×

कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण

images

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच युवा साथीसहित ६,१४५ मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका छन्।

मंसिर २१ गते खुम्बु क्षेत्रमा रहेका महामन्त्री शर्मासहितको टोलीले मंसिर २७ गते राति ११:३० बजे बेसक्याम्पबाट आरोहण सुरु गरेका थिए। टोली मंसिर २८ गते बिहान ६:४५ बजे चुचुरोमा पुगेको थियो।

नेपालका हिमालहरूको सौन्दर्य र जलवायु परिवर्तनको प्रभाव उजागर गर्ने उद्देश्यले आरोहण गरिएको हो। महामन्त्री शर्माले हिमाल आरोहणलाई केवल व्यक्तिगत साहसिक यात्राका रूपमा नभई सामाजिक, पर्यावरणीय, र राजनीतिक चेतनाको माध्यमका रूपमा प्रस्तुत गरेका छन्।

यस आरोहणले जलवायु परिवर्तन, हिमाली समुदायको सम्मान, आन्तरिक पर्यटन प्रवर्द्धन, संसद् सुधार, सामाजिक विकृति विरुद्धको आवाज, भ्रष्टाचारविरुद्धको कडा कदम, र स्थिर संसदीय प्रणालीको खोजी जस्ता विषयमा गहिरो सन्देश प्रवाह गरेको उनको भनाइ थियो।

संसद् दिवसको अवसरमा गरिएको यो आरोहणले सांसद र सरकारलाई वातावरणीय मुद्दाप्रति जिम्मेवार बनाउन प्रेरित गर्ने र नागरिकको विश्वासलाई सुदृढ गर्ने प्रयास गरेको महामन्त्री शर्माले बताए।

दलमा अनुसन्धानकर्ता प्रकाश लामिछाने, इन्जिनियर सुभाष अधिकारी, पदम शर्मा, कीर्तिमानी आरोही मिङ्मा शेर्पा र लाक्पा शेर्पाको पनि सहभागिता थियो। आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको थियो।

यससँगै महामन्त्री शर्मा संघीय संसद्का दुवै सदनको वर्तमान कार्यकालका तर्फबाट लोबुचे हिमाल आरोहण गर्ने पहिलो सांसद बनेका छन्।

शनिबार २९ मंसिर २०८१ ०७:४८ AM मा प्रकाशित

प्रतिक्रिया