सुर्खेत — केन्द्रमा फेरिएको सत्ता समीकरण र प्रादेशिक तहमा भएको आन्तरिक सहमति कार्यान्वयनका लागि कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। बुधबार बिहान मुख्यमन्त्री यामलाल कँडेलसमक्ष उनीहरूले सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै कांग्रेसले सरकार छाड्ने निर्णय गरेसँगै कर्णालीको वर्तमान सत्ता गठबन्धनमा फेरबदल आउने निश्चित भएको छ। कँडेल नेतृत्वको सरकारमा २०८१ साल साउनदेखि सहभागी भएका देहायका मन्त्रीहरूले राजीनामा बुझाएका छन्:
राजीवविक्रम शाह – आर्थिक मामिला तथा योजना मन्त्री (शाह हाल विदेश भ्रमणमा रहेकाले उनको समेत सहमतिमा)
घनश्याम भण्डारी – सामाजिक विकास मन्त्री
सुरेश अधिकारी – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री
विजया बुढा – ऊर्जा तथा जलस्रोत विकास मन्त्री
राजीनामा दिनुअघि बुधबार बिहानका लागि बोलाइएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक नेपाली कांग्रेसका मन्त्रीहरूले बहिष्कार गरेका थिए। मन्त्रिपरिषद् बैठक बस्नुअगावै मुख्यमन्त्रीको कार्यालय पुगेका वनमन्त्री सुरेश अधिकारी र सामाजिक विकासमन्त्री घनश्याम भण्डारी बैठकमा सहभागी नभई राजीनामा पत्र बुझाएर बाहिरिएका थिए।
राजीनामा बुझाएका सामाजिक विकासमन्त्री भण्डारीका अनुसार, मुख्यमन्त्री कँडेललाई भेटेरै राजीनामा बुझाइएको र जनसरोकारका कामहरूलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दै नयाँ राजनीतिक प्रक्रियाका लागि मार्गप्रशस्त गरिएको हो।
कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको संयुक्त गठबन्धन सरकार सञ्चालनमा थियो। एमालेबाट मुख्यमन्त्री कँडेलसहित दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा छन्।
यसअघि दुई दलबीच कर्णाली सरकारको नेतृत्व आधा-आधा कार्यकाल (आलोपालो) सञ्चालन गर्ने आन्तरिक सहमति भएको थियो। पछिल्लो समय पार्टीभित्र मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर समेत निरन्तर प्रश्न उठिरहेको पृष्ठभूमिमा, पूर्वसहमति कार्यान्वयनको चरणलाई अघि बढाउन कांग्रेसले सरकारबाट बाहिरिने परिपक्व निर्णय लिएको बुझिएको छ। कांग्रेसको यो कदमसँगै अब कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
प्रतिक्रिया