×

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ४ गते तथ्य खोल्छु- केपी शर्मा ओली

images

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अगामी जेठ ४ गते तथ्य खोल्ने बताएका छन्।

बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ४ गते तथ्य खोल्ने बताएका हुन्।

उनले भने, ‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु। चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो? कसले पठायो? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु।’ 

ओलीले शरणार्थी प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने बताउँदै दोषीलाई छोडेर निर्दोषलाई फसाउने खेल भए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

‘दोषीलाई छोड्न खोजियो भने दृढतापूर्वक त्यसको विरूद्ध उभिन्छौं। आन्दोलनमा उत्रिन्छौं,’ उनले भने, ‘निर्दोषलाई फसाउन खोजियो भने त्यसमा पनि हाम्रो समर्थन रहँदैन, हाम्रो विरोध हुन्छ। निर्दोषलाई दोषी बनाउन खोज्नु अर्को अपराध हो।’ 

उनले सरकारी पक्ष कसलाई जोगाउने र कसलाई समात्ने भन्ने खेलमा लागेको बताए। टोपबहादुर रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी जारी हुँदा केही मानिसहरूले चम्कीचम्की वक्तव्यबाजी गरेको ओलीले बताए। 

‘तर म संयमित भएर  प्रधानमन्त्रीलाई नै भेटेर दोषी नउम्कियोस्, निदोर्ष नफसुन् भनेको थिएँ,’ ओलीले भने। 

उनले अहिलेको परिस्थितमा यो विषय प्रधानमन्त्री र गृहमन्त्रीको हातमा नरहेको समेत बताए।  

‘अहिले हिरो हुन खोजिराछन् कोही मान्छेहरू । म कुनै हालतमा छोड्दिनँ भन्छन्,’ उनले भने,‘उनका हातमा भएको भए हिजो यो मुद्दा चल्थ्यो? मान्छे गिरफ्तार हुन्थे?’

ओलीले यस प्रकरणमा जेठ ३० गते पक्राउ परेका व्यक्तिहरू छोडिनुको कारणबारे समेत अनुसन्धान हुनुपर्ने बताए। 

त्यतिबेला मुख्य अभियुक्त नै पक्राउ परेको र राजनीतिक दबाबमा छाडिएको विषय र अहिले घटनाको अनुसन्धानमा भइरहेको प्रगति हेर्दा पनि अब भुटानी शरणार्थीको विषय सरकारको हातमा नरहेको पुष्टि हुने उनले बताए।  

‘जेठ ३० गते पक्राउ परेका मान्छेहरू किन छोडिए। कसको आदेशमा छाडियो ?’ ओलीले प्रश्न गरे, ‘त्यतिबेला एमाले सरकारमा थियो ? केपी ओली प्रधानमन्त्री थिए?’  

बिहीबार २८ बैशाख २०८० ०८:३३ PM मा प्रकाशित

प्रतिक्रिया