धनगढी — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारमा कुनै समस्या नभएको बताएका छन् । सुदूरपश्चिमको भ्रमणको सिलसिलामा आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री देउवाले सहकारी प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्नुको अर्थ नभएको बताएका छन् ।
'हाम्रा साथीहरूलाई पनि मुद्दा चलाइएको छ, देउवाले भने, ' तर हामीले कहिल्यै हो हल्ला गरेनौं, अदालतको कानुनी प्रक्रियामाथि विश्वास गरेका छौँ ।' सभापति देउवाले यो सरकार २०८४ सम्मै टिक्ने बताए । मुद्दा लागेको कुरा अदालती विषय भएको उनले बताए। कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कहिल्यै पनि हो–हल्ला नगरेको उनको भनाइ छ।
रवि पक्राउमा सरकारले प्रतिशोध साधेको आरोप छ, यसमा कांग्रेसको धारण के हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने, ‘हेर्नुस्, हाम्रा साथीहरूमाथि मुद्दा चलाइएकै हो, हामीले कहिल्यै होहल्ला गरेनौँ। अदालती प्रक्रियामा छ, अदालतलाई पो सहयोग गर्नु पर्यो नि।’
पूर्वप्रधानमन्त्री देउवा करिब १ साता सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गृहजिल्ला डडेलधुरालगायत कैलाली र कञ्चनपुरमा सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण तथा पार्टी कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेकोसमेत रहेको छ ।
प्रतिक्रिया