काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैली र प्रणालीमाथि भीषण प्रहार गर्दै "यो सरकार हाम्रो होइन, नेपालीहरूको सरकार होइन" भनी गम्भीर आरोप लगाउनुभएको छ ।
आइतबार झापाबाट काठमाडौँ आइपुग्नासाथ विमानस्थलको आन्तरिक टर्मिनलभित्रै नागरिक उद्धार महाअभियानको ब्यानर र पोस्टर टाँसेर पत्रकार सम्मेलन तथा प्रदर्शन गर्ने तयारी गरिरहेका प्रसाईंलाई काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको कमान्डमा खटिएको टोलीले विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो । निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले आफ्नै गाडीमा राखेर उनलाई भक्तपुरको थिमिस्थित निवास पुर्याएर छाडेको थियो ।
प्रहरीले आफ्नो वाक स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको भन्दै आक्रोशित बनेका प्रसाईंले घर पुग्नासाथ आपत्कालीन पत्रकार सम्मेलन गरी सरकारको कडा आलोचना गर्नुभयो ।
आत्मदाहको शृङ्खला र जरिवाना आतङ्कमाथि प्रसाईंको गर्जन
पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले पछिल्लो समय काठमाडौँमा भएका आत्मदाहका शृङ्खलाहरू र गरिबमाथिको दमनलाई लिएर सरकार र काठमाडौँ महानगरमाथि आक्रामक टिप्पणी गर्नुभयो, त्रिपुरेश्वरमा ट्राफिक र नगर प्रहरीको जरिवानाका कारण आत्मदाह गरेका २५ वर्षीय राइडर गणेश नेपालीको प्रसङ्ग जोड्दै प्रसाईंले भन्नुभयो— "सरकारले अहिले गणेश नेपालीको परिवारलाई जागिर दिन्छौँ, क्षतिपूर्ति दिन्छौँ, बच्चा पढाइदिन्छौँ भन्छ । तर बच्चाहरू पढाउनका लागि के सबै नेपालीले आत्मदाह नै गर्नुपर्ने हो त ? के यो देशमा गरिबले बाँच्नै नपाउने हो ?"
विश्वका अन्य देशमा सडक पूर्वाधार बनाएर मात्र नियम उल्लङ्घन गर्नेलाई जरिवाना गरिने भए पनि नेपालमा खाल्डाखुल्डी सडकमा गरिबलाई चुस्नकै लागि आवश्यकताभन्दा बढी जरिवाना थोपरिएको उहाँको दाबी छ । उनले थपे— "गणेशले जरिवाना तिर्न नसकेर ज्यान फाले, उनीहरूजस्ता भुइँमान्छेलाई लुट्ने यस्तो व्यवस्था त राक्षसहरूको भूगोलमा पनि हुँदैन।"
देशमा चरम आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर र सहकारी ठगीका कारण दैनिक २२ देखि २५ जना मानिसले झुण्डिएर ज्यान गुमाइरहेको दाबी गर्दै सरकारले त्यसतर्फ आँखा चिम्लेको आरोप प्रसाईंले लगाउनुभयो।
"विदेशीलाई आश्रय, नेपालीलाई सुकुम्बासी बनाउने सरकार"
प्रसाईंले सरकारको राष्ट्रिय नीतिमाथि पनि गम्भीर प्रश्न उठाउनुभयो :
काठमाडौँका विभिन्न स्थानमा तिब्बती र रोहिंग्या शरणार्थीहरूलाई आश्रय दिएर राखिएको तर आफ्नै देशका नागरिक (सुकुम्बासी र घरबारविहीन) लाई भने खोलाको डिलबाट समेत लखेटेर पानीमा भिजाइएको भन्दै उनले आक्रोश पोखे । उनले भावुक बन्दै भने— "यो कस्तो विडम्बना हो? विदेशीले यहाँ शरण पाउने, तर नेपालीले खोलाको किनारमा पनि बास नपाउने ? भोको पेट जाडोमा पानीमा भिजेका ती बच्चाहरूको अवस्था कस्तो होला ? यस्तो हृदयविदारक कथामा त अमेरिकाका निर्देशकले ओस्कार जित्ने फिल्म बनाउन सक्थे "
"बालेन शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्छ"
राजनीतिक भविष्यवाणी गर्दै प्रसाईंले वर्तमान सरकार धेरै दिन नटिक्ने दाबी गर्नुभयो । "यो सरकार दसैँसम्म मात्र टिक्छ, टिकाएर देखाऊ । जुन बाटो (बम, बारुद, आगोको लप्का र स्टन्ट) बाट यो सत्तामा आएको थियो, त्यही तरिकाले यो ढल्दै छ । अर्काको घरमा आगो लगाउन त तिमीहरूले नै सिकाएका हौ नि !"
प्रसाईंले सरकारले आफूलाई 'भँडुवा' को ट्याग भिडाएर विभिन्न झुटा मुद्दामा फसाउन खोजेको तर आफू जनताको आवाज उठाउनबाट पछि नहट्ने र आगामी दसैँ अगावै यो व्यवस्था विरुद्ध देशव्यापी सशक्त आन्दोलन छेड्ने घोषणा गर्नुभयो ।
प्रतिक्रिया