काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् ।
पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् । ‘तपाईंहरूले जति गर्नु भएको छ, तपाईंहरूको यो प्रयासले कांग्रेसमा यो स्थापित गरेको छ, कांग्रेस दास र लासहरूको पार्टी होइन । कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो,’ उनले भने, ‘जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन । जिउँदो कांग्रेसले बल्ल समाजको जिम्मेवारी पूरा गर्न सक्छ ।’
थापाले भने, ‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ । नेताहरू आउने-नआउने उहाँहरूको मर्जी। निर्णय गर्ने तपाईंहरूको मर्जी । तपाईंहरूले नै निर्णय गर्ने हो ।’ उनले कहिलेकाहीँ युद्ध हार्नका लागि तयार हुनुपर्छ भन्दै थपे, ‘हाम्रा सन्दर्भमा चिन्ता नलिनुस् । कहिलेकाहीँ युद्ध हार्न पनि तयार हुनुपर्छ । तयार छौँ । कहिले काहीँ ज्वालाका जाग्रित गर्नका निम्ति आफू डढ्न पनि तयार हुनुपर्छ । नेपाली कांग्रेसलाई ठीक ठाउँमा उभ्याउनका लागि ।’
कांग्रेस ठीक ठाउँमा हुँदा देशरप्रतिको जिम्मेवारी पूरा गर्न सक्ने उनको भनाइ छ । ‘यो अवसर पनि हो चुनौती पनि हो । भोलि बिहान ८ बजे हामी जम्मा हुन्छौँ । हलले जे स्थापना गर्ने भन्छ त्यही हुन्छ । कांग्रेसको विधानमा महाधिवेशनभन्दा ठूलो केही होइन,’ उनले भने, ‘महाधिवेशनले चायो भने नेता पनि छान् नेतृत्व बदल्छ पनि । विधान पनि बदल्छ । त्यो अधिकार राख्नेको भेला हो यो ।’ “सभापति पनि उपस्थित भएको हेर्न चाहन्थ्यौँ,” थापाले भने,“तर त्यो हुन सकेन । पार्टीभित्रको सत्ता र संघर्षको कारणले यहाँ कोही उपस्थित भएको र नभएको भन्ने लागेको होला । यो संघर्ष हो तर सत्ताको होइन । यो संघर्ष हो मूल्य र मान्यताको ।”
उनले राजा फालेर ल्याएको गणतन्त्रमा पनि नेपोबेबीको राज देखेर जनता रिसाउँदा भदौ २३ र २४ मा भावना व्यक्त गरेको बताए । “भदौ २३ र २४ मा भएका दोषीले सजाय पनि पाउलान्,” उनले भने, “त्यसदिन त्यतिमात्रै भएको होइन । नेपालका लाखौँ लाख नरनारीले रिस र आक्रोश व्यक्त गरेका हुन् । सरकारसँग व्यक्त गरेका हुन् । सरकारमा को थियौँ ? हामी थियौँ । संसद्मा को थियौँ ? हामी थियौँ । भ्रष्टाचार, कुशासनसँग जोडिएको आन्दोलन पनि थियो । राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर रिसाएका हुन् जनता ।”
प्रतिक्रिया