काठमाडौँ। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा बुधबार साँझ ललितपुरबाट पक्राउ परेका वरिष्ठ पत्रकार एवं जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले श्रेष्ठमाथि थप अनुसन्धान गर्न म्याद लिनका लागि कडा सुरक्षाबीच दिउँसो अदालत पुर्याएको थियो। अदालतका न्यायाधीशले प्रहरीको मागबमोजिम श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन ७ दिनको म्याद अनुमति दिएका छन्।
श्रेष्ठलाई अदालत उपस्थित गराउने क्रममा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, र प्रेस सेन्टर नेपाल आबद्ध सयौँ पत्रकारहरू अदालत परिसरमा भेला भएका थिए। समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिएको भन्दै उनीहरूले राज्यविरुद्ध चर्को नाराबाजी र विरोध प्रदर्शन गरेका छन्। पत्रकार संगठनहरूले प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर प्रहरीले सिधै धरपकड गरेको भन्दै श्रेष्ठको बिनासर्त तत्काल रिहाइको माग गरिरहेका छन्।
हालै जनआस्था डटकम र त्यसको सामाजिक सञ्जाल पेजमा एक जना महिलाको तस्बिरसहित चरित्रहत्या हुने र वैयक्तिक गोपनीयतामा आघात पुग्ने सामग्री प्रकाशित गरेको भन्दै दीपिका सिंहले प्रहरीमा जाहेरी दिनुभएको थियो। सोही उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले बुधबार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। यही प्रकरणलाई लिएर आज बिहान प्रहरीले सानेपास्थित जनआस्थाको कार्यालयमा समेत छापा मारी कम्प्युटर र इलेक्ट्रोनिक उपकरणहरू जफत गरिसकेको छ।
प्रतिक्रिया