काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३० हजार बढी मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत ल्याएको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस रास्वपा भन्दा करिब ३४ लाख मत पछाडि छ। आयोगका अनुसार पहिलो बनेको रास्वपा भन्दा दोस्रो बनेको नेपाली कांग्रेस ३३ लाख ८७ हजार ८८४ मतले पछाडि छ।
नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ३१८ मत पाएको छ। चौथो स्थानको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आठ लाख तीन हजार ६२७ मत पाएको छ। पहिलो पटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्दै तीन लाख ७८ हजार ५८७ मत ल्याउन सफल भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४५७ मत प्राप्त गरेको छ।
अन्य दलले भने अहिलेसम्म थ्रेस होल्ड कटाउन सकेका छैनन्। थ्रेस होल्ड कटाउन नसक्ने दल राष्ट्रिय पार्टी बन्ने छैनन्। जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७, जनमत पार्टीले ७८ हजार ९४९ प्राप्त गरेको छ। समानुपातिकतर्फको मतगणना जारी छ।
प्रत्यक्षतर्फको १६५ मध्ये १६४ स्थानको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ। दोस्रो स्थानमा पुगेको नेपाली कांग्रेसले १८ जित जित्दा एमाले ९ र नेकपा सात सिटमा खुम्चिएका छन्। श्रम संस्कृति पार्टीले तीन सिट जित्दा राप्रपा र स्वतन्त्रले एकएक सिट जितेका छन्।
प्रतिक्रिया