काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउँदै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जिकिर गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक अधिकांश स्थानमा विद्युत् आपूर्ति सहज रूपमा भइरहेको जानकारी दिएका थिए । उनले भने- 'हामीले सुधारलाई तीव्रताका साथ अघि बढाएका छौं र विद्युत् उत्पादनलाई निरन्तरता दिएका छौं। त्यसैले लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु ।'
मन्त्री खड्काले विद्युत् आपूर्ति र विस्तारमा सरकारले तीव्र गति ल्याएको र वर्तमानमा १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको जानकारी पनि दिएका थिए। साथै, १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको पनि उनले बताए ।
उनले भने- 'विद्युत् निर्यात र आयातको सन्दर्भमा हामीले ५ अर्ब रुपैयाँको मुनाफा लिइरहेका छौं। देशभरका केही क्षेत्रमा अझै विद्युत् पुर्याउन बाँकी रहेको भए पनि ती ठाउँहरूमा पनि आपूर्ति जारी छ ।'
मन्त्री खड्काले सरकारको ऊर्जा क्षेत्रमा भइरहेको सुधारका कदमलाई निरन्तरता दिने र सबै नागरिकलाई विश्वास दिलाउने गरी कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया