×

बालेन र सुदनविरुद्ध नेविसंघको पनि जाहेरी

images

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन् ।

आइतबार काठमाडौं परिसर पुगेर उनीहरूविरुद्ध नेविसंघका नेताहरुले उनीहरुविरुद्ध जाहेरी बुझाएका हुन् । नेविसंघका केन्द्रीय सदस्यहरू मनिश जंग  थापा, अशोक सिंह बिष्ट र बिजय शाहले बालेन र सुदनविरुद्ध किटानी जाहेरी दिएका हुन् । उजुरी पछि केन्द्रीय सदस्य विष्टले २४ घण्टाभित्र जाहेरी दर्ता गरेर  घटनामा संलग्नहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेको बताएका छन् ।

भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएकोमा उनीहरुलाई जिम्मेवार ठहर गर्दै कारवाहीको माग गरिएको छ ।

जाहेरीमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उस्काएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउनमा भूमिका खेलेको उल्लेख गरिएको छ ।

यसअघि एमाले निकट अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो । प्रहरीले अहिलेसम्म जाहेरी दर्ता भने गरेको छैन ।

आइतबार​ २६ असोज २०८२ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया