काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिले नाम दर्ता गर्ने क्रम आज बिहानैदेखि सुरु भएको छ । आइतबारदेखि सुरु भएको उक्त महाधिवेशनमा आइतबार मात्र दुई हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएका छन ।
आइतबार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)बाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराएका थिए ।
कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहले नाम दर्ता गराउनका लागि भिन्दाभिन्दै आठ स्टलको व्यवस्था गरेको थियो । विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले आज बिहान ८ः३० बजेदेखि नै नाम दर्ता सुरु गरिएको जानकारी दिए । उनले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज नाम दर्तालाई निरन्तरता दिएको बताए। उक्त नाम दर्ता बिहान ११ बजेसम्म सञ्चालन हुने संयोजक पाण्डेयले बताए । कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आज बन्दसत्र हुनेछ ।
बिहान ८ बजेदेखि बन्दसत्र गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारण बन्दसत्र कार्यक्रम केही समयलाई लम्बिएको आयोजकले जनाएको छ । बन्दशत्रमा दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। कार्यविधि बनाएर सुरु हुने बन्दशत्रले निर्वाचन समिति पनि बनाउनेछ। देशभरिबाट जम्मा भएका प्रतिनिधिहरूले पार्टीको नीति, नेतृत्व र विधानबारे ठोस निर्णय गर्नेछन्।
महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र शरू हुनेछ। आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ।
चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए । नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए । नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको धारणा छ।
यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरु आज बिहान मात्रै आइपुगेकाले उनीहरुले बिहान ८ बजेदेखि शुरू भएको दर्तामा सहभागी भएका हुन् । उक्त कार्यक्रम ११ बजेसम्म हुने व्यवस्था मिलाइएको हो।
प्रतिक्रिया