×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ ।  मंगलबार पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता गराएका छन् । अनुरोध पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिन समेत अनुरोध गरिएको छ । आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी उक्त अनुरोध सहितको पत्र बुझाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

२- सर्वोच्च अदालतले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको छ । साथै इजलासले यस रिटमा कारण देखाउ आदेश समेत दिदै मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुको कारण सोधेको छ । एमाले संसदीय दल नेता यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विवादस्पद तरिकाले संविधानको धारा १६८ को ३ उपधारा अनुसार सबैभन्दा ठुलो दल एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर एक होटलमा शपथ गराएपछि विवाद भएको छ ।

३-  नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक निरन्तर जारी रहेको छ । मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारसहित ११ केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । आजको बैठकमा सहमहामन्त्रीद्वय पाण्डे र परियारसहित केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।  कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अर्को बैठक बुधबार बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव पौडेलले जानकारी दिएका छन् । 

४- अखिल नेपाल फुटबल संघ (एन्फा) १२० दिनभित्र शहीद स्मारक ए डिभिजन लिग सुरू गर्न सहमत भएको छ । मंगलबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा भएको बैठकमा एन्फाले अबको १२० दिनभित्र ए डिभिजन लिग गर्न सकिने बताएको हो । बैठकमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले १२० दिन भित्र लिग गर्न सकिने बताएका हुन् । मन्त्री गुप्ताले एन्फालाई लिग मिति प्रस्ताव गर्न निर्देशन दिएपछि महासचिव राईले उक्त अवधिको प्रस्ताव गरेका हुन् । एन्फाका महासचिव राईले क्लबहरुसँगको सहमतिमा नै आफुहरुले यसअघि मिति तय गरेकाले अहिले पनि क्लब तयार भएमा एन्फा लिग गर्न तयार रहेको धारणा राखेका थिए । छलफलमा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसँगै खेलाडी संघका अध्यक्ष विक्रम लामासहित तीनवटै विभागीय टोलीका प्रतिनिधि र अन्य केही क्लबका प्रतिनिधि सहभागी थिए । कार्तिक १७ मा एन्फा र ए डिभिजन क्लबहरुबीच भएको सहमति अनुसार २०८३ को पुसदेखि ए डिभिजन गर्ने निर्णय गरेपछि खेलाडी आन्दोलित भएका छन् । पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन ।

५-  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ । मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ । राप्रपा नेपालका अध्यक्ष थापा पछिल्लो केहि समयदेखि नै एकतामा जोड दिदै आएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले पनि विचार मिल्ने शक्तिहरु एक हुनुपर्नेमा जोड दिदै आएका छन् ।

६- पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । स्थानीय समय अनुसार दिउँसो १२: ३९ बजे अदालतमा आत्मघाती हमला भएको छ । प्रहरीले विस्फोटको स्रोत अहिलेसम्म पत्ता लगाएको छैन, तर अदालतलाई वकिल, न्यायाधीश र सर्वसाधारणबाट खाली गराइएको छ । प्रहरी र उद्धार टोलीले घटनास्थलमा प्रमाण सङ्कलन गरिरहेको छ, जबकि घाइतेहरूलाई अस्पताल लगिएको छ । समाचार एजेन्सी रोयटर्सले प्रहरी प्रवक्तालाई उद्धृत गर्दै केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताएको छ । इस्लामाबाद जिल्ला अदालतको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो, जहाँ सामान्यतया अदालतको कार्यवाहीमा उपस्थित हुने मानिसहरूको भीड हुन्छ ।

७- प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा दीपक अर्याल, रेक्टर प्रा खड्ग केसी,  रजिस्ट्रार प्रा केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा छलफलमा मुख्य सचिव एकनारायण अर्याल, जग्गा खोजबिन समितिका पदाधिकारीहरुको पनि उपस्थिति थियो । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा हालसम्म भएको प्रगतिबारे जानकारी माग गर्दै आगामी प्रक्रियाका विषयमा चासो राखेकी थिइन् । उनले प्रतिवेदन सार्वजनिक भएपछि के कति फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढेको छ र दोषीमाथि कारबाहीको प्रक्रिया केके भयो भनेर जिज्ञासा राखेकी थिइन् । त्रिविका पदाधिकारीले विश्वविद्यालयको जग्गा ओगटेर बसेकाहरुलाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोगको अपेक्षा रहेको बताए ।  गृहमन्त्री अर्यालले लगत कायम गर्ने प्रक्रियामा विश्वविद्यालय आफै अग्रसर हुनुपर्ने र किर्ते गरी जग्गा हडपिएको छ भने प्रत्येक घटनाको अलगअलग मुद्दाका रुपमा सीआईबी लगायत निकायमा जाहेरी दिनुपर्ने बताए । जग्गा अपचलनमा सीआईबीको विशेषज्ञता र अनुभव पनि रहेकाले कारबाही अघि बढाउन तयार रहेको उनको भनाइ थियो । मुख्य सचिव एकनारायण अर्यालले प्रतिवेदनमा औँल्याइएका विषयमध्ये ६० प्रतिशत काम विश्वविद्यालय आफैले गर्न सक्ने बताए । सबै कामका लागि सरकारको मुख ताक्न नहुने उनको धारणा थियो । शिक्षामन्त्री पुनले यो विषय धेरै नतन्काइकन गर्न सक्ने काम तुरुन्तै गरिहाल्नुपर्ने र यसका लागि सबै सरोकारवाला निकायहरुको प्रतिनिधि रहने गरी कार्यदल बनाउनुपर्ने प्रस्ताव राखे । प्रधानमन्त्री कार्कीले असम्बन्धित संघसंस्था र व्यक्तिहरुले त्रिविको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन समेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिए । साथै यसमा जोजो दोषी भए पनि तत्काल कठघरामा उभ्याउनुपर्ने उनको निर्देशन छ ।

८-  राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेका छन् । सरकारको सिफारीस अनुसार राष्ट्रपति पौडेलले कर्णलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्ण मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । लाभलाई राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको शपथ समेत गराएका छन् । शपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कर्णलाई राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार मानिन्छ । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए । सरकारले सोमबार मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको थियो ।

९-  नेप्सेमा आज सामान्य बढेको छ । मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५. १६ विन्दुमा पुगेर रोकिएको छ । आज ३२७ कम्पनिका ७९ लाख ४७ हजार ५८ कित्ता शेयर ३ अर्ब ६२ करोड ५१ लाख ७५ हजार ११० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, लगानी, माइक्रोफाइनान्स र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज शाइन रेसुंगा डिभन्चेर, बन्दीपुर केवलकारको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र माबिलुंग इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बुङ्गल हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ ।  त्यस्तै आज एसवीआई बैंक डिभेन्चरको शेयरमा ९.३९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सहास उर्जाको ३५ करोड ५८ लाख कारोबार भएको छ भने राढ़ी बिद्युतको ३२ करोड ३२ लाख बराबर कारोबार भएको छ ।

१०- मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरू रिट लिए सर्वोच्च अदालत पुगेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरू सर्वोच्च पुगेका हुन् । रिटमा मधेशका ७४ प्रदेश सांसदको हस्ताक्षर छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेता सर्वोच्च पुगेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउन ५४ सांसद आवश्यक पर्दछ । प्रदेशमा एमालेका सभामुखसहित २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, एकीकृत समाजवादीका ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका एक एक सांसद छन् । यसमध्ये एमालेका सांसद दीपेन्द्र ठाकुर, जसपाका सांसद सरोजसिंह कुशवाह, लोसपाका सांसद अभिराम शर्मा निलम्बित छन् । मधेश प्रदेशसभामा हाल कायम रहेको सदस्य संख्या १०४ रहेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले नेता सरोज यादवलाई सोमबार बर्दिबासको एउटा होटलमा मुख्यमन्त्रीको शपथ गराएपछि मधेशको राजनीति तरंगित बनेको छ । यसै विषयमा केन्द्र सरकारले एक्सन लिएर प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त समेत गरिसकेको छ ।

११-  भारतको दिल्लीमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा दुई महिला थपिएका छन् । बीस जना घाइतेको उपचार भइरहेको छ भने दुई जनाको शव पहिचान भइसकेको र बाँकीको डीएनए परीक्षण मार्फत पहिचान गरिने भारतीय मिडिया दैनिक भास्करले उल्लेख गरेको छ । सोमबार साँझ लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै चलिरहेको कारमा शक्तिशाली विस्फोट भएको थियो । विस्फोटमा सेतो आई २- कार प्रयोग गरिएको खुलेको छ । कालो मास्क लगाएका एक व्यक्ति मेट्रो स्टेशन पार्किङबाट बाहिर निस्कँदै गरेको कारमा बसिरहेको देखिएको थियो । उनको पहिचान पुलवामाका निवासी डा. मोहम्मद उमर नबीको रूपमा गरिएको छ । प्रहरीले उमरले आफैंलाई विस्फोटक पदार्थले विस्फोट गराएको अनुमान गरिएको छ । कश्मीर प्रहरीले डीएनए परीक्षणको लागि पुलवामामा उनकी आमा र दुई भाइहरूलाई हिरासतमा लिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार प्रारम्भिक प्रहरी अनुसन्धानले विस्फोटमा अमोनियम नाइट्रेट, इन्धन र डेटोनेटर प्रयोग गरिएको खुलासा गरेको छ । यसैबीच, भुटानको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले दिल्ली विस्फोटमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरे । उनले सम्पूर्ण राष्ट्र दिल्ली विस्फोटबाट प्रभावित परिवारहरूको साथमा उभिएको बताउदै दोषीहरूलाई नछोडने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१२-  जेन-जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ । मुभमेन्टका प्रवक्ता विजय साहले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङलाई बर्खास्त  गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको हो । घिसिङसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड बराबर नोक्सान हुने गरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै जेन–जी मुभमेन्टले उनलाई बर्खास्त गर्न माग गरेको हो । विज्ञप्तिमा भनिएको छ- 'ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ। विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’ जेन–जी मुभमेन्टले प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्न माग पनि गरेको छ । मुभमेन्टले जेन-जी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरु देश लुट्न उद्धत रहेको पुरा यसबाट पुष्टि भएको भन्दै घिसिङ र सिलवाललाई कारवाही नगरेकठोर संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

१३- प्रधानमन्त्री सुशिला कार्कीले भारतको नयाँ दिल्लीमा भएको विस्फोटबाट स्तब्ध र मर्माहत भएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्:  हिजो साँझ भएको दुखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु । शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ ।

१४-  नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४९ सयले बढेर तोलाको २ लाख ४६ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४१ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ३१७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३०६५ मा कारोबार भएको थियो ।

१५- अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म कुल ग्रस कमाइ ३ करोड ७१ लाख ३६ हजार ५५३ रुपैयाँ छ । शनिबार मात्र फिल्मले १ करोड २० लाख कमाइ गरेको थियो । त्यस्तै परानका हालसम्म एक लाख २८ हजार ६७९ टिकट बिक्रि भएका छन् । बाबु-छोराको भावनात्मक सम्बन्धमा आधारित फिल्म 'परान' ले हलमा दर्शकलाई तानिरहेको छ । दीपक प्रसाद आचार्यको निर्देशनमा बनेको फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ लगायतको पनि अभिनय रहेको छ । त्यस्तै अनमोल केसीको फिल्म 'जेरी अन टप' घरेलु बक्स अफिसमा यस बर्ष धेरै कमाई गर्ने फिल्म बनेको छ । चलचित्र विकास बोर्डले सार्बजनिक गरेको कार्तिक २२ गते शनिबारसम्मको आधिकारिक ग्रस कमाइमा जेरी अन टपले देशभर ११ करोड ७१ लाख ४१ हजार ४९८ रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको ३ लाख ७५ हजार ८१ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ । त्यस्तै हाल प्रदर्शनमा रहेको फिल्म वरिष्ठ बलरामले २ करोड ५६ लाख ५७ हजार ९२९ ग्रस कमाइ गरेको छ । त्यसैगरी फिल्म मैझारोले एक करोड ४ लाख २९ हजार २८८ र फिल्म सोल्टिनीले २९ लाख ५ हजार ९५६ ग्रस कमाई गरेको बोर्डले जानकारी दिएको छ ।

१६- राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ । ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिंदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको,सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ । आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल—रमण जेभीले कार्यसम्पादन जमानत वापत राखेको २ अर्ब ४० करोड र अग्रिम भुक्तानीको १ अर्ब २० करोड गरी ३ अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आयोजनामा निर्माणमा अस्वाभाविक ढिलाई देखएपछि गत ७ असोजमा मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, आयोजनाका प्रमुख,परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । सुरुङ निर्माण सम्पन्न भइसकेको तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका आयोजनालाई नयाँ सिराबाट अगाडि विकल्प नहरको बताएका थिए । आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब ८ करोड ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । पटेल—रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ २०७९बाट काम सुरु गरेको थियो । असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख थियो । तर, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ । हालसम्म २ अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको छ । आयोजनाको १३.३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो । सुरुङ २६ वैशाख २०८१मा छिचोलिएको थियो । सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्याइने छ । हाल सिँचाइ भएको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कूल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ । सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाटको जलविद्युत उत्पादन गरिने छ । मधेश प्रदेशका उर्वर भूमि रहेका पाँच वटा जिल्लामा वर्षैभरी सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादकत्वको बृिद्ध किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार, जलविद्युतसमेत उत्पादन गरी सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सुन्तुलनमा समेत योगदान दिने भएकाले सुनकोशी मरिणलाई राष्टिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रुपमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

१७- अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियरले दुई महिनामा लगभग आधा बरफ गुमाएको छ । यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा छिटो र सबैभन्दा डरलाग्दो हिमनदी पतन हो । कोलोराडो बोल्डर विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले पत्ता लगाएको छ कि हिमनदी अचानक यसको मुनि समतल चट्टानको सतहको कारण तैरिन थाल्यो र यो केही हप्तामा आठ किलोमिटर पछि हट्यो । यो घटना जलवायु परिवर्तन र समुद्री सतह वृद्धिको लागि एक गम्भीर विश्वव्यापी संकेत हो । वैज्ञानिकहरूले स्वीकार गर्छन्, दुई महिनामा हिमशिलाको पतन एक गम्भीर समस्या हो । पूर्वी अन्टार्कटिकामा अवस्थित हेक्टोरिया ग्लेशियरले २०२३ को सुरुमा मात्र दुई महिनामा ११५ वर्ग माइल बरफ गुमायो, यो एक नयाँ चेतावनी हो । नेचर जियोसाइन्समा प्रकाशित एक रिपोर्टले वैज्ञानिकहरूले विभिन्न उपग्रहहरूबाट डेटा संयोजन गरेर सम्पूर्ण घटनाको विश्लेषण गरेको बताउँछ । यदि उपग्रह छविहरू तीन-महिनाको अन्तरालमा लिइएको भए, यो द्रुत परिवर्तन पत्ता लाग्ने थिएन । 'जब हामीले २०२४ को सुरुवातमा यो दृश्य प्रत्यक्ष देख्यौं, तब हाम्रो आँखाले विश्वास गर्न गाह्रो भयो। वास्तविक दृश्य हामीले उपग्रहहरूमा देखेको भन्दा पनि भयानक थियो । यसले हामीलाई हल्लायो,' सिरेजका प्रमुख अनुसन्धानकर्ताले भनेका छन् । वैज्ञानिक समुदायले यो घटनालाई पृथ्वीको जलवायु प्रणालीको अस्थिरताको स्पष्ट संकेतको रूपमा हेरिरहेको छ । यो अन्टार्कटिकाको बरफको पाना भविष्यको लागि मात्र होइन, विश्वव्यापी जलवायु नीतिको लागि पनि चिन्ताको विषय हो । अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् कि यदि अन्य ठूला हिमनदीहरूमा यस्तै घटनाहरू दोहोरिए भने, विश्वव्यापी समुद्री सतह वृद्धि तीव्र हुन सक्छ र अपरिवर्तनीय हुन सक्छ । हेक्टोरिया ग्लेशियरको पतन केवल एक वैज्ञानिक घटना मात्र होइन, तर मानवजन्य जलवायु परिवर्तनको जीवित उदाहरण हो ।

१८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका छन् । प्रधानमन्त्री मोदीले भुटान पुगेर भनेका छन्- 'म भुटान पुगेको छु । स्वागतको लागि म प्रधानमन्त्री तोब्गेप्रति आभारी छु । यो भ्रमणले दुई देशबीचको मित्रता र सहयोगको गहिरो बन्धनलाई प्रतिबिम्बित गर्दछ ।' प्रधानमन्त्री मोदीले उनको भ्रमणले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

१९- काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन थालिएको छ । धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव काफ्लेका अनुसार लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको १ हजार १६० मिटर लामो सडक पनि कालोपत्रे हुनेछ । स्थानीयबासीले आफ्नो नामको जग्गा सडकमा रहेको दावी गरिरहेको यो विवादित सडक खण्डको करिब १९० मिटर सडक गएको महिना कालोपत्रे गरिएको छ । यो सडक खण्डमा ९ मिटरदेखि १४ मिटरसम्मको चौडाइ छ । बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे पकनाजोल, चाक्सीबारी देखि जेपी चोकसम्म, कुलेश्वर फलफुल बजार, बालाजु हाइटको गणेश मन्दिर देखि नागार्जुन पर्खालसम्म, शितला मार्गदेखि पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ । पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने महानगरपालिकाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्व रुपियाँ खर्च हुने अनुमान गरिएको छ । महानगरपालिकाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२  गरी ७ वटा वडा पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड रुपियाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपियाँ रहेको छ । कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभिले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रका लागि पीआर के एण्ड के जी एण्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपियाँमा सम्झौता भएको छ । यस क्षेत्रका लागि ७४ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । निर्माण पक्षलाई २०८२ बैशाख ४ गते कार्यादेश दिइएको छ । यो कामको म्याद २०८४ वैशाख मसान्तसम्ममा रहेको छ । उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ ।  मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल–युएसजी–आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो ।

२०- काठमाडौँ । बलिवुड अभिनेता धर्मेन्द्रको मृत्यु भएको खबरको उनकी पत्नी तथा अभिनेत्री हेमालिनी र छोरी इशा देओलले खण्डन गरेका छन् । भारतीय मिडियाहरुले धर्मेन्द्रको टिमलाई उधृत गर्दै धर्मेन्द्रको निधन भएको समाचार प्रशारण प्रकाशन गरेका थिए ।  धर्मेन्द्रको स्वास्थ्य खराब भएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा सोमबारदेखि भर्ना गरिएको छ । उनको आइसियुमा उपचार भइरहेको छ । समाचारको खण्डन गर्दै छोरी इशाले भनेकी छन्:  मिडिया अत्यधिक सक्रिय भएको छ र गलत समाचार फैलाइरहेको छ । मेरो बुबा स्थिर हुनुहुन्छ र निको भइरहनुभएको छ । म सबैलाई हाम्रो परिवारलाई केही गोपनीयता दिन अनुरोध गर्दछु । बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद ।' त्यस्तै हेमा मालिनीले मिडिया च्यानलहरूलाई हप्काउदै भनेकी छन्: जे भइरहेको छ त्यो अक्षम्य छ । जिम्मेवार च्यानलहरूले उपचारमा प्रतिक्रिया दिइरहेको र निको भइरहने पुरुषको बारेमा कसरी गलत समाचार फैलाउन सक्छन् ? यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ । कृपया परिवार र उनीहरूको गोपनीयताको आवश्यकताको सम्मान गर्नुहोस् ।'

 

मङ्गलबार २६ कात्तिक २०८२ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया