×

पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

images

गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

उत्तरगया गाउँपालिका–५ स्थित माझगाउँ र बनुवा धुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग  भत्किएर सुरु भएको पहिराले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमासमेत क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मानवीयतर्फ कुनै क्षति नभएको जनाइएको छ ।
 
प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार सडक खुलाउने प्रयासको साथै क्षतिको विवरण लिने काम बिहानैदेखि सुरु भएको छ । पहिरोका कारण बेत्रावती, पहिरेबेँसी, मैलुङ खण्डको नयाँ सडकमा समेत सवारी आवागमन पूर्ण रूपमा बन्द भएको बताइएको छ ।


जनैपूणिर्मा पर्वको अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्न जाने यात्रुलाई धुञ्चे पु¥याउन स्थानीयस्तरमा रहेका सवारीसाधन परिचालन गरिने प्रहरीले जनाएको छ । उत्तरी भेगमा रहेका पासाङल्हामु तथा टिमुरे यातायात समितिको बसले गोसाइँकुण्ड जाने यात्रुलाई  यातायातको सुविधा दिने तर निजी सवारीसाधन भने प्रभावित हुने  बताइएको छ ।

बनुवा धुम्ती सडकदेखि त्रिशूली नदीसम्म पुगेको पहिरोको दूरी करिब दुई किलोमिटर  भएको र जमिन तथा अन्नबाली ठूलो मात्रामा नोक्सान भएको लहरेपौवा निवासी डा सरोज श्रेष्ठले जानकारी दिनुभयो । 

पहिरोका कारण  नौबिसे क्षेत्रमा भूकम्पपछि बनाइएका निजी आवाससमेत प्रभावित भएको डा श्रेष्ठले बताउनुभयो । सडकको नालीमा बग्ने पानी व्यवस्थित हुन नसक्दा पहिराको समस्या उत्पन्न भएको बुझिएको र  क्षतिको यथार्थ विवरण आउन बाँकी छ । 

बुधबार २५ साउन २०७९ ११:५५ AM मा प्रकाशित

प्रतिक्रिया