काठमाडौँ, २९ असार । नेपाली बजारमा हिजो (आइतबार) बढेको सुनको भाउ आज सोमबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो।
मूल्य गिरावट भएसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि आइतबार तोलामा ६ सय रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि व्यापक गिरावट आएको छ। सोमबार चाँदीको भाउ तोलामा १ सय रुपैयाँले घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा झरेको छ। हिजो आइतबार पनि चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको थियो। यसरी हेर्दा पछिल्लो दुई दिनमै चाँदीको भाउ तोलाको १ सय ३५ रुपैयाँले घटिसकेको छ।
नेपाली सुनचाँदी बजारको इतिहासलाई हेर्दा गत माघ १५ गते सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी, गत माघ १५ गते नै चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दु प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। तर, त्यसको लगत्तै माघ १८ गते चाँदीको मूल्यमा तोलामा १५ सय ६५ रुपैयाँको ऐतिहासिक गिरावट समेत दर्ता भएको थियो।
प्रतिक्रिया