×

महाकाली नदीको बहाव बढेपछि बस्ती डुबानमा

images

काठमाडौं । विगत दुई दिनदेखिको अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेर साढे तीन लाख क्युसेक पुगेको छ । नेपाल–भारत सीमा क्षेत्रको बनबसा पुलमा एक लाख क्युसेक पानी पुग्ने बित्तिकै खतराको तहमा पुगेको मानिन्छ । पानीको बहाव बढेपछि बनबसा पुलमा सबै सवारीसाधन र आवतजावत बन्द गरिएको छ ।

बिहान ६ः४० बजे नै महाकाली नदी डडेलधुरास्थित परिगाऊ बाढी मापन केन्द्रमा जल सतह सतर्कता केन्द्र पार गरेको भन्दै जल तथा मौसम विज्ञान विभागले डडेलधुरा र कञ्चनपुरका महाकाली जलाधार क्षेत्रका बासिन्दालाई दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो । निरन्तर पानी परेका कारण नदीको बहाव बढने क्रम जारी छ ।

बिहान ९ः३० बजे २ लाख ४ सय क्युसेक मापन गरिएको पानीको बहाव १२ बजे ३ लाख ५० हजार पुगेको छ । योसँगै दोधारा–चाँदनी नगरपालिका वडा नं १० कुतियाकबरमा महाकालीको बाढीले जोगबुढा नदी थुनिँदा डुबान भएको छ भने भीमदत्त नगरपालिका १० र ११ वडा क्षेत्रमा भुजेला नाला थुनिँदा डुबान भएको छ । भुजेला क्षेत्रमा इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोली गएर उद्धार गरिरहेको छ । पुनर्वास नगरपालिकाको सिमरी र त्रिभुवन बस्ती क्षेत्रमा पनि डुबान भएको छ । महेन्द्रनगर बजार क्षेत्रकै केही स्थानहरूमा समेत डुबान भएको छ ।

शुक्रबार​ २८ भदौ २०८१ ०७:१२ PM मा प्रकाशित

प्रतिक्रिया