काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकका नराम्रा कामको नेतृत्व माओवादीबाट भइरहेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा प्रधानमन्त्री ओलीले कुप्रचार गर्ने, मुद्दा हाल्ने, जनतालाई दुख दिने काम माओवादीको नेतृत्वमा भइरहेको आरोप लगाएका हुन्।
एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय प्रचण्ड र प्रचण्डको नेतृत्व सक्रिय रहेको उनको भनाइ छ। देशमा जुन दिन माओवादी पलायो त्यही दिनदेखि जाली, फटाहा झुट र बेमान तथा कुप्रचारको काम भएको प्रधानमन्त्री ओलीको आरोप छ।
‘यो माओवादी देशमा जुन दिन पलायो, त्यहाँबाट जाली, फटाहा, झुट, बेइमान, मानिसहरूलाई दु:ख दिने, कुप्रचार गर्ने यो सबै काम माओवादीको नेतृत्वमा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘नराम्रा कामहरू जति प्रचण्ड महोदयको नेतृत्वमा भइरहेको छ, उहाँहरूको गिरोह एमाले र मेराविरूद्ध सक्रिय छ।’
राष्ट्रिय भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले समाजमा एआईको प्रयोग गरेर गलत प्रचार हुने गरेको बताए । कूप्रचारमा कसरी मानिस झुकिन्छन् भन्ने बुझाउन प्रधानमन्त्री ओलीले वामदेव गौतमको टेलिफोन सम्वादलाई उदाहरणका रुपमा लिएका थिए ।
ओलीका अनुसार, एआई प्रयोग गरी ओलीकै स्वरमा बनाएको भिडियो हेरेर वामदेव गौतमले प्रधानमन्त्री र एमाले अध्यक्ष पद छोड्न सुझाव दिएका थिए ।
‘अहिले भर्खर म बाटोमा आउँदै थिएँ, बामदेव गौतमजीको फोन आयो’ ओलीले भने, ‘अनि के भन्नुभयो भने, (ओलीकै स्वरमा एआई प्रयोग गरी बनाइएको भिडियोमा भएको कुरा वामदेवले सुनाए) मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिला नै थाहा थियो, तर म चुप लागेँ । कांग्रेसले मारेको भन्ने पहिला नै थाहा थियो, मार्छ भन्ने पनि थाहा थियो ।’
यस्तो भिडियो देखेपछि वामदेव गौतमले राजेश (ओलीको स्वकीय सचिव) भनेर आफैसँग प्रधानमन्त्री र अध्यक्ष छोड्न भनेको प्रसंग ओलीले सुनाए ।‘ वामदेवजीको नम्बरबाट फोन आएपछि राजेशबाट फोन लिएर मैले उठाएँ, के छ हालखबर भनियो । कुरा गर्दै गइयो, ल तिम्रो ठूलोबालाई भन्देऊ । प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देऊ अध्यक्षबाट पनि’ वामदेवले भनेको प्रशंग ओलीले सुनाए ।
तर टेलिफोनमा बोलिञ्जेलसम्म वामदेवले आफूलाई नचिनेको पनि प्रधानमन्त्री ओलीले बताए । ‘अचम्म के लाग्यो भने .. मेरो आवाज चिन्नुभयो यूट्यूबमा बोलेको, म उहाँसँग कुरा गरिरहेको छु, त्यो चाहिँ चिन्नुभएन’ प्रधानमन्त्री ओलीले भने, ‘एआईको जमाना छ, बनायो होला मेरै आवाजमा कांग्रेस र हाम्रो बीचमा लडाईं लगाउने र मलाई डिफेम लगाउने हिसाबले ।’
प्रधानमन्त्री ओलीले यस्तो गलत कामको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरिरहेको पनि आरोप लगाए ।
उनले देशको स्थीरताका लागि कांग्रेस–एमालेबीच सरकार बनेको जिकिर ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताए। प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा समेत जोड दिए।
प्रतिक्रिया