काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन सरकारले विदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । सरकारले जेनजी आन्दोलनको न्यायिक छानबिन आयोग बनाउन सैद्धान्तिक निर्णय गरेको छ । त्यस्तै सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारलाई यस अघि १० लाख दिने निर्णय गरिएकोमा त्यसमा थप ५ लाख गरि १५ लाख दिने निर्णय गरिएको छ । त्यसैगरी आन्दोलनमा शाहदत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जगारण स्मारक पार्क निर्माण गर्ने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिएका छन् ।
२- सागर ढकालले जेनजी आन्दोलन कुनै सम्झौता पत्रमा हस्ताक्षर नै नगरी सरकार गठन भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ढकालले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफुले सबैभन्दा पहिला प्रस्ताव गरेको बताउदैत्यसपछि आफुले कसैलाई मन्त्री बनाउन प्रस्ताव नगरेको स्पष्ट गरेका हुन् । उनले आन्दोलनरत समुहसँग वार्ता गरेर मात्र सरकार गठन हुनुपर्नेमा त्यसो नभएको भन्दै गुनासो गरेका छन् । उनले भनेका छन्- 'आन्दोलनरत समुहसँग वार्ता गरेर मात्र सरकार गठन हुनुपर्ने थियो , त्यो बाँकि नै छ । म आफुले यो आन्दोलनको नेतृत्व नगरेपनि नेतृत्व गर्ने साथिहरुलाई सम्झौता पत्रमा हस्ताक्षर नगरि नफर्कन र चाहेको खण्डमा राष्ट्रपतिलाई सेर बहादुरलाई जस्तै घेराउ गर्न पनि तयार भएको कुरा अनुरोध गरेको थिए, त्यो चाहि सोचे अनुसार भएन। सम्झौता नगरि नै सरकार बन्यो। कानुनको मुख देखाएर दसकौ देखिको उहि समस्या नदेखाउनु होला है शुसिला श्रीमान ।' उनले कार्कीलाई जेनजीका युवाले कानुन कै विज्ञ भएकोले धेरै आशा गरेका छन् र हस्ताक्षर नै नगरी आन्दोलन रोकेको बताएका छन् । साथै सागरले सायद हस्ताक्षर र सहमति नगरी आन्दोलन रोकिने यो विश्वमा विरलै भएको उल्लेख गर्दै राष्ट्रपति अपदस्त भएको हुनुपर्नेमा त्यसो पनि नभएको बताएका छन् ।
३- राष्ट्रपति रामचन्द्र पौडेलले दुई संबैधानिक आयोगका सदस्यले दिएको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति पौडेलले मधेशी आयोगका सदस्य विजय कुमार गुप्ता र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुङ्गेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् । राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २४८ को उपधारा (५) को खण्ड (क) बमोजिम दुवै सदस्यले आफ्नो पदबाट दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको जानकारी दिएको छ ।
४- बलात्कार सम्बन्धी मुद्दामा नाम जोडिएपछि जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव विशेश्वर प्रसाद (वीपी) साहलाई निलम्बन गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले सोमबार निर्णय सार्वजनिक गर्दै, अनुसन्धान पूरा नहुञ्जेल सचिव पद र पार्टीको साधारण सदस्यताबाट समेत साहलाई निलम्बन गरिएको जनाएको हो । अनुशासन समितिले २०८१ चैत ३१ गते साहविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । त्यस सम्बन्धमा भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनुषाले सूचना जारी गरेपछि पार्टीको ध्यान गम्भीर रूपमा आकर्षित भएको समितिले उल्लेख गरेको छ । अनुशासन समितिले साहलाई ७ दिनभित्र लिखित रूपमा स्पष्टिकरण पेश गर्न पनि आग्रह गरेको छ । अनुसन्धान नसकिएसम्म उनीमाथिको पार्टी जिम्मेवारी र सदस्यता निष्क्रिय हुने स्पष्ट गरिएको छ ।
५- जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषबाट एक शव फेला परेको छ । भवनको सफाइ गर्ने क्रममा सोमबार उक्त जलेको शव भेटिएको हो । मोरङ प्रहरीले सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा मानव कंकाल फेला परेको जानकारी दिएको छ । कंकाल जलेर चिन्नै नसकिने अवस्थामा रहेकाले पहिचान पनि हुन सकेको छैन । आन्दोलनका क्रममा आक्रोशित प्रदर्शनकारीहरूको समूहले विराटनगरको भाटभटेनी सुपरमार्केटमा तोडफोड, लुटपाट र आगजनी गरेको थियो । उक्त आगजनीका कारण सुपरमार्केट रहेको भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्रहरीले आगलागीका बेला कोही व्यक्ति भवनभित्र फसेको र उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक आशंका गरको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र हराएका व्यक्तिहरूको बारेमा पनि सोधखोज सुरु गरेको जनाएको छ । यसअघि धरान भाटभटेनीबाट ४ र काठमाडौँको चुच्चेपाटी भाटभटेनीबाट ६ जनाको जलेको शव फेला परेको थियो ।
६- वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतले आफ्नो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु भएको स्पष्ट गरेका छन् । डा. रुइतले एक विज्ञप्ति जारी गर्दै आफुलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिन अनुरोध आउने गरेको उल्लेख गर्दै आफ्नो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु भएको स्पष्ट गरेका हुन् । जेनजी आन्दोलनपछि बन्ने अन्तरिम सरकारमा स्वास्थ्य मन्त्रीमा सामाजिक सञ्जाल र मिडियामा चर्चा हुन थालेपछि डा. रुइतले आफ्नो धारणा स्पष्ट गरेका हुन् ।
७- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको पुनर्निमाण गर्ने रहेको बताए । उनले आफुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुदा प्राप्त गरेको प्राविधिक र व्यवस्थापकीय ज्ञानको प्रयोग गरेर काम गर्ने बताए । उनले जेनजी युवाहरुको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्नु अहिलेको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताएका छन् । घिसिङले तत्काल डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिएका छन् । उनले अहिले देश संकटमा पनि रहेको अवस्थामा उद्योगीहरुले देशलाई सहयोग गरेको सम्झिएर तुरुन्त डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न पनि आग्रह गरेका छन् । घिसिङले पुनर्निमाणको काम तत्काल अगाडी बढाउने, पुनर्निर्माणको लागि हाम्रो सार्बजनिक स्थल हामी आफै निर्माण गरौँ भन्ने अभियान चलाउने बताए । यसका लागि विशेष कोषको व्यवस्था गर्ने र विश्वभर भएका नेपालीसँग सहयोग माग्ने पनि पनि बताए । उनले कोषमा प्राप्त हुने सबै रकमको सहि सदुपयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । घिसिङले भ्रष्टाचार पुर्णरुपमा निर्मुल गर्नुपर्ने बताउदै कुनै पनि निकाय र व्यक्तिले भ्रष्टाचार गरेको भेटिएमा कडा भन्दा कडा कारवाही गरिने बताए । भ्रष्टाचार उन्मुलन गर्ने विषयलाई आफुले जीवनमरणको विषयको रुपमा लिएको बताउदै कसैले यसका लागि सहयोग नगरेमा आफु कडा रुपमा प्रस्तुत हुने उनले बताए । साथै उनले पारदर्शितामा कहीबाट प्रश्न आएमा सिधा आएर आफूसँग कुरा राख्न सबैलाई आग्रह समेत गरे । पदभार ग्रहण गर्दै कुलमानले आफुले पाउने तलब र भत्तासहिदका सुबिधा शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने बताएका हुन् । उनले भने- आज म छुट्टै जिम्मेवारीमा आउनुपर्यो । मैले विषय परिस्थितिमा आएको अवस्थामा आफुले पाउने तलब भत्तासहितका सुबिधा शहिद परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने जानकारी गराउछु । र सुरक्षाको लागि आवश्यक पर्ने सुरक्षाकर्मी सुरक्षाको कारणले लिनुपर्ने बाहेक अन्य नलिने जानकारी गराउछु ।'
८- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्य पसलको सञ्चालन शुरु गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिएका हुन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।
९- नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै पहिलो निर्णय जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने र उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रीपरिषदले निर्णय लिने उनले बताए । त्यस्तै गृहमन्त्री अर्यालले दोस्रो निर्णय आन्दोलनमा मृतक परिवारलाई एक-एक लाखका दरले किरिया खर्च दिने निर्णय पनि गरेका छन् । त्यस्तै उनले तेस्रो निर्णय शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याउने निर्णय पनि गरेका छन् ।
१०- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । मन्त्री खनालले पदभार ग्रहण गर्दै पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री खनालले युवाहरुको बलिदानले आएको परिवर्तनलाई अगाडी बढाउन सहयोग गर्न आएको बताउदै अब हामी साच्चिनै पर्ने बताएका छन् । उनले युवाहरुले सुम्पेको जिम्मेवारीलाई अबदेखि कुनै गल्ति नगरी पुरा गर्न आफु प्रतिबद्ध रहेको बताए । उनले आगामी ६ महिना भित्र निर्वाचन गर्नैपर्ने भएकोले त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । उनले आफु सिंहदरबार छिरेको ४६ बर्ष भएको उल्लेख गर्दै आफुले यस्तो विध्वंस कहिल्लै नदेखेको बताए । उनले अब यो कालोधब्बा अर्थमन्त्रालयबाटै हटाउन शुरु गर्न कर्मचारीलाई निर्देशन दिए । साथै उनले यो काम चलाउ सरकार भएकाले नयाँ सवारी साधन नकिनेर भएका सवारी साधनले काम चलाउन आग्रह गरे । अर्थमन्त्री खनालले भ्रष्टाचार शुन्य गरेर काम गर्ने र आम जनताको सेवालाई सहज गराउन निर्देशन दिए । आफुहरु युवाहरुको प्रतिनिधि भएकाले सरकारले दिने आम जनतालाई दिने सेवा पहिला भन्दा फरक हुनैपर्नेमा जोड दिए । साथै उनले राजश्व उठाउन कडाई गर्नुपर्ने बताए । साथै अर्थमन्त्री खनालले कमर्चारी आफ्नो घरमा नआए आफु खुशी हुने समेत बताए ।
११ - नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्न माग गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गर्न माग गरेका हुन् । उनले अप्रिय लागेपनि दल विना गणतन्त्र बाच्दैन र गणतन्तत्र विना समाज नचल्ने बताएका छन् । उनले समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्ने बताए । उनले भनेका छन्- अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी, कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौ । अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज । समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ ।
१२- सागर डिष्टिलरी लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरल सर्वसाधारणसका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको हो । कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्ने छन् । कम्पनिको शेयर बन्द हुने मिति छिटोमा असोज २ गते र ढिलोमा असोज १३ गते रहेको विक्री प्रबनधक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ । सागर डिष्टिलरी लिमिटेड देवचुली नगरपालिका १ नवलपरासीमा रजिष्टर्ड कार्यालय रहेको छ भने काठमाडौं महनगरपालिका-१ मा कर्पोरेट कार्यालय रहेको छ ।
१३- प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । शित्तल निवासमा आयोजित विशेष कार्यक्रममा अर्थविद रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिएका हुन् । प्रधानमन्त्री कार्कीले अर्थविद रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिएकी छन् भने कुलमान घिसिङलाई, उर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी छन् । त्यस्तै उनले अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।
१४- संघीय संसद् सचिवालय जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सोमबार सूचना जारी गरी संघीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो । सचिवालयले भनेको छ- 'उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।'
१५- नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोशान गरेको हो । नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामन्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ सयले बढेर तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २५७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २५७० मा कारोबार भएको थियो ।
१७- मन्त्री बन्दिन पाए भने प्रधानमन्त्री बन्छु भनेका महावीर पुनले जेनजी युवाहरुको चार प्रतिशत मत पाएपछि अझै मिहिनेत गर्ने बताएका छन् । सामाजिक सञ्जालमा आफुले चार प्रतिशत मत पाएको उल्लेख गर्दै पुनले सबैभन्दा कम भोट आफुले पाएको भन्दै आफु कहाँ रहेछु भन्ने थाहा भएको बताएका छन् । पुनले भनेका छन्- 'कसलाई प्रधानमन्त्री चुन्ने भनेर भाईबहिनीहरुले चुनाव गरेका रहेछन् । यो कुरा मैले अहिले बाटोमा जाँदै गर्दा देखेँ । अनि सबै भन्दा कम भोट (४ प्रतिशत) पाउने ता म पो रहेछु । म निकै खुसी भएँ किन भने म कहाँ रहेछु भन्ने कुरा प्रष्ट संग थाहा पाएँ ।' पुनले कम भोट पाउनुको अर्थ भाइबहिनीको मन जित्ने काम नगरेको भन्ने हो भन्दै अझै कस्सिएर काम गर्ने बताएका छन् । उनले भनेका छन्- 'सबैभन्दा कम भोट पाउनुको मतलब मैले युबा भाईबहिनीहरुको मन जित्ने काम पटक्कै गरेको रहेनछु । त्यसैले अब बीरगञ्ज कृषि औजार कारखाना बीरगञ्जमा, राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौमा र आर्डसिटी इनोभेसन ल्याव पोखरामा अझै कसिएर काम गर्नेछु ता कि भविष्यमा यस्तै भोटिङ हुँदा मैले भाई बहिनीहरूकोअलि धेरै भोट पाउन सकुँ ।'
१८- नेकपा एमालेका नेता महेश बस्नेतले अहिले डराएर घरभित्र लुकेर बस्ने पार्टीका नेताहरुलाई खादा लगाएर बिदा गर्न प्रस्ताव गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो भन्दै घरभित्र लुकेर बस्ने पार्टीका नेताहरुलाई खादा लगाएर बिदा गर्न प्रस्ताव गरेका हुन् । उनले भनेका छन्- पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो। अहिले डराएर घरभित्र लुकेर बस्ने सुदुरमुर्गहरूलाई क्रमश नेतृत्वबाट हटाएर खादा लगाइदिएर विदा गरौं। जटिलताबाट नयाँ नेतृत्व बन्छ तिनलाई स्थापित गरौं ।
१९- नेपाल इन्जिनियर्स एसोसियसनले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका संरचनाको निःशुल्क प्रारम्भिक परिक्षण शुरु गरेको छ । एसोसियसनले विद्यमान जटिल र कठिन परिस्थितिलाई गम्भीरतापूर्वक जिम्मेवारिबोध र आत्मसाथ गर्दै देशैभरि भएका क्षतिको समुचित मूल्याङ्कन तथा आवश्यक पुनर्निर्माण प्रकृयामा निःशुल्क प्राविधिक सहयोग पु-याउने प्रतिबद्धता व्यक्त गरेको छ । यसै सन्दर्भमा एसोसियसनले प्रारम्भिक रूपमा स्वतःस्फूर्त क्षतिग्रस्त भौतिक संरचनाहरूको र्यापिड भिजिअल ड्यामेज एसेस्मेन्ट अभियानको आइतबारदेखिनै शुरुवात गर्दै सर्वोच्च अदालत, काठमाडौ जिल्ला अदालत तथा नेपाल बार एशोसिएसनको भवनको प्रारम्भिक निरीक्षण गरी प्रारम्भ गरेको जानकारी गराएको छ । एसोसियसनले प्राविधिक परिक्षण पश्चात मात्र संरचना प्रयोग गर्न अनुरोध गर्दै अभियानमा क्षतिग्रस्त भौतिक संरचनाहरूको तत्काल अवलोकन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच, वैकल्पिक व्यवस्थापन तथा पुनर्निर्माणको संभाव्यता अध्ययन एवं मूल्याङ्कन गरिने बताएको छ । यस प्रकृयामा आवश्यक प्राविधिक जनशक्ति परिचालनका लागि इच्छुक इन्जिनियर, आर्किटेक्ट तथा संरचनात्मक विशेषज्ञ लगायत अन्य सम्बन्धित प्राविधिकहरूलाई स्वयंसेवकको रूपमा सहभागी हुन समेत आग्रह गरिएको छ । राष्ट्र निर्माणका लागि पेशागत दायित्वबोध गरी देश भरि गर्न लागिएको यस अभियानलाई संवन्धित निकायको साथ, सहयोग, सहकार्य र समन्वय प्राप्त भएको खण्डमा थप उर्जाका साथ निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल इन्जिनियर्स एशोसिएसन तत्पर र प्रतिबद्ध रहेको स्पष्ट गरेको छ ।
२०- बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत भलेन्सियामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ६-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेर्मिन लोपेज, राफिन्हा र रोबेर्ट लेवानडोस्कीले २-२ गोल गरेका थिए । यस सिजनमा बार्सिलोनाको यो ४ खेलमा तेस्रो जित हो । यो जितपछि बार्सिलोनाको ४ खेलमा १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी भलेन्सियाको भने यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि भलेन्सियाको ४ खेलमा ४ अंक रहेको छ र १५औं स्थानमा छ ।
प्रतिक्रिया