गाजापट्टीमा रहेका ३२ जना नेपाली विद्यार्थीको उद्धार

    images


    काठमाडौं । इजरायल र गाजापट्टीको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीको उद्धार गरिएको छ। इजरायल र हसासका लडाकूबीच भिडन्त भइरहेको गाजापट्टीको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीको सोमबार उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    “हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली सङ्घसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ,” परराष्ट्र मन्त्रालयले जनाएको छ। सीमा क्षेत्रमा रहेका ३२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको हो। उनीहरुलाई सुरक्षित स्थानमा राखिएको जनाएको छ।

    हमासले गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ। उनीहरुको शव नेपालले पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकार्य भइरहेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ। त्यस्तै, आक्रमणमा परी चार जना नेपाली विद्यार्थी घाइते भएका थिए। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएको छ।

    उनीहरुसँग रहेका दुई जना नेपाली विद्यार्थी भने सकुसल छन्। उनीहरुलाई तेल अबिबमा सुरक्षित राखिएको दूतावासले जनाएको छ। त्यो समूहका रहेका एक जना सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको छ। प्रहरी र अस्पताल लगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको दूतावासले जनाएको छ।

    यससँगै नेपाल फर्कन इच्छुकको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सकंलनका लागि अनलाइन रजिष्ट्रेसन शुरु भई दुई सयभन्दा बढीको विवरण प्राप्त भइसकेको छ। राजदूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवं सतर्क भई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ।

    मङ्गलबार २३ असोज २०८० ११:०३ AM मा प्रकाशित

    प्रतिक्रिया