काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । उनलाई बुद्ध एयरको जहाजमा शुक्रबार मध्याह्न भद्रपुरबाट काठमाडौँ ल्याइएको हो । प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार, अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ । गत चैत १५ गते राजावादी समूहले काठमाडौंका तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक प्रदर्शनमा परिणत भएको थियो । राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले प्रसाईँलाई उक्त प्रदर्शनमा जनकमाण्डर बनाएर पठाएको थियो ।
सुरक्षा स्रोतका अनुसार उनलाई शुक्रबार बिहान प्रदेश नम्बर १–०१–००२ च ३७९३ गाडीमा भारततर्फबाट नेपाली क्षेत्रमा ल्याइएको थियो । बिहान १० बजेर ७ मिनेटमा उनलाई सीमा क्षेत्रमा ल्याइएको बताइएको छ । तर, प्रहरीले भने उनलाई शुक्रबार नै भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ । यसअघि प्रसाईंको सचिवालयले उनले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको थियो ।
नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ ।
भीडलाई उत्तेजित बनाएर प्रसाईँ प्रहरीको सुुरक्षा घेरा तोडेर भाग्न सफल भएका थिए । प्रसाईँको सचिवालयले उनलाई भारतको आसाम राज्यबाट हिजो नै पक्राउ गरिएको दाबी गरेपनि प्रहरीले भने आज झापाको भद्रपुरबाट पक्राउ गरिएको बताएको छ । उक्त घटनामा क्षतिभएको ४६ करोड र दुई जना व्यक्तिको मृत्युमा प्रसाईँलाई जिम्मेवार बनाउने राज्यको तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया