×

कांग्रेस विवाद : पहिलो चरणको वार्ता सकियो, बनेन सहमति

images

काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि भएको नेपाली कांग्रेसका नेताहरुबीचको वार्ता दिउँसो फेरि बस्ने गरी सकिएको छ । आज (मंगलबार) भएको पहिलो चरणको वार्तामा दुवै पक्षले आफ्नो–आफ्नो प्रस्ताव राखेको, तर सहमतिमा भने पुग्न नसकिएको बताइएको छ ।

पार्टीको विवाद मिलाउन संस्थापन र विशेष महाधिवेशन पक्षबीच भएको पहिलो चरणको छलफल सकारात्मकरुपमा टुंगिएको हो। अब दिउँसो साढे २ बजे फेरि वार्ता हुने नेता रमेश लेखकलले जानकारी दिए । उनका अनुसार वार्ता सकारात्मक छ । 

मंगलबार बिहान साढे ८ बजेबाट साढे ११ बजेसम्म लाजिम्पाटमा पार्टीभित्रको तीन पक्षका ८ जना नेताबीच संवाद भएको हो। छलफलमा सभापति शेरबहादुर देउवा पक्षीय नेता रमेश लेखक, बालकृष्ण खाण, नेता शेखर कोइराला पक्षीय सहमहामन्त्री जीवन परियार, नेता मीनेन्द्र रिजाल, महामन्त्रीद्वय पक्षीय नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी थिए । 

विशेष पक्षले सभापति देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका थिएनन् । संस्थापन पक्षले कार्यसम्पादन समितिबाट बैशाखमा नियमित महाधिवेशन गर्ने भन्दै मिति सार्वजनिक गरेपछि गगन विश्वले विशेष महाधिवेशन आयोजना गरेका हुन् ।

कांग्रेसका ५१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिएका छन् । संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ । संस्थापन र विशेष पक्षको यो वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने छ ।

मङ्गलबार २९ पुस २०८२ १२:४५ PM मा प्रकाशित

प्रतिक्रिया