×

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने

images

गलकोट (बागलुङ), ४ वैशाख : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रले सहकार्य गर्ने बताउनुभएको छ । उहाँले धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय निजी क्षेत्रले लगानी बढाएको दृष्टान्त पेस गर्दै मुलुकका धार्मिक तथा सांस्कृतिक धरोहरहरु पर्यटनको प्रचुर सम्भावनायुक्त क्षेत्र रहेकाले तिनको विकास र विस्तारमा सरकार, व्यवस्थापन समिति तथा स्थानीयहरुसँग सहकार्य गरी अघि बढ्न निजी क्षेत्र तयार रहेको बताउनुभयो । धार्मिक आस्थाका धरोहरहरुको विकास र विस्तारका लागि ती क्षेत्रमा पर्यटन पूर्वाधार बन्नु आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले आफूहरुले बुटबलको कामाख्यादेवी र गैंडाकोटको मौलाकालीमा केबलकार निर्माण गरिसकेको र कैलालीको जाल्पादेवी र ताप्लेजुङको पाथीभरामा निर्माण प्रक्रिया सुरु भएको जानकारी पनि दिनुभयो ।

आज बागलुङको चैते दसैँ मेलाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मुलकका धार्मिक तथा सांस्कृतिक आस्थाका धरोहरहरुमा पर्यटन पूर्वाधार बन्नु भनेको ती सम्पदाको संरक्षण र प्रवद्र्धनका साथै भक्तजनहरुलाई पनि सहजता प्राप्त हुनु हो । त्यसैले जहिले पनि निजी क्षेत्रले पूर्वाधारमार्फत पर्यटन प्रवद्र्धनमा जोड दिने गरेको छ ।” उहाँले विश्वका हिन्दू तथा बौद्धमार्गीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने प्रवेशद्वार बागलुङ र पर्वत रहेकाले त्यहाँ जाने मार्गका साथै कालीकण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गको पूर्णता र कोरला नाकाको पूर्ण क्षमतामा सञ्चालनबाट यस क्षेत्रमा समृद्धि प्राप्त हुने बताउनुभयो । उहाँले बागलुङको ऐतिहासिक चैते दसैँ मेला स्थानीय उत्पादनको खरिद–बिक्री केन्द्रका रुपमा स्थापित भएको बताउँदै यस्ता मेला महोत्सवबाट मौलिकता र स्थानीयताको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । कालिका मन्दिरको इतिहाससँग जोडिएको चैते दसैँ मेला बागलुङमा तीन सय वर्ष पुरानो रहेको बताइन्छ ।

यसै अवसरमा आयोजित मेलाको आज औपचारिक उद्घाटन गरिएको हो । त्यस अवसरमा अध्यक्ष ढकालले आदर्श सञ्चारमा कार्यरत सृजना पन्त र धौलागिरि एफएममा कार्यरत ताराप्रसाद शर्मालाई कालिका पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा पूर्वमन्त्री चम्पा खड्का, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालगायतले यस मेलाको ऐतिहासिक पक्षका बारेमा जानकारी गराउनुभएको थियो । यस अवसरमा बागलुङको कालिका मन्दिरमा पाँच लाख दर्शनार्थी आउने अपेक्षा रहेको समितिका अध्यक्ष खड्काले बताउनुभयो । गएको शुक्रबारदेखि सुरु भएको मेलामा आज मुख्य दिनसम्म दुई लाख ५० हजारभन्दा बढी दर्शनार्थी आइसकेका अध्यक्ष खड्काले बताउनुभयो । मेलामा हालसम्म दुई करोडभन्दा बढीको काराबार भइसकेको उहाँको भनाइ छ । मेला जिल्लामा क्रियाशील सङ्घसंस्था, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था, स्थानीय उद्योगी व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाइँदै आइएको छ ।

मङ्गलबार ३ बैशाख २०८१ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया