‘नाकामा अझै विकास र अभावको पीडा उस्तै छ । हामी नेपाली भूमिमा बस्छौँ । नेपाली हौँ तर नेपाली हौँ भन्ने महसुस कहिल्यै हुँदैन । जब जब चुनाव आउँछ,नाकामा नेता पनि आउँछन् । सडक,बत्ति अनि खानेपानीका धारा घरघरमा ल्याइ दिने वाचा गर्छन् । तर जब चुनाव सकिन्छ,तब न नेता आउँछन्,न विकास आउँछ । उही भारतकै भरमा बाँच्नुपर्छ ।’
यी भनाइ हुन्,भैसा नाकाका स्थानीय पूर्ण रोकाको । पुस्तौं भयो नाकावासीले विकासको सपना देख्दै भोट दिएको । दाङ निर्वाचन क्षेत्र नं। १ को गढवा र राजपुर गाउँपालिकाअन्तर्गत नेपाल–भारतसँग सीमा जोडिएका साना ठूला ३४ वटा नाका छन् । गढवा र राजपुर गाउँपालिका ५ वटा वडामा पर्ने ती नाका क्षेत्रमा करिब १० हजार नेपाली नागरिकको बसोबास छ । तर उनीहरु भारतकै भरमा बाँचिरहेका छन् । नाकामा न अझै सडक पुगेको छ,न विद्युत नै छ,न खानेपानी ।
नाकावासीहरुलाई आफ्नै स्थानीय पालिका कार्यालय आउन पनि भारतको बाटो हुँदै आउनुपर्ने वाध्यता छ । उनले भने–‘अहिलेसम्म हामीले भोट दियौँ तर आश्वासनबाहेक अरु केही पाएका छैन ।’ हातमा नेपाली नागरिकता,बसोबास नेपालमा छ । हामी नेपाली हौँ । तर हामीलाई नेपाली नागरिक भन्ने महसुस हुँदैन ।’ यसरी नाकावासी विभेद र अभावमा बाँचिरहेको उनी बताउँछन् ।
पाँच वर्षमा केवल एक पटक
नेताहरु पाँच वर्षमा केवल एक पटक चुनावमा मात्रै झुल्किने गरेको नाकावासीको गुनासो छ । ‘पाँच वर्षमा केवल एक पटक चुनावताका नेता आउँछन् । मीठा कुरा गर्छन्,हाम्रा गाउँ ठाउँको विकासको लागि राम्रा योजना यो गर्ने र त्यो गर्ने पनि भन्छन् । तर जब चुनाव सकिन्छ,नेता पनि हराउँछन्,योजना पनि । हामीले पाउने त्यही नेताहरूको यस्तो गर्छौं भन्ने आश्वासन मात्रै हो,’ पटौली नाकाका श्याम सुन्दर रोकाले भने–‘ भारतीय प्रहरीले बडो दुःख दिन्छ । उसले अन्नपात किनमेल गर्न दिए खाने हो । नत्र भोकभोकै हो ।’ गाउँमा भारतीय प्रहरीले मनलाग्दी गर्ने गरेको तर न्याय कहाँ खोज्ने जाने ठाउँ नभएको रोकाको भनाइ छ ।
नाकावासीको पीडा र समस्या बुझ्न नेताहरु नाकामा आउँदैनन् । आश्वासन बाँड्न र भोटको खेतीका लागि आउने गरेको दुखेसो नाकावासीको छ ।
‘नाकाले धेरैलाई सत्तामा पुुर्यायो । तर आफू कहिले फेरिन सकेन । मुलुकको भविष्य फेर्नमा योगदान पुुर्याउने नाका अझ उस्तै छ,’ सुुकौली नाका निवासी आशमाला सुनार भन्छिन्–‘हामी नाकावासी सीमारक्षक बनेर बसेका छौं । आफ्नो मात्रै होइन । सीमाको पनि रक्षा गरेका छौं तर बर्दी बिनाका सीमा रक्षक सिपाहीको रक्षा राज्यले गर्न सकेको छैन । यनाकावासी रोग,शोक र भोगको पीडामा बाँच्न विवश छन् ।’ उनको भनाइमा नाकाको विकास सपना र नेताको आश्वासन तिनका लागि पुस्तैनी पीडा हो ।
‘नाकामा पालैपालो उम्मेदवार’
चुनावी सरगर्मी चर्किएसँगै दाङ क्षेत्र नं। १ बाट अघि सरेका उम्मेद्वारहरु अहिले पालैपालो नाकावासीकोे घरदैलोमा पुगिरहेका छन् । नेताहरु पनि त्यहाँ पुग्न भारतकै बाटो भएर जानुुपर्छ । अघिल्लो निर्वाचनमा नाकासम्म सडक पुुर्याउने वाचा गरी फर्किएका उम्मेदवार फेरि त्यही सडक,खानेपानी,विद्युत र विद्यालय कुरा लिएर गाउँ आएको सुनार बताउँछिन् ।
उम्मेदवार रहेका बहालवाला मन्त्री नै यसपाली नाकामा पुग्दा गाउँलेहरूमा केही आशा जागेको छ । आशमाला सुनार भन्छिन्, ‘स्वयम् मन्त्री अहिले नाकामा धेरै दिन बसेका छन् । काम गर्ने गरी योजना बनाएका छन् भन्ने पनि देखिन्छ । अरु त उस्तै हुन् । अहिले गठबन्धनका मन्त्री मेटमणि चौधरी,इन्द्रजित् चौधरीले केही गर्छन् कि भन्ने लागेको छ ।’
प्रतिक्रिया