नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गर्नुभएको रिट खारेज भएकाे छ । पाेखरेलले प्रहरी महानिरीक्षकमा (आईजीपी) धीरजप्रताप सिंहकाे नियुक्तिविरुद्ध दायर गर्नुभएकाे रिट आज शुक्रवार सर्वाेच्च अदालतले खारेज गरेकाे हाे ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले आईजीपी बढुवाविरुद्ध पोखरेलले दायर गर्नुभएको रिट खारेज गर्ने फैसला गरेको हो । याेसँगै पाेखरेलकाे आईजीपी बन्ने सपना सकिएकाे छ ।
आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज एआईजी पोखरेल पक्षका वकिलले जवाफी बहस गरेसँगै फैसला आएको हो । यस मुद्दामा आज शुक्रवार कामु प्रधानन्यायाधीश नेतृत्वकाे इजलासमा पाँचाैँ पटक सुनुवाइ भएकाे थियाे ।
गएकाे वैशाख १८ गते आईजीपीमा सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी पोखरेलले गएकाे वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । पाेखरेलले रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गर्नुभएकाे थियाे ।
प्रतिक्रिया