×

ओलीले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरे : भीम रावल

images

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिने कदम स्वेच्छाचारी र अन्यायपूर्ण भएको बताएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्। प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेका उनले  आफूलाई टिकट नदिएर अछामका जनताको  अपमान गरेको टिप्पणी गरे। 

उनले भने, ‘भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो। भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो। तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्। मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’ओलीको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको दाबी गरे। ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको उनको भनाइ छ।

उनले आफूले निर्वाचन नलड्ने भनेर सुनियोजित रूपमै प्रचार गरेको आरोप लगाए। पार्टीका नेताहरूसँग आफूले चुनाव लड्ने तयार गरिरहेको समेत बताए। आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको उनले आरोप लगाए। 'होलीवाइनका प्रवर्द्धकलाई समानुपातिक टिकट दिने, एमालेका कार्यकर्तालाई बर्बरतापूर्वक दमन गर्नेलाई मकवानपुर टिकट दिने र संविधान दिवसलाई कालो दिवस मनाउनेसँग साँठगाँठ गर्ने कुन सिद्धान्तमा पर्छ?', उनले भने।

बिहीबार २७ असोज २०७९ ०१:२८ PM मा प्रकाशित

प्रतिक्रिया