×

स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुहोस् : प्रधानसेनापति

images


काठमाडौँ, २४ भदौ : प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाइ स्थिर माहोललाई खल्बल्याउने कुनै पनि स्वार्थ प्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्नसक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन निर्देशन दिनुभएको छ ।
 प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाल र नेपाली जनताको बृहत्तर हितमा समर्पित रहन सुझाव दिनुभयो ।

    प्रधानसेनापति शर्माले भन्नुभयो, “नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।”

    सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासका लागि सकल दर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उहाँले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताउनुभयो ।

    प्रधानसेनापति शर्माले भन्नुभयो, “लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीले सदैव चलिरहन्छ ।”

    सम्बोधनका क्रममा प्रधानसेनापतिले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापतिले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेका वीर स्मारकमा माल्यार्पण गर्नुभयो । उहाँले कर्तव्यपालनाको सिलसिलामा घाइते हुनुभएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारका क्रममा रहनुहुने सबैलाई शीघ्र स्वास्थ्यलाभको कामनाका साथै सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन सदैव प्रेरणा मिलोस् भनी कामना गर्नुभयो ।
    
    प्रधानसेनापतिले आजै जङ्गीअड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथीमा पदोन्नति हुनुभएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति हुनुभएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दज्यानी चिन्ह प्रदान गर्नुभयो । 

    सो अवसरमा उहाँले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन कल्याणकारी दर्पण, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन केटिएफटी जर्नलका तेस्रो भाग र सेनाको वर्षभरिका प्रमुख गतिविधिको तस्वीर समेटिएको  पुस्तकको पनि विमोचन गर्नुभयो ।
---

आइतबार​ २४ भदौ २०८० ०२:५९ PM मा प्रकाशित

प्रतिक्रिया