काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब पनि एमाले र कांग्रेसले नै देश चलाउने बताएका छन् । बिहीबार ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा उनले अहिले केही क्षणलाई ग्रहण लागेजस्तै मात्रै भएको बताए । ओलीले भने, ‘एमाले र नेपाली कांग्रेस देशका दुई प्रमुख पार्टी हुन् । ऐतिहासिक पार्टी हुन् । इतिहासमा योगदान गरेका, जनाधार भएका पार्टी हुन् । आज एकछिन सूर्यग्रहण लागे जस्तै हो ।’
फेरि पनि देश दुई पार्टीले नै चलाउने ओलीको दाबी छ । ‘आँधी, तुफान चले जस्तै हो । फेरि पनि हुने भनेको एमाले कांग्रेस नै हुन । भोलि पनि यो देश चलाउने,’ ओलीले भने । अन्तर्क्रियामा बोल्दै ओलीले आफू भागेको नभई राजनीतिक षड्यन्त्र र घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको बताएका हुन् ।
आफ्नो बचाउका क्रममा अध्यक्ष ओलीले महाभारतको ‘लाक्षागृह’ को प्रसङ्ग कोट्याए । उनले विपक्षी गठबन्धनका नेताहरूलाई कौरव पक्षका दुर्योधन, शकुनि र दुशासनसँग तुलना गर्दै आफूलाई पाण्डवसँग दाँजे ।
'भाग्न त कौरवहरूले–दुर्योधन, शकुनि र दुशासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोज्दा पाण्डवहरू पनि एकतिरबाट आगो लगाएपछि अर्कातिरबाट भाग्दिए,’ ओलीले भने, 'भागेकै हुन् पाण्डवहरू। तर उनीहरू कातर भएर भागेको होइन, बुद्धि पुर्याएर भागेका हुन् ।’ उनले आफूलाई चौतर्फी घेराबन्दी गरेर सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि बालुवाटार छोड्नुपरेको तर्क गरे। 'दुष्टहरूको घेराबन्दी तोड्नु पर्दो रहेछ, त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दो रहेछ, जस्तो पाण्डवले पारेका थिए,’ उनले थपे ।
ओलीले आफू त्यतिबेला कामचलाउ प्रधानमन्त्रीकै हैसियतमा रहेको भन्दै भाग्यो भन्ने टिप्पणीलाई अस्वीकार गरे। उनले प्रश्न गरे, ’म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर प्रधानमन्त्री हुन्छ? प्रधानमन्त्री भाग्यो भनेको केयरटेकर भएर भाग्छ ?’
विपक्षीहरूले आफूलाई जितेर लखेटेको नभई आफूले नै मुकाम परिवर्तन गरेको उनको दाबी थियो। 'मैले किन बालुवाटार छोडे भन्दा नछोड्न सक्थेँ,’ ओलीले भने, 'वल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन ?’
विपक्षीहरूले ‘ओली भाग्यो’ भन्दै गरेको टिप्पणीप्रति व्यङ्ग्य गर्दै उनले यसलाई केटाकेटीको रमाइलोसँग तुलना गरे। 'भाग्यो, भाग्यो भन्दा बच्चाबच्चीहरू खुसी हुन्छन् क्या! उसले खेदे जस्तो गर्छ, आफू कुद्दिनु पर्छ,’ ओलीले भने, ’म कार्यवाही प्रधानमन्त्री चलाइराखेको छु, भाग्यो कसरी ?’
साथै ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा करकापपूर्ण सहमतिको प्रयास नहुने बताएका छन्। यद्यपि, सहमति हुन नसकेको खण्डमा करकाप नगरी स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व छानिने उनले स्पष्ट पारेका छन्।
उनले प्रतिनिधिहरूले विश्वास गरेमा आफ्नो पार्टी अध्यक्ष पद निरन्तर रहने स्पष्ट गर्दै भने, ‘म थपिनेवालमा पर्दिन, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ। लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन, त्यस कारण सहमतिमा जाँदा मैले छाड्ने सहमति भयो भने पनि म हट्ने स्थिति बन्न सक्छ, अथवा प्रतिनिधिले साथ नदिए, भोट नदिए हट्ने सम्भावना हुन सक्छ।’
एमाले विरुद्ध करौँती जस्तो नीति बनाइएको भन्दै उनले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यासलाई रोकेर सहमति गराए भन्ने आरोप लाग्ने गरेको र मतदानमा जाँदा पनि भाँडभैलो भयो भन्ने आरोप लाग्ने गरेको गुनासो गरे। यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उनले स्वच्छ प्रतिस्पर्धा वा बिना करकाप नेतृत्व छानिने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै उनले एमालेप्रति बाहिर विशेषगरी विपक्षी पक्षले गलत धारणा निर्माण गरेको आरोप लगाए। उनले भने, ‘हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । एमालेको सम्बन्धमा नेपालमा एउटा आम नीति बनेको छ करौतिजस्तो; यता तान्दा पनि काट्छ, पछाडि धकेल्दा पनि काट्छ, अगाडि तान्दा पनि काट्छ । हामी दबावयुक्त सहमति होइन, दबावबिनाको स्वच्छ सहमतिको पक्षमा छौँ । पार्टीको महाधिवेशन यथास्थितिका लागि होइन, फेरबदलका लागि हो।’
ओलीले राष्ट्रहित, सुशासन र विकासका एजेन्डामा एमाले स्पष्ट रहेको बताए। उनले भने, ‘हामी यो देशको रक्षा, राष्ट्रिय हित, सुशासन र विकासको लागि, लोकतन्त्र र त्यसलाई आवश्यक प्रणाली अन्तर्गत लैजानुपर्छ भनेर मान्छौँ। त्यसमा नेतृत्व र अनुशासनको कुरा स्वाभाविक रूपमा उठ्छ । हामीले धेरै राजनीतिक उतारचढाव देखेका छौँ।’
वर्तमान सत्ता-व्यवस्थालाई फेद् न टुप्पोको भन्दै उनले तालमेल कमजोर रहेको आरोप लगाए । उनले मिडिया ट्रायल प्रचलन बढेको भन्दै एमाले अनावश्यक विवाद सिर्जना गरेर प्रचार केन्द्र बन्न नचाहने बताए। अध्यक्ष ओलीले अहिलेको सरकार कसैले टपक्क टिपेर टाँसिदिएको सरकार भएको बताए। ‘यो फेद न टुप्पोको सरकार हो,’ उनले भने।
कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर-माउर देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए। उनले व्यङ्ग्य गर्दै भने, ‘नागपञ्चमीतिर गोबर लगाएर नाग टाँसे जसरी कसले ल्याएर टाँसिदिएको सरकार हो, यहाँ नागको फोटो कसले टाँस्यो ? खोज्दै छु म।’
कसैले भोट नहालेको सरकारले व्यवस्थाको बारेमा सहमति गर्ने कुनै हैसियत नराख्ने उनले बताए। रिहर्सलमा सिकाएको पाठ केटाकेटीले गर्दै जाँदा बिगारेको उनले भनाइ छ। ‘त्यहाँ गरिएको सहमति त्यहीँ च्यातेर हिँडे त,’ उनले भने। हैसियत बिनाको व्यक्तिले विना प्रक्रिया अनधिकृत रूपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्ने उनको धारणा छ। उनले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने ठोकुवा गरे। अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको उनले स्पष्ट पारे।
प्रतिक्रिया