×

सरकारी कार्यालयहरु खुल्न थालिसक्दा सिंहदरबारमा छैन चहलपहल

images

दशैँ सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भने त्यति बाक्लो चहलपहल देखिँदैन ।  नेता र मन्त्रीहरु निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको हो । 
मन्त्रीहरु निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड कम छ । मंगलवार पनि सिंहदरबारमा मानिसहरुको आवतजावत निकै कम देखिएको छ । आइतवार कोजाग्रत पूर्णिमादेखि दशैँ औपचारिक रुपमा सकिएपनि सरकारी कामकाज शुरु भइसक्दा समेत दशैँ बिदामा गएका कर्मचारीहरु फर्किसकेको अवस्था छैन भने मन्त्रीहरु पनि निर्वाचनका लागि दौडिरहँदा मन्त्रालयमा आउने सेवाग्राही तथा सर्वसाधारणको भीडभाड घटेको हो ।

 हाल मन्त्रालयहरूमा सीमित कर्मचारीहरुलाई मात्रै देख्न तथा भेट्न सकिन्छ । यता पछिल्लो केही दिनयता देशभर वर्षा हुँदा भएको जनधनको क्षतिका कारण पनि  नेता तथा मन्त्रीहरु विभिन्न जिल्लामा पुगिरहेका छन् । वर्षाका कारण सडकहरू भत्किँदा कतिपय सहजै, समयमै राजधानी काठमाडौं फर्किन सकिरहेका छैनन् । यसले पनि सिंहदरबार जानेहरुको संख्या घटाएको छ । 

दैनिक हजारौँको संख्यामा मानिसहरु सिंहदरबार प्रवेश गर्ने भएपनि अहिले फाट्टफुट्ट मात्रै मानिसहरु र सवारी साधनहरु देख्न सकिन्छ । मंगलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका मन्त्रालयको अवस्था हेर्दा कर्मचारी तथा सेवाग्राहीहरुको संख्या न्युन मात्रामा देखियो ।  –न्युज एजेन्सी नेपाल

मङ्गलबार २५ असोज २०७९ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया