गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम सरकारको बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक स्थगित भएको छ। सत्ता पक्ष र विपक्षी दलका सांसदहरूको विरोधका कारण बजेटमाथि अहिलेसम्म छलफल हुन सकेको छैन।
लगातार स्थगित भएर आज ११ बजे बोलाइएको बैठक आज पनि स्थगित भएको छ। गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए। बैठक सुरु गर्न १४ जना सदस्य चाहिने भएपनि त्यति पनि उपस्थित नभएपछि स्थगित गरेर आजै अर्को बैठक ३ बजेको लागि बोलाइएको छ।
बजेटमाथिको छलफल गर्ने कार्यसूची रहेकोमा अर्थमन्त्री प्रकाश रावल नै उपस्थित भएनन्। बैठकमा एमाले, जसपा र लोसपाका सांसद पनि आएनन्। उनीहरू प्रतिपक्षी हुन्। सत्ता पक्षमा रहेका कांग्रेसका एकजना पनि पुगेनन्। माओवादी केन्द्रका ६ जना र नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुख सचेतक दुर्गा विक मात्रै थिइन्।
बैठक बस्नुअघि सरकारका प्रतिनिधिले दलहरूसँग छलफल गरेका थिए। माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा छन्। माओवादीमै पनि केही सांसद दुई धारमा छन्।
कार्य व्यवस्था परामर्श समितिमा प्रमुख सचेतक अक्कल रावल र वीरमान चौधरीले यसको विरोध गरेका छन्। सत्तारुढ एकीकृत समाजवादीकै दुई मन्त्रीबाहेकका अधिकांश प्रदेशसभा सदस्यहरू बजेटप्रति रुष्ट छन्।
उनीहरूले हिजो अध्यक्ष माधवकुमार नेपाललाई पनि यस विषयमा गुनासो पोखेका छन्। कांग्रेसले यसअघि नै यथास्थितिमा बजेट पारित गर्न नसकिने जनाइसकेको छ। यता विपक्षी दलहरू एमाले, जसपा र लोसपा पनि यसको विरोधमा छन्। उनीहरूले हिजोको प्रदेशसभा बैठक पनि बहिष्कार गरेका थिए।
प्रतिक्रिया