काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आफु अन्तरिम सरकारमा नजाने स्पष्ट गरेकी छन् । मिडिया र सामाजिक सञ्जालमा सुमना मन्त्री बन्न लागेको चर्चा शुरु भएपछि उनले आफु मन्त्रिमण्डलमा नजाने स्पष्ट गरेकी हुन् ।
सुमनाले नयाँ सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको भन्दै यो सरकारलाई असफल हुने छुट नभएको बताएकी छन् ।
उनले भनेकी छन्-
मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन, पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन । हरेक आन्दोलन पछि जसको विरुद्ध आन्दोलन भएको हो त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदुषित भएको छ । यसपालिको आन्दोलनमा म त्यस्तो प्रदुषणको कारक बन्दिन, यसको उपलब्धि संस्थागत गर्न दिलो ज्यान दिएर काम गर्छु । सत्ता होइन, सेवा गर्ने ! कुर्सी होइन, कर्म गर्ने ! नाम होइन, काम गर्ने !
प्रतिक्रिया