काठमाडौँ, २८ कात्तिक : प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदाय गर्ने म्हः (आत्म) पूजा आज साँझ विधिपूर्वक सम्पन्न भएको छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिन्छ । यो वर्ष नेपाल संवत्को पहिलो दिन गर्ने गरिएको छ ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो ।
यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको थियो । यसैगरी एकथरी नेवार समुदायले आज म्हः (आत्म) पूजा गरेका हुन् । अधिकांशले आज म्ह: (आत्म) पूजा गरेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि आज नै म्ह: (आत्म) पूजा गर्नुपर्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया