काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ आइतबार सार्वजनिक गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेको थियो । त्रिविको सयौं रोपनी जग्गा पहुँचवालले अतिक्रमण गरेको औंल्याइएको प्रतिवेदन २०८१ मंसिर तत्कालिन सरकारले सार्बजनिक गरेको थिएन । तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । त्यसपछि २०८१ असोज ३१ देखि लागु हुने गरि समितिको म्याद २ महिना थपेको थियो भने बाँकी समयका लागि समितिको सदस्य महेन्द्र कुमार थापालाई संयोजक तोकिएको थियो । छानबिन समितिले करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण गरिएको खुलासा गरेको छ । जग्गा छानबिन तथा खोजबिन समितिले विश्वविद्यालय आसपास करिब एक हजार रोपनी जग्गा हराएको, अन्य ठाउँमा लगभग एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको र ललितपुरका लुभु तथा पुल्चोकमा करिब ४ सय रोपनी जग्गा वर्षौंदेखि भोगचलनबाहिर रहेको पत्ता लगाएको थियो । समितिमा जानकीबल्लभ अधिकारी तथा त्रिविका विज्ञका रूपमा डा. प्रेमसागर चापागाईं सदस्य थिए । त्यस्तै शिक्षा मन्त्रालयकीई उपसचिव सुशीला अधिकारी सदस्य सचिव रहेकी थिइन् ।
२- सर्वोच्च अदालतले जेनजी आन्दोलनपछि असोज २८ गतेदेखि नियमित मुद्धा दर्ता र सुनवाई हुने भएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै सर्वोच्चले भदौ २३ र २४ गतेको घटनापछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाई बाहेकका सबै कार्य हालसम्म स्थगन रहेकोमा असोज गतेबाट दर्ता एवम् सुनुवाई हुने र अन्य सेवाहरु पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने जानकारी दिएको हो । सर्वोच्च अदालतले भनेको छ: मिति २०८२।५।२४ गते यस अदालतमा भएको आगजनी ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट हुन गएको क्षतिको कारण बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाई बाहेकका सबै कार्य हालसम्म स्थगन भइरहेकोमा आज मिति २०८२ । ०६ । २६ मा बसेको पूर्ण बैठकको निर्णयानुसार यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरु मिति २०८२।६।२८ गतेबाट दर्ता एवम् सुनुवाई हुने र अन्य सेवाहरु पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।
३- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख तीन नेतालाई बिदाइ गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेतालाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन् । महामन्त्री थापाले १० वर्ष शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पालै पालो प्रधानमन्त्री पद लिइरहेको कारण आजको समस्याको प्रमुख कारण भएको बताएका छन् । आफुलाई कांग्रेसको एक कार्यकर्ताले भनेको कुरा राख्दै महामन्त्री थापाले भने- 'अझै पनि तपाईंहरू चेत्नुहुन्न? बिदाइ लिनुहुन्न? अझै पनि तपाईंहरूले उहाँहरूलाई हटाउनुपर्दैन? म सुन्छु तपाईंहरू अझै अधिवेशन, विशेष अधिवेशनको कुरा गर्दै हुनुहुन्छ ।' अहिले टेक्निकल कुरा देखाएर शिर्ष नेताहरु पनि नहटेको र आफुहरुले हटाउन पनि नसकेको बताएका छन् । उनले आफ्ना नेताहरुलाई सम्मान गरेर तिनै दलका प्रमुख तीन नेतालाई हटाउन प्रारम्भ गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले जेनजी समुहका युवाहरुलाई पनि संवाद गर्न आग्रह गर्दै निर्वाचनको विकल्प नभएको बताएका छन् ।
४- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । इ–सिगरेटमार्फत सुन तस्करी प्रकरणमा महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पक्राउ गरेको हो । महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गरिररहेको थियो । ब्यूरोले केहि दिन अघि महरासँग बयान समेत लिएको थियो । यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
५- बेलायतको वेल्स, ब्रेकनमा आश्विन २३ गतेबाट आश्विन २५ गतेसम्म सञ्चालन भएको 'एक्सरसाइज कम्ब्राइन पाट्रोल २०२५' मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्क सहित स्वर्ण पदक प्राप्त गरेको छ । उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ । दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ । यससँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।
६- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेका अध्यक्ष दाहाललर फागुन २० गते राष्ट्रियसभाको एक तिहाइ सदस्यको म्याद सकिने भएकाले ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानको बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् । छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभाको निर्वाचनका साथै राष्ट्रियसभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट बानेश्वरस्थित संसद् भवन ध्वस्त भएकाले हलको व्यवस्थापन भएपछि राष्ट्रियसभाको बैठक बोलाउने तयारी भएको उनले बताएका छन् ।
७- आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्सको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा ओमानले दिएको १७३ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउदै १३८ रन बनाएको हो । कतारका लागि यस खेलमा शारिक मुनिरले ३४ रन बनाए भने मुहमद असिम र शाहजैब जामिलले २१-२१ रन बनाए । त्यस्तै ओमानका बलर जितेन रमानान्दीले ३ विकेट लिए भने सुफयान मेहमूदले २ विकेट लिए । यस अघि ओमानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाउदै १७२ रन बनाएको थियो । ओमानका लागि कप्तान जतिन्दर सिंहले सर्बाधिक ६६ रन बनाए भने आर्यान बिष्टले ३४ र विनायक शुक्लाले ३० रन बनाए । त्यस्तै कतारका बलर मिर्जा मोहमद बैगले ४ विकेट लिएका थिए । यो जितपछि ओमानको सुपर सिक्समा ४ अंक भएको छ ।
८- नेप्सेमा आज पहिरो गएको छ । आइतबार नेप्से ७८.८३ अंकले घटेर नेप्से २५०३.३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर घटेको छ । आज नेपाल माइक्रो इन्सुरेन्स कम्पनिको सेयर सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर ४.९० प्रतिशतले बढेको छ । त्यस्तै आज बुटवल पावरको शेयर मुल्य सबैभन्दा बढी ९.२७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको ३८ करोड ७ लाख र एनएलजी इन्सुरेन्सको ३७ करोड १७ लाख बराबरको कारोबार भएको छ ।
९- गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत ४८ बन्धकहरूको रिहाइ सोमबार बिहान सुरु हुने भयेक छ छ, जसमा २० जना बाँचेका र २८ जनाको शव हस्तान्तरण गरिनेछ । इजरायली सेनाले शुक्रबार दिउँसोसम्म गाजाबाट आफ्नो प्रारम्भिक फिर्ता पूरा गरेको छ, जसले हमासलाई फिर्ता पूरा गर्न ७२ घण्टाको समय दिएको छ । त्यस्तै सोमबार, गाजा युद्ध अन्त्य गर्ने सम्झौतामा छलफल इजिप्टमा हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहित २० भन्दा बढी विश्व नेताहरूले सो छलफलमा भाग लिने भएका छन् । सो छलफल इजिप्टको शर्म अल-शेखको सुन्दर रेड सी रिसोर्टमा हुनेछ । अर्कोतर्फ, हमासले सोमबार इजिप्टमा तय भएको गाजा शान्ति शिखर सम्मेलनको आधिकारिक हस्ताक्षर समारोहमा भाग लिन अस्वीकार गरेको छ । हमासले ट्रम्पको योजनाका केही अंशहरूसँग असहमत भएको बताएको छ । हमासले आफुहरुले गाजा छोड्नु पर्ने र निशस्त्रीकरण हुने विषयमा आफुहरु असहमत रहेको बताएको छ ।
१०- अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानी आक्रमणको प्रतिकारमा ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेको छ । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार काबुलमा एक पत्रकार सम्मेलनको क्रममा प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकीहरू कब्जा गरिएको थियो, तर लडाईं समाप्त भएपछि फिर्ता गरिएको बताएका हुन् । उनले ५८ पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरे । मुजाहिदको दावीको बारेमा पाकिस्तानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यद्यपि, गृहमन्त्री मोहसिन नक्वीले शनिबार राति अफगानिस्तानको कारबाहीको प्रभावकारी रूपमा बदला लिइएको दाबी गरेका थिए । प्रवक्ता मुजाहिदले झडपका क्रममा नौ तालिबानी कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि बताएका छन् । मुजाहिदले आइएसआइएसको प्रमुख पाकिस्तानमा रहेको र संगठन अझै पनि खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सक्रिय रहेको समेत दाबी गरेका छन् । उनले आइएसआइएस अफगानिस्तानबाट हटाइएको दाबी अग्र्दै आइएसआइएसका तालिम केन्द्रहरू पाकिस्तानमा अवस्थित रहेको र अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनुपर्ने बताएका छन् । उनले अफगान विदेशमन्त्रीको भारत भ्रमण कुनै पनि देशविरुद्ध निर्देशित नभएको र कसैले पनि यसमा आपत्ति जनाउनु नहुने समेत बताए ।
११- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगति बारे जानकारी लिनुकासाथै स्थानीयसँग छलफल गरेका छन् । करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७-६८मा पप्पु महादेवखिम्ती संयूक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ । लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङ अव यसको विस्तृत रुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए । उनले भने- 'पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे तत्काल निर्णय लिनेछौं, जनजीविकासँग जोडिएको रणनीतिक महत्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौं,चाँडै निकास दिन्छौं ।’ स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती बेहोर्नु परेको, व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमासमेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न माग गरिएको थियो । निर्माण व्यवसायीकातर्फबाट २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटीलाई सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संसोधनवमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको विमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी रहेको छ ।
१२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशाकीय अधिकृत, लेखापा र रौतहट एडभरटाइजिङ एजेन्सीका संचालक अजित कुमार कर्णविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियार नगरपालिकाको ठेक्काको विज्ञापन प्रकाशित गर्दा २ लाख ५७ हजार ९७० रकम अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ । उनीहरुले राष्ट्रिय दैनिक पत्रिकामा ठेक्काको सुचना प्रकाशित गर्नुपर्नेमा सिटी पोष्ट दैनिक जस्तो देखिने सिमित प्रति प्रकाशित गरेर सूचना लुकाएको अख्तियारले आरोप लगाएको छ । अख्तियारले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ र लेखापाल रामबलम प्रसाद तथा रौतहट एडभरटाइजिङ्ग एजेन्सीका सञ्चालक अजित कुमार कर्णविरुद्ध मुद्धा दायर गरको जनाएको छ ।
१३- सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीहरुले दामोदर हिमश्रृंखला अन्तर्गत पर्ने चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन् । असोज २५ गते विहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराइएको हो । पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिृद्धि हुन्छ भन्ने विश्वासका साथ गरिएको आरोहरणले पर्यटन प्रवद्धनमा कोेशेढुङ्गा समेत सावित हुने तथा पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा संचालन भईरहेको पर्वतीय उद्धार तालिमको लागि आवश्यक पर्ने प्रशिक्षकहरुको उत्पादनमा समेत ठुलो भूमिका निर्वाह गर्ने विश्वास लिईएको छ । केही समय अगाडी सशस्त्र प्रहरी बल, नेपालले चुलु फार ईस्ट हिमाल आरोहण गर्न अनुमति खुल्ला गर्ने प्रक्रियामा पहल गरेको थियो । त्यसको फलस्वरुप सशस्त्र प्रहरी बल, नेपाललाई आरोहण गर्ने अवसर मिलेको हो । यसभन्दा अघि चुलु ईस्ट हिमालको अनुमति लिएर चुलु फार ईस्ट हिमालको आरोहण गर्ने प्रचलन थियो । सशस्त्र प्रहरी बल, नेपालको यस आरोहण पश्चात चुलु फार ईस्ट हिमाल आरोहण गर्ने कानुनी हिसावमा बैधानिकता समेत प्राप्त गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना, निम तेम्वा शेर्पा र सुम्बा छिरी शेर्पाको गाइडलाईन्समा फोर्टिन, पिक्स एक्सपीडिसन मार्फत उक्त हिमाल आरोहण गरेका थिए ।
१४- भारतविरुद्धको जारी दोस्रो टेस्टमा वेस्ट इन्डिज फलोअनमा परेको छ । पहिलो इनिंगमा २४८ रन बनाएर अलआउट भएपछि भारतले वेस्ट इण्डिजलाई फलोअन दिदै फेरी ब्याटिंगका लागि बोलाएको छ । वेस्ट इन्डिजका लागि पहिलो इनिंगमा एलिक अथानाजेले सर्बाधिक ४१ रन बनाए भने शाइ होपले ३६ रन बनाएका थिए । त्यस्तै भारतीय बलर कुलदीप यादवले ५ विकेट लिए भने रविन्द्र जडेजाले ३ विकेट लिएका थिए । यसअघि भारतले आफ्नो पहिलो इनिंगमा ५ विकेट गुमाउदै ५१८ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिंगको ब्याटिंग समेत शुरु गरेको छ । दुई खेलको सिरिजमा वेस्ट इन्डिज १-० ले पछि रहेको छ ।
१५- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन् । आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघका नेताहरुले उनीहरुविरुद्ध जाहेरी बुझाएका हुन् । नेविसंघका केन्द्रीय सदस्यहरू मनिश जंग थापा, अशोक सिंह बिष्ट र बिजय शाहले बालेन र सुदनविरुद्ध किटानी जाहेरी दिएका हुन् । उजुरी पछि केन्द्रीय सदस्य विष्टले २४ घण्टाभित्र जाहेरी दर्ता गरेर घटनामा संलग्नहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेको बताएका छन् । भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएकोमा उनीहरुलाई जिम्मेवार ठहर गर्दै कारवाहीको माग गरिएको छ । जाहेरीमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उस्काएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउनमा भूमिका खेलेको उल्लेख गरिएको छ । यसअघि एमाले निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो । प्रहरीले अहिलेसम्म जाहेरी दर्ता भने गरेको छैन ।
१६- चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर निर्णयको कडा आलोचना गरेको छ । चीनले अमेरिकाले मनमानी दोहोरो मापदण्ड अपनाएको आरोप लगाउदै चीनले हाल जारी रहेको द्विपक्षीय वार्तालाई असर पुग्ने बताएको छ । ट्रम्पले शुक्रबार नोभेम्बर १ देखि चीनबाट उत्पन्न हुने सबै उत्पादनहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । उनले अमेरिकी सफ्टवेयर र प्रविधिमा कडा निर्यात नियन्त्रणको पनि घोषणा गरेका छन् । ट्रम्पले यो कदम चीनको आक्रामक व्यापार नीतिहरूको प्रतिक्रिया भएको बताएका छन् । उनले बेइजिङले दुर्लभ खनिजहरूको निर्यातमा प्रतिबन्ध लगाएर विश्वलाई बन्धक बनाउन खोजिरहेको आरोप लगाएका छन् । चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ- 'अमेरिकी निर्णयले चीनको हितलाई गम्भीर रूपमा हानि पुर्याउनेछ र द्विपक्षीय व्यापार वार्तालाई बिगार्नेछ । चीन लड्न चाहँदैन, तर यो डराएको पनि छैन । आवश्यक परेमा, प्रतिशोधात्मक उपायहरू लिइनेछ ।' बेइजिङले अमेरिकाले निरन्तर चिनियाँ कम्पनीहरूलाई प्रतिबन्ध र निर्यात नियन्त्रण सूचीमा राखिरहेको आरोप पनि लगाएको छ, जसले व्यापार सम्बन्धलाई अस्थिर बनाउने बताएको छ । चीनले चेतावनी दिदै अमेरिका पछि हटेन भने, यसले अमेरिकी जहाजहरूमा विशेष बन्दरगाह शुल्क लगाउने र आफ्नो हितको रक्षा गर्न ठोस कदम चाल्ने बताएको छ ।
१७- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार अस्पताल भर्ना भएका महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल आइतबार डिस्चार्ज भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । शनिबार जेनजी प्रतिनिधिलाई वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेल स्वास्थ्य अवस्थामा समस्या आएपछि उनीहरूसँग वार्ता नै नगरी अस्पताल पुगेका थिए ।
१८- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग तत्काल एकता गरेर अगाडी बढ्नुपर्ने आन्तरिक तयारी गरेपछि माओवादीसँगको एकता स्वीकार्य नभएको भन्दै फरक मत सार्वजनिक गरेका हुन् । श्रीमतीको उपचारका लागि भारतको दिल्लीमा रहेका खनालले पार्टी एकीकरण गर्ने मौसम नभएको बताएका छन् । जारी रहेको पार्टी बैठकमा एकताबारे छलफल र गृहकार्य समेत भइरहेको अवस्थामा खनालले भारतबाट पदाधिकारीहरूलाई पत्र लेख्दै आफ्नो धारणा पठाएका हुन् ।
१९- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३८ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ३५ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ३१२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३०८५ मा कारोबार भएको थियो ।
२०- जेनजी आन्दोलनका क्रममा भदौं २३ र २४ गतेको प्रदर्शनका क्रममा भौतिक संरचनामा भएको क्षतिको २३ अर्ब २२ करोड ८७ लाख बराबरको बिमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्बजनिक गरेको असोज २३ गतेसम्मको विवरण अनुसार सो दाबि गरेको हो । जसमा अहिलेसम्म विभिन्न बीमा कम्पनिहरुले एक अर्ब ५८ करोड ५६ लाख भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । यस अनुसार दाबि परेको रकमको केवल ६.८२ प्रतिशत मात्र अहिलेसम्म भुक्तानी भएको छ । २३ असोजसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी १ अर्ब ३२ करोड ७२ लाख सम्पत्ति बीमा (घरसम्पत्ति) अन्तर्गतको रहेको छ । सम्पत्ति बीमामा सबैभन्दा बढी १९ अर्ब ६ करोड ७६ लाख दाबि परेको छ । त्यस्तै मोटर बीमामा ३ अर्ब ४१ करोड ६ लाख दाबि परेकोमा २४ करोड ९१ लाख मात्र अहिलेसम्म भुक्तानी भएकोछ । भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीहरूले उल्लेख गरेका छन् । गत २३ र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिमा परेको बिमा दाबीमध्ये साना प्रकृतिका सबै दाबी तिहारसम्म भुक्तानी दिइसक्ने नेपाल बिमक संघले यसअघि नै बताइसकेको छ । बिहीबारसम्म बिमा कम्पनीहरूमा ३ हजार ९९ वटा दाबी परेका छन् । तीमध्ये दुई हजारभन्दा बढी दाबी साना प्रकृति (दुई करोडभन्दा कमका) रहेको र तिनको भुक्तानी आउँदो तिहारसम्म गरिसक्ने बताइएको छ । जेनजी आन्दोलनका क्रममा करिब ८० अर्ब बराबरको क्षति भएको नेपाल उद्योग वाणिज्य संघको प्रारम्भिक अनुमान रहेपनि क्षतिको २० देखि २५ प्रतिशत मात्र बिमा भएको देखिएको छ ।
प्रतिक्रिया