×

विराटनगर भाटभटेनीमा पनि भेटियो जलेको एक शव

images

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषबाट एक शव फेला परेको छ । भवनको सफाइ गर्ने क्रममा सोमबार उक्त जलेको शव भेटिएको हो ।

मोरङ प्रहरीले सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा मानव कंकाल फेला परेको जानकारी दिएको छ ।

कंकाल जलेर चिन्नै नसकिने अवस्थामा रहेकाले पहिचान पनि हुन सकेको छैन । आन्दोलनका क्रममा आक्रोशित प्रदर्शनकारीहरूको समूहले विराटनगरको भाटभटेनी सुपरमार्केटमा तोडफोड, लुटपाट र आगजनी गरेको थियो । उक्त आगजनीका कारण सुपरमार्केट रहेको भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

प्रहरीले आगलागीका बेला कोही व्यक्ति भवनभित्र फसेको र उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक आशंका गरको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र हराएका व्यक्तिहरूको बारेमा पनि सोधखोज सुरु गरेको जनाएको छ ।

यसअघि धरान भाटभटेनीबाट ४ र काठमाडौँको चुच्चेपाटी भाटभटेनीबाट ६ जनाको जलेको शव फेला परेको थियो ।  

 

सोमबार ३० भदौ २०८२ ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया