्, ‘बाढी, हिमताल विस्फोट, खडेरी, पानीको अभाव र वन डढेलोहरूले देशभरका जनतालाई अथाह पीडा पुर्‍याएको छ ।’

उनले नेपालका लागि हिमालय सांस्कृतिक सम्पदा मात्र नभइ राष्ट्रिय गौरव र पहिचानको मेरुदण्ड भएको भन्दै यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच गहिरो सहकार्य हुनुपर्ने बताएकी छन् । ‘हामीले हाम्रा पूर्वजहरूबाट पूर्ण र स्वस्थ ग्रहको उत्तराधिकार पाएका थियौं, अब हाम्रो दायित्व छ कि भविष्यका सन्ततिहरूलाई पनि यो ग्रह हरियाली, सुन्दरता र मजबुतीका साथ हस्तान्तरण गर्नुपर्छ’, उनले भनिन् ।


नेपालले पेरिस सम्झौताअनुसार, कार्वन उत्सर्जन घटाउने, स्थानीय समाधानहरू अपनाउने काम गरिरहेको भन्दै उनले नेपालले २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको समेत बताइन् ।

‘नेपालले अगुवाइ गरेका सामुदायिक वन कार्यक्रमले वन क्षेत्र वृद्धि मात्र होइन, संरक्षणको उत्कृष्ट नमुना विश्वभर प्रस्तुत गरेको छ’, उनले भनिन्, ‘तर, विश्वव्यापी तापमान वृद्धिका प्रभावहरू हाम्रो क्षमताभन्दा बढी छन् । हामी पर्याप्त र पूर्वानुमानित जलवायु वित्तीय स्रोतहरूको आह्वान गर्छौं, ताकि राष्ट्रिय र स्थानीय अनुकूलन योजना कार्यान्वयन गर्न सकियोस् ।’

 

शुक्रबार​ ३ जेठ २०८२ ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया