×

नाउपाको अध्यक्षको रुपमा रञ्जितालाई आयोगको मान्यता

images

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षको रुपमा रञ्जिता श्रेष्ठलाई नै मान्यता दिएको छ ।

 आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यता दिन अस्वीकार गरेको आयोग स्रोतले जानकारी दिएको छ । नाउपाको भेलाले श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो । 

पार्टी संरक्षक रेशम चौधरी समुहको भेलाले साउन १६ गते लालवीर चौधरीलाई अध्यक्षतामा सर्वसम्त चयन गरेर आयोगमा जानकारी गराएको थियो । त्यसपछि संस्थापक अध्यक्ष रहेकी रञ्जिताले पनि निर्वाचन आयोगमा आफु अध्यक्ष रहेको दाबीसहित निवेदन दिएकी थिइन् । दुवैको निवेदन परेपछि दुवैसँग जवाफ मागेको आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिएको छ ।

रञ्जिता विवादित अडियो प्रकरणमा मुछिएपछि विवादमा रहेकी छन् भने उनी अख्तियारको छानविनको दयारामा समेत रहेकी छन् ।

 

बुधबार २९ साउन २०८२ १२:४० PM मा प्रकाशित

प्रतिक्रिया