काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएको छ ।
पार्टीका उपसभापति पूर्ण बहादुर खड्काले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको भन्दै यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको उल्लेख गरेका छन् ।
उनले अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको बताएका छन् ।
उनले जेनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरू देखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको घटना अकल्पनीय र दुःखद घटना निन्दनीय र भत्र्सना योग्य रहेको बताएका छन् ।
विज्ञप्ति:
मुलुकमा विकसित घटनाक्रम सम्बन्धमा नेपाली कांग्रेसले निरन्तर आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै आएको छ । जेएनजी पुस्ताको प्रदर्शन, प्रदर्शनको क्रममा भएको मृत्यु एवं खर्बौंको भौतिक संरचनाको विनाश, कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र अन्य कयौं राजनैतिक नेतृत्व माथिको भौतिक आक्रमण, राष्ट्रपतिद्वारा गरिएको संवाद पहलकदमी, अन्तरिम प्रधानमन्त्रीको घोषणा, प्रतिनिधिसभा विघटन यी समग्र बिषयमा पार्टीको धारणा महामन्त्रीद्वयको वक्तव्यबाट र पछिल्लो समय कार्यसम्पादन समितिको बैठकको निर्णयबाट सार्वजनिक गरिएको छ । वर्तमानमा पार्टीको भूमिका संयोजन गरिरहेको नाताले हाम्रा धारणाहरू बारे कुनै अस्पट्ता र अन्यौल नरहेको सम्बन्धमा हामी स्पष्ट छौं ।
१) जेएनजीद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनमा युवाहरू सहादत हुनु र खबौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्ण क्षति हुनु अत्यन्तै दुःखद थियो । आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मी लगायतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, परिवारजनमा गहिरो समवेदना दोहो¥याउन चाहन्छौ ।
२) उक्त सम्पूर्ण घटनाको छानबिन गर्न हामीले माग गरिसकेका छौं । सरकारलाई पुनः स्मरण गराउँदछौं ।
३) जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरू देखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको छ । यो अत्यन्तै अकल्पनीय र दुःखद घटना निन्दनीय र भत्र्सना योग्य छ । सरकारले क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गरोस् ।
४) लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भत्र्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
यसैगरी पार्टीका अग्रजहरु, नेताहरु, पार्टीका साथीहरु तथा अन्य राजनीतिक दलका नेताहरु माथि भएको भौतिक आक्रमण निन्दनीय र भत्र्सना योग्य छ । उहाँहरु लगायत आन्दोलनका क्रममा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
५) संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ । यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ । अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको स्मरण गराउँदछौं ।
६) समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, युवाहरू एवं पार्टी साथीहरूको भावनालाई सम्मान गर्दै विद्यमान राजनैतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणाहरू तय गर्दै अघि बढ्न नेपाली कांग्रेस दृढ प्रतिबद्ध रहेको स्पष्ट गर्दछ ।
प्रतिक्रिया