नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको नहुने बताउनुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै उहाँले अब उच्च शिक्षा बदल्नका लागि त्रिविकाे पुनर्संरचना गर्नु आवश्यक भएको बताउनुभयो ।
पोखरेलले विश्वविद्यालयमा धेरै काम सेटिङमा हुने भएकाले प्रश्नपत्र बाहिर आउनु एउटा सानो सेटिङ मात्रै भएको दाबी गर्नुभयो । उहाँले कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयलाई 'सेन्टर एक्सलेन्स' बनाएर अन्य क्याम्पसहरूलाई प्रादेशिक विश्वविद्यालय बनाएर प्रदेश सरकारलाई चलाउन दिँदा उच्च शिक्षामा सुधार आउने बताउनु भयो । क्याम्पसका प्राध्यापकहरू राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने भएकाले शिक्षामा गुणस्तर नभएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालयका समस्या अलिअलि औषधि दिएर हल हुने अवस्था छैन । त्रिभुवन विश्व विद्यालयलाई सुधार गर्नका लागि पुनर्संरचनाको आवश्यकता छ । यहाँभित्र धेरै सेटिङ रहेको छ । त्रिभुवन विश्वविद्यालय बदल्ने भनेको उच्च शिक्षा बदल्ने भनेको हो ।’
प्रतिक्रिया