×

ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन'— नेता आङ्देम्बेको सरकारमाथि कडा प्रहार

images

काठमाडौं, असार ३० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार आलोचनाबाट डराएर प्रश्नकर्ताहरूलाई नै निसाना बनाउन थालेको आरोप लगाएका छन्।

विभिन्न सञ्चारगृह तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निवासअगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरेर बाटो छेकेको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नेता आङ्देम्बेले सरकारले डरको वातावरण सिर्जना गर्न खोजेको बताएका हुन्। उनले यस कदमलाई काठमाडौंका मेयर बालेन शाह नेतृत्वको महानगर वा वर्तमान सरकारी प्रवृत्तिसँग जोड्दै तीव्र आलोचना गरेका छन्।

 सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता आङ्देम्बेले लोकतन्त्रमा आलोचना सहनु नै सरकारको सबैभन्दा ठूलो शक्ति हुने उल्लेख गरे। "जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्छ," उनले भनेका छन्। सञ्चारमाध्यम र प्रतिपक्षलाई दबाबमा राख्ने नियतले गेटअगाडि गाडी तेर्स्याइएको दाबी गर्दै उनले अगाडि थपे, "गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास हो। यो घटनाले 'प्रश्न गर्‍यौ भने परिणाम भोग्नुपर्छ' भन्दै तर्साउन खोजेको स्पष्ट पार्छ।"

 प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको वकालत गर्दै आङ्देम्बेले सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभएको प्रष्ट पारे। उनले सरकारलाई ऐनाको उदाहरण दिँदै भने, "उनीहरू जनताका आँखाअगाडि राज्यका कामकारबाही जस्ताको तस्तै देखाउने ऐना हुन्। ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन।"  सहकारी पीडित, मिटरब्याज पीडित, सुकुम्बासी समस्यादेखि मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलले राज्यको दुर्व्यवहार र बेरोजगारीका कारण आत्मदाह गरेको घटनासम्मका विषयमा मिडिया र प्रतिपक्षले निरन्तर आवाज उठाइरहेको उनले स्मरण गराए।

"गाडीले गेट त छेक्न सकिएला तर जन-आवाजहरू छेक्न सकिन्न," नेता आङ्देम्बेले चेतावनी दिँदै भने, "इतिहासले पुष्टि गरेको छ कि गेट छेकिए पनि प्रश्नको बाटो कहिल्यै बन्द हुँदैन।"

उल्लेखनीय छ कि, सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन, कांग्रेस महामन्त्री गगन थापाको निवास र भाटभटेनी सुपरमार्केट अगाडि अज्ञात व्यक्तिहरूले सडकमै टिपर तथा अन्य गाडीहरू पार्किङ गरेर आवतजावतमा अवरोध पुर्‍याएका थिए, जसको चौतर्फी विरोध भइरहेको छ।

मङ्गलबार ३० असार २०८३ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया