काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् ।
शनिबार वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको बताउदै फागुन २१ गते हुने चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका हुन् । उनले संविधान बचेको, संसदीय प्रणाली बचेको र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको बताउदै ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएको बताएका छन् ।
राष्ट्रपति पौडेलले भनेका छन्- 'देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् । तसर्थ, बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।'
शुक्रबार रति राष्ट्रपति पौडेलले जेनजी समुहले प्रस्ताव गरे अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारीसहित अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले गरेको प्रतिनिधिसभा बिघटनको सिफारिश राष्ट्रपति पौडेलले सदर गरेका थिए र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनको मिति तोकेका थिए ।
कार्कीको नियुक्तिलाई सहज रुपमा लिएपनि प्रतिनिधि बिघटन गर्ने निर्णयप्रति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलले असहमति जनाएका छन् ।
प्रतिक्रिया